जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरि जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाउने गरिन्छ ।
धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरुमा समेत विविध कार्यक्रम गरी मनाउने गरिए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण बृहत्रूपमा औपचारिक कार्यक्रम राखिएको छैन । वैद्यखाना विकास समितिमा पूजा आराधना गरी आन्तरिकरूपमा कार्यक्रम गरिँदैछ ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । विसं १९८५ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो । आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३
सपनाले पत्ता लगायो क्यान्सर
सोमबार, वैशाख ७, २०८३ट्रेन्डिङ



