नेपाल हेल्थ न्युज, काठमाडौँ । विज्ञ चिकित्सकहरूले लक्षण देखिएका तर दीर्घरोगी नरहेका पचास प्रतिशत कोरोना सङ्क्रमितमा रेम्डिसिभिर औषधिको प्रयोग उपयोगी हुने दाबी गरेका छन् । उनीहरूले उपयुक्त समयमा उपयुक्त बिरामीमा रेम्डिसिभिर औषधिको प्रयोग गर्न सेवा प्रदायकलाई सुझावसमेत दिएका छन् ।
येटिचेम वितरक प्रा. लि.ले रेम्डिसिभिर औषधिको पहिलो ब्याचको घोषणाका लागि आयोजना गरेको भर्चुअल प्रेस कन्फरेन्समा चिकित्सक अशेष ढुङ्गानाले लक्षण देखिएका तर दीर्घरोगी नरहेका बिरामीमा रेम्डिसिभिरको प्रयोग अत्यन्तै लाभदायी हुने बताउनुभयो । नेपालमा हाल १५ प्रतिशत बिरामीमा कोरोनाभाइरसको लक्षण देखा परेको छ । सक्रिय बिरामीको सङ्ख्या करिब १८ हजार छन् । करिब दुई हजार बिरामीमा रेम्डिसिभिरको प्रयोग उपयोगी हुनसक्छ ।उहाँले भन्नुभयो, “तीव्र गतिमा वृद्धि भइरहेको अवस्थामा रेम्डिसिभिरको प्रयोगले सङ्क्रमितको शरीरमा भाइरस वृद्धि हुनबाट रोक्छ ।” निमोनियासहित उच्च भाइरल लोडका कारण कतिपय बिरामीले ज्यान गुमाएका छन् । त्यस्ता बिरामीमा रेम्डिसिभिरको प्रयोग गर्नु लाभदायक हुने उहाँले बताउनुभयो । ढुङ्गानाले रेम्डिसिभिरको प्रयोगले बिरामीमा अन्य असर गर्न सक्नेतर्फ सचेत गराउनुभयो । उहाँका अनुसार बिरामीको कलेजोमा असर गर्नुका साथै लिभरमा इन्जाइम बढाउने र बान्ता आउन सक्ने हुँदा औषधि प्रयोगपछि बिरामीलाई उच्च निगरानीमा राख्न सुझाव दिनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले दीर्घरोगीमा रेम्डिसिभिरको प्रयोगबाट बच्न सुझाउनुभयो । उहाँले परिषद्ले हाल एक सय बिरामीमा रेम्डिसिभिरको प्रभावकारिता सम्बन्धमा अध्ययन गरिरहेको खुलाउनुभयो । उहाँले पहिलो पटक सन् २००९ मा इबोला प्रकोपको समयमा रेम्डिसिभिरको प्रयोग अफ्रिकी राष्ट्रहरूमा गरिएको जानकारी दिनुभयो । नेपालमा पहिलो पटक कोभिड–१९ का बिरामीमा रेम्डिसिभिरको प्रयोग गरिँदैछ ।
औषधि व्यवस्था विभागका सन्तोष केसीले मन्त्रालयले हाल रेम्डिसिभिरको छ हजार डोज आपूर्तिको व्यवस्था मिलाएको जानकारी दिनुभयो । जसका लागि तीनवटा आपूर्तिकर्ता तोकिएको छ । प्रत्येक आपूर्तिकर्तालाई तत्काल दुई/दुई हजार गरी छ हजार डोज आयात गर्न अनुमति दिइएको छ ।भारतमा माइलान, सिप्ला र हेटेरो ड्रग्सले नेपाली वितरकसँग समन्वय गरी रेम्डिसिभिर नेपाल ल्याउने जिम्मेवारी दिइएको छ । येटिकेमले सिप्लासँगको समन्वयमा नेपालमा पहिलो चरणमा ४८० डोज रेम्डिसिभिर भित्र्याएको छ । नेपालमा आकस्मिक प्रमाणीकरणको व्यवस्था नहुँदा रेम्डिसिभिर आपूर्ति गर्न ढिलाइ भएको थियो । विभागका प्रवक्ता केसीले सङ्क्रमणको प्रकोप बढिरहेकोले सही समयमै अनुसन्धान परिषद्सँगको समन्वयमा औषधि निर्यातको बाटो खुला भएको जानकारी दिनुभयो । ऐटिकेमका प्रभु वैद्यले भारतबाट औषधि निर्यात गर्ने सिप्लासँग रेम्डिसिभिरको पाँच हजार अतिरिक्त डोज सुरक्षित गरेको जानकारी दिनुभयो । ऐटिकेमका अध्यक्ष प्रभु वैद्यले नेपालमा रेम्डिसिभिरको खुद्रा मूल्य छ हजार चार सय रुपियाँ निर्धारण गरेको जानकारी दिनुभयो । ऐटिकेमले ४८० डोज सेप्टेम्बर १० मा र एक हजार ४० डोज सेप्टेम्बर २५ मा नेपाल भित्रिने जनाएको छ । अमेरिकी औषधि तथा खाद्य प्रशासनले अमेरिकामा कोरोना सङ्क्रमितमा रेम्डिसिभिरको प्रयोगको अनुमति दिएको छ । अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धानले समेत अक्सिजनको कमी हुन जाने सङ्क्रमितमा रेम्डिसिभिरको प्रयोग उपयोगी हुने क्लिनिकल ट्रायलबाट प्रमाणित भएको जनाएको छ ।गोरखापत्रदैनिकबाट
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
पत्रपत्रिकाबाट
‘नेपाल फर्मा एक्स्पो २०२६’ मा १२ हजारभन्दा बढीको अवलोकन
आइतबार, चैत १, २०८२
फार्मामा नवीनता र प्रविधिको संगम : भृकुटीमण्डपमा सुरु भयो ‘नेपाल फर्मा एक्स्पो २०२६’
बिहीबार, फागुन २८, २०८२
अत्यावश्यक औषधिमा आत्मनिर्भरता: नीति सुधार र स्वदेशी उद्योगलाई प्रोत्साहनको माग
मंगलबार, फागुन २६, २०८२
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्न सक्छ: सन्तोष बराल
मंगलबार, फागुन २६, २०८२
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छः प्रज्वलजंग पाण्डे
सोमबार, फागुन २५, २०८२ट्रेन्डिङ
