नेपाल हेल्थ न्युज, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिपी जयन्तीको अवसर पारेर अस्पतालमा रहेको पिसीआर प्रयोगशाला आज विधिवतरूपमा उद्घाटन गरेको छ । बिपीकै नामबाट स्थापना भएको सो अस्पतालले उहाँको १०७ औँ जन्मजयन्तीको अवसर पारेर प्रयोगशाला उद्घाटन गरेको हो ।
सोही प्रयोगशालामा पहिलो कोरोना सङ्क्रमण देखिएकी अस्पतालकै नर्स पूजा श्रेष्ठ र आजबाटै अस्पतालमा आएको चिनियाँ मेडिकल टिम लिडर डा झाङ वीले प्रयोगशालाको उद्घाटन गर्नुभयो । सो अवसरमा अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने, कार्यकारी निर्देशक डा देजकुमार गौतम, सञ्चालक समिति सदस्य डा विनय ठाकुरलगायत विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
अस्पतालले प्रयोगशाला गत आइतबारबाट सञ्चालनमा ल्याएको हो । हालसम्म ३९२ जनाको कोरोना परीक्षण गरिएको गौतमले जानकारी दिनुभयो । अस्पतालले पिसीआर परीक्षण शुल्क रु तीन हजार ५०० तय गरेको छ । एक दिनमा ४०० सम्म नमूनाको परीक्षण गर्न सकिने उहाँकोे भनाइ छ । सो अस्पतालमा देशभर र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । पिसीआर परीक्षण गरेर मात्र अस्पतालले उपचार थाल्ने गरेको छ । प्रयोगशाला सञ्चालनमा आएसँगै उपचारमा सहज भएको गौतमको भनाइ छ ।
समयमा पिसीआर परीक्षणको नतिजा नआउँदा सङ्क्रमित हुने चिकित्सक, स्वास्थ्यकर्मी र बिरामी बढ्दै गएपछि अस्पतालले आफ्नै प्रयोगशालालाई व्यवस्थित गरेर सञ्चालनमा ल्याएको हो । सोबाहेक जिल्लामा सरकारीतर्फ भरतपुर अस्पतालले र निजीतर्फ चितवन मेडिकल कलेजले प्रयोगशाला सञ्चालन गर्दै आएका छन् । सरकारी प्रयोगशालामा नमूनाको चाप उच्च भएकाले नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ ।
चिनियाँ चिकित्सक टोलीलाई स्वागत
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १३औँ चिनियाँ चिकित्सक टोलीलाई आज स्वागत गरेको छ । सो अस्पतालमा चीन सरकारले नियमितरूपमा १५ विशेषज्ञ चिकित्सकसहित १७ जनाको टोली पठाउँदै आएको छ । विगत तीन वर्षयता हरेक वर्ष नयाँ टोली आउने र पुरानो टोली जाने गरेको छ । वीको नेतृत्वको टोलीलाई अस्पतालले स्वागत गरेको हो ।
यसअघिको डा लुलीको नेतृत्वमा रहेको टोलीलाई आजै बिदाइ गरिएको छ । डा वी मूत्ररोग विशेषज्ञ हुनुहुन्छ । उहाँसँगै नाक, कान, घाँटी, रक्त क्यान्सर, स्तन क्यान्सर, पेट रोग विशेषज्ञ, प्याथोलोजी, अकुपञ्चर, रेडियो थेरापी, एनेस्थेसिया, थोरापित र दन्त चिकित्साका १५ विशेषज्ञ रहेका छन् । एक दोभासे र एक भान्से रहेको गौतमले जानकारी दिनुभयो । उहाँहरुलाई अस्पतालका अध्यक्ष लामिछाने, कार्यकारी निर्देशक गौतम, सञ्चालक समिति सदस्य ठाकुरसहित विभागीय प्रमुखहरुले स्वागत गर्नुभएको थियो । सन् १९९८ देखि सञ्चालनमा आएको सो अस्पताल चीन सरकारले निर्माण गरिदिएको हो । अस्पताल सञ्चालन भएदेखि नै चिनियाँ चिकित्सक टोलीले अस्पतालमा सेवा दिँदै आएको छ । उनीहरुको आवासीयबाहेकको सबै खर्च चीन सरकारले नै व्यहोर्दै आएको छ ।रासस
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२ट्रेन्डिङ
