जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकामा कोरोनाभाइरसको दोस्रो खोप आकस्मिक अनुमति पाउने चरणमा पुगेको छ। विज्ञहरूको एउटा समूहले अनुमोदन गरेपछि मोडेर्ना खोप अनुमतिको नजिक पुगेको हो।
अमेरिकाको खाद्य तथा औषधीसम्बन्धी प्रशासनिक निकाय (एफडीए) का प्रमुखले उक्त खोपलाई अनुमति दिन आफ्नो संस्था तीव्र रूपमा काम गर्ने बताए, जसले गर्दा खोप उत्पादक कम्पनीले खोपको दशौँ लाख डोज सम्बन्धित स्थानमा पुर्याउन सकून्।
अमेरिकाले फाइजर/बायोएनटेक खोप दिन थालेको केही दिनपछि पछिल्लो जानकारी आएको छ।
अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या विश्वका अन्य देशहरूभन्दा धेरै छ। त्यहाँ यो साताको सुरुमा मृतकको सङ्ख्या तीन लाख नाघेको हो।
सुरक्षित र ९४ प्रतिशत प्रभावकारी
सल्लाहकार समूहमा बिहीवार एकजनाले भाग नलिएको मतदानमा मोडेर्ना खोपको लाभले १८ वर्ष र त्योभन्दा बढी उमेरका मानिसमा जोखिम कम गर्ने पक्षमा शून्यका विरुद्ध २० भोट परेको थियो।
त्यही समितिले गत साता फाइजर/बायोएनटेकको खोपलाई समर्थन गरेको थियो जसले गर्दा भोलिपल्टैदेखि प्रयोगको निम्ति उक्त खोपले आकस्मिक अनुमति पाउने बाटो खुला भएको थियो।
समितिको अनुमोदनपश्चात् एफडीएका आयुक्त स्टेफन हानले 'आकस्मिक प्रयोगको अनुमतिलाई अन्तिम रूप दिन र जारी गर्न तीव्र रूपमा काम गर्ने' जानकारी मोडेर्नालाई दिइसकेको जानकारी दिए।
नियामक निकायले गत यो साताको सुरुमा मोडेर्ना खोप सुरक्षित र ९४ प्रतिशत प्रभावाकारी देखिएको जनाएको थियो।
अमेरिकाले खोपको २० करोड डोज किन्ने सम्झौता गरेको छ र एफडीएको अनुमोदन लगत्तै विभिन्न ठाउँमा ६० लाख डोज पुर्याउन तयार गरिने बताइएको छ।
यो फाइजर खोपभन्दा कसरी फरक छ?
मोडेर्ना खोपलाई एकठाउँबाट अर्को ठाउँमा लग्दा माइनस २० डीग्रीको चिसो ठाउँमा भण्डारण गर्नुपर्छ जुन साधारण फ्रिजरको तापक्रम हो।
फाइजर खोप चाहिँ माइनस ७५ डीग्रीमा राख्नुपर्ने हुन्छ जसले गर्दा यसलाई एक ठाउँबाट अर्को ठाउँमा लग्ने काममा थप व्यवस्था गर्नुपर्ने भएकाले तुलनात्मक रूपमा थप कठिन बन्न पुग्छ।
फाइजर खोप जस्तै मोडेर्ना खोपमा पनि बूस्टर डोज अर्थात् खोप दुई पटक लगाउनुपर्ने हुन्छ। पहिलो खोप लगाएको २८ दिनमा दोस्रो खोप लगाउनुपर्ने बताइएको छ।
केम्ब्रिज, म्यासाचुसेट्समा रहेको कम्पनीले भनेको छ- यदि उसले अनुमति पायो भने 'ठूलो मात्रा'मा खोप त्यहीँ उत्पादन हुन सक्छ।
फाइजरको औषधी जर्मनी र बेल्जियम लगायत थुप्रै मुलुकमा उत्पादन भइरहेको छ।
कुन-कुनदेशले मोडेर्ना खोप मगाएका छन्?
क्यानडा सरकारले खोपको कुल ५ करोड ६० लाख डोजमध्ये मार्च महिनासम्ममा दुई करोड खोप पाउने योजना बनाएको छ।
यूकेले यस अघि नै ७० लाख डोज मोडेर्ना खोप माग गरिसकेको छ।
यूरोपेली सङ्घले गत महिना ८ करोड डोज खोप किन्ने करार सम्झौता घोषणा गरिसकेको छ भने खोप सुरक्षित र प्रभावकारी देखिएमा थप ८ करोड डोज किन्ने पनि बताएको छ।
जापानले ५ करोड मोडेर्ना खोप मगाएको छ।
त्यसैगरी दक्षिण कोरियाले २ करोड मात्रा र स्वीट्जरल्यान्डले ७५ लाख खोप मागेको ड्यूक विश्वविद्यालय ग्लोबल हेल्थ इनोभेशन सेन्टरको तथ्याङ्क छ।
अमेरिकी औषधी कम्पनी फाइजर र उसको जर्मन साझेदार बायोएनटेकले विकास गरेको उक्त खोपले आकस्मिक अनुमति पाए लगत्तै अमेरिकामा यो साताको सुरुमा कोभिड-१९ को खोप दिन सुरु गरिएको छ।
त्यहाँ एप्रिल महिनासम्ममा १० करोड मानिसलाई खोप दिने लक्ष्य लिइएको छ।
न्यूयोर्कमा कार्यरत नर्स सान्ड्रा लिन्ड्से सोमवारदेखि दिन थालिएको खोप लगाउने पहिलो हुन्। उनलाई खोप दिँदाको दृष्य न्यूयोर्कका गभर्नर एन्ड्र्यु कोमोको ट्वीटरमार्फत् प्रसारण गरिएको थियो। बीबीसी
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया
आइतबार, असार २८, २०८३
उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
आइतबार, असार २८, २०८३
कङ्गोमा इबोला प्रकोप: मृत्यु हुनेको संख्या ६४८ पुग्यो, १,८३० संक्रमित
आइतबार, असार २८, २०८३
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
आइतबार, असार २८, २०८३
