जनस्वास्थ्य सरोकार, कर्णाली। कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिनअघिको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा बसेको उक्त बैठकले स्वदेश तथा विदेशबाट आउने नेपाली नागरिकलाई बेग्लाबेग्लै क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । छिमेकी भारतबाट फर्किएका नागरिकलाई सीमानाकाका क्वारेन्टिनमा राख्ने तथा क्षमताभन्दा बढी भए मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भवनलाई प्रयोग गर्नका लागि वैकल्पिक व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।
त्यस्तै कर्मचारी र जनप्रतिनिधि सुर्खेतबाट अत्यावश्यक सरकारी कामले जाँदा र भित्रिँदा पिसिआर परीक्षण गराएर मात्र आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिइएको छ । बैठकले मास्क अनिवार्य प्रयोग गर्न/गराउन, समुदायस्तरमा मास्कको व्यवस्था मिलाउन, एक स्थानीय तह एक क्वारेन्टिन वा स्थायी प्रकृतिको आइसोलेशन निर्माण गर्न सामाजिक विकास मन्त्रालयलाई सहजीकरणको जिम्मेवारी दिएको छ । कर्णाली प्रदेशमा प्रवेश गर्ने सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट, सुर्खेतको बबई र कुइने नाकामा जाँच कडाइ गर्ने तथा सुर्खेतका पर्यटकीय क्षेत्र गोठीकाँडा र काँक्रेविहारमा चहलपहल बढिरहेकाले त्यहाँ घुमफिरमा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।
तीन जिल्लामा सघन उपचार कक्ष थप
प्रदेश विपद् व्यवस्थापन केन्द्रले दैलेख, सल्यान र कालीकोटका जिल्ला अस्पतालमा सघन उपचार कक्ष थप्ने निर्णय गरेको छ । सामाजिक विकासमन्त्री दल रावलका अनुसार तीनै जिल्लामा पाँचपाँच सघन उपचार कक्ष र एकएक भेन्टिलेटर थप गरिनेछ । हाल कर्णालीका सुर्खेत, जुम्ला र दैलेख अस्पतालमा गरी ४० सघन उपचार कक्ष र १७ भेन्टिलेटर छन् ।
कर्णालीमा हालसम्म दुई हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भए पनि ‘एक्टिभ केस’ १४५ छ । छ जनाको मृत्यु भइसकेको छ भने एक हजार ९०१ जना निको भई विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरबाट डिस्चार्ज भइसकेका छन् । रासस
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३
गर्मीयाममा स्वस्थ रहन अपनाउनुपर्ने ७ प्रभावकारी उपाय
मंगलबार, असार ३०, २०८३
कर्णालीमा निःशुल्क मृर्गौला प्रत्यारोपण
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ
