अमेरिका, बेलायत बंगलादेश, चीन, भारत, पाकिस्तानलगायत मुलुकमा यो औषधिको क्लिनिकल ट्रायल भइरहेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए । ‘ट्रायलमै रहेकाले यसलाई अहिले कोरोनाकै औषधि भनेर त भन्न मिल्दैन तर संक्रमण उपचारमा प्रयोग भइरहेका धेरै औषधिमध्ये रेमडेसिभिर बढी प्रभावकारी भएकाले प्रयोग गर्न लागिएको हो,’ उनले भने, ‘औषधि आयातकर्तालाई हामीले सूचना जारी गरेर खबर गरिसक्यौं । विभिन्न कम्पनीका औषधि लिएर उहाँहरू आउनु पनि भएको छ । मूल्यांकन गरेर औषधि भित्र्याउने अनुमति दिन्छौँ ।’उनका अनुसार यो औषधि एक थानको ६ हजारदेखि २१ हजार रुपैयाँसम्म पर्न सक्छ । नेपाल औषधि ऐन २०३५ अनुसार क्लिनिकल ट्रायलका रूपमा प्रयोग भइरहेका औषधि दर्ता गरेर आयात गर्न नमिल्ने हुँदा अहिले आपत्कालीन प्रयोगका लागि चलाउन मिल्ने गरी मात्रै ल्याइने उनले बताए । नेपाल मेडिकल काउन्सिलले जारी गरेको निर्देशिका (इन्टरिम क्लिनिकल गाइडेन्स फर कोभिड–१९) मा पनि कोरोना संक्रमितलाई रेमडेसिभिर चलाउन मिल्ने उल्लेख छ ।
विश्वमै रेमडेसिभिरलाई अहिलेसम्म कोरोना संक्रमितमाथि चलाउन सकिने भनेर बढी मान्यता पाएको र प्रभावकारीे औषधि (एन्टिभाइरल) मानिएको संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन् । ‘यो औषधि प्रयोग गर्दा सामान्यतया १५ दिन अस्पताल बस्नुपर्ने कोरोना संक्रमित १० दिनमै निको भएर घर फर्केको धेरै ट्रायल अध्ययनले देखाएको छ,’ उनले भने, ‘संक्रमितलाई यो औषधि दिँदा शरीरमा थप भाइरस उत्पादन हुनबाट रोक्छ । शतप्रतिशत संक्रमण निको पारेर मृत्यु नै रोक्छ भन्नेचाहिँ प्रमाणित हुन बाँकी छ ।’अहिले विश्वमै कोरोनाको औषधि पत्ता नलागेकाले आपत्कालीन प्रयोगका लागि भए पनि नेपालमा यो औषधि आयात गरी सर्वसुलभ गराउनुपर्ने उनले बताए । ‘लामो समयदेखि यो औषधि अध्ययनका लागि भए पनि नेपाल ल्याउनुपर्छ भनेर हामीले भन्दै आइरहेका छौं,’ उनले भने, ‘भारतलगायत अन्य मुलुकले औषधि चलाइसके, हाम्रो देशमा पनि चाँडोभन्दा चाँडो उपलब्ध गराउनुपर्छ ।’ अरू एन्टिभाइरलभन्दा बढी प्रभावकारी भएकाले अध्ययन प्रयोगका लागि भए पनि रेमडेसिभिर नेपालमा पनि चाँडै आयात गर्न आवश्यक रहेको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले बताए । ‘औषधि आयात गर्ने ऐन पुरानो हुँदा यसले आकस्मिक प्रयोगका औषधि आयात गर्न बाधा पुर्याएको छ, महामारीका बेलामा पनि ऐन बाधक बन्नु दुःखदायी कुरा हो,’ उनले भने, ‘ऐन छैन भनेर चुप लागेर बस्ने अवस्था छैन, कोसिस गर्ने हो भने नेपालमै यो औषधि उत्पादन गर्न सकिन्छ ।’ रेमडेसिभिर प्रयोग गर्नुअघि दुई महिनापहिले विश्व स्वास्थ्य संगठनको अनुरोधमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यो औषधिको क्लिनिकल ट्रायल अध्ययन गर्न खोजेको थियो । योजनाअनुसार अध्ययन निर्देशिका पनि तयार भएको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए । ‘पहिले परिषद्को निर्देशिकाअनुसार अध्ययन गर्ने भनिएको थियो, पछि संगठनकै निर्देशिकाअनुसार गर्ने भनियो,’ उनले भने, ‘अध्ययन प्रयोजनका लागि औषधि दिने हो भने हामी ट्रायल गर्न तयार छौं, जनशक्ति पनि तयार छन् ।’ औषधि पाउनेबित्तिकै स्वास्थ्य मन्त्रालयसँग स्वीकृति लिएर नेपालका सरकारी तहका कोभिड अस्पतालमा भर्ना भएका बिरामीमाथि क्लिनिकल ट्रायल गरिने उनले बताए । कान्तिपुरदैनिकबाट
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
औषधि
राष्ट्रिय औषधि व्यवसाय संरक्षण समितिको सरकारलाई आग्रहः 'सहमति समयमै कार्यान्वयन होस्'
मंगलबार, मंसिर १६, २०८२
औषधि व्यवसायी र सरकारबीच लिखित सहमति, आन्दोलन फिर्ता (सहमति पत्रसहित)
सोमबार, मंसिर १५, २०८२
औषधि ऐन संशोधनको माग चुलियो—फार्मेसी बन्द, विभागमा तालाबन्दी
आइतबार, मंसिर १४, २०८२
औषधि व्यवसायीको माग सुनुवाई भएन, आन्दोलन यथावत, आज पनि विरोध कार्यक्रम
शुक्रबार, मंसिर १२, २०८२ट्रेन्डिङ

