नेभिगेशन

नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमै विकसित तथा उत्पादित कार–टी सेल थेरापीबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार गरिएको छ। सेन्टर फर रिजेनेरेटिभ मेडिसिन (सीआरएम) नेपालले विकास गरेको यो उपचार विधि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा प्रयोग गरिएको हो।

अस्पतालमा ‘एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया’ अर्थात् एक प्रकारको रक्त क्यान्सरबाट पीडित धादिङकी बिरामीलाई असोज ११ गते कार–टी सेल चढाइएको हो। उपचारमा संलग्न हेमाटो–अन्कोलोजिस्ट डा. अञ्जन श्रेष्ठका अनुसार बिरामी अहिले अस्पतालमा स्वास्थ्यलाभ गरिरहेकी छन्। उनको स्वास्थ्य अवस्था तथा उपचारको प्रभावकारिताबारे चिकित्सकको टोलीले निरन्तर निगरानी गरिरहेको छ।

सीआरएम नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पहिलो बिरामीमा गरिएको उपचारको प्रारम्भिक नतिजा उत्साहजनक रहेको जनाएको छ। नेपालमा कार–टी सेल विकासमा संलग्न प्रमुख वैज्ञानिक डा. सञ्जीवन गौतमका अनुसार बिरामीको रगतमा कार–टी सेलको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि भएको छ। उपचारको प्रारम्भिक प्रतिक्रिया सकारात्मक देखिए पनि यसको प्रभावकारिता पुष्टि गर्न थप निगरानी र मूल्याङ्कन आवश्यक रहेको उनले बताए।

के हो कार–टी सेल थेरापी ?
कार–टी सेल थेरापी क्यान्सर उपचारको आधुनिक विधि हो। यसमा बिरामीकै शरीरबाट टी–सेल नामक प्रतिरक्षा कोष निकालेर प्रयोगशालामा आनुवंशिक रूपमा परिमार्जन गरिन्छ। परिमार्जित कोषको सतहमा ‘काइमेरिक एन्टिजेन रिसेप्टर’ नामक विशेष प्रोटिन विकास गराइन्छ, जसले क्यान्सर कोषलाई पहिचान गरी आक्रमण गर्न मद्दत गर्छ।

प्रयोगशालामा यी परिमार्जित कोषको सङ्ख्या वृद्धि गरेपछि बिरामीको शरीरमा पुनः चढाइन्छ। यसरी परिमार्जित टी–सेलले क्यान्सर कोषलाई लक्षित गरी नष्ट गर्न सहयोग गर्छ।

विशेषगरी अन्य उपचारबाट अपेक्षित सफलता नपाएका केही प्रकारका रक्त क्यान्सरका बिरामीमा यो उपचार विधि प्रयोग गरिन्छ। सीआरएम नेपालले उत्पादन गरेको कार–टी सेलले सीडी–१९ नामक प्रोटिनलाई लक्षित गर्छ, जुन केही प्रकारका रक्त क्यान्सरका कोषमा पाइन्छ।

नेपालमा उपचारको लागत घट्ने अपेक्षा
नेपालमै कार–टी सेल उत्पादन र उपचार सुरु हुनु क्यान्सर उपचारको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको डा। श्रेष्ठले बताए। अमेरिका र बेलायतजस्ता देशमा यो उपचार विधि प्रयोगमा आएको करिब एक दशक भइसकेको उल्लेख गर्दै उनले नेपालमा पनि यस्तो उन्नत प्रविधि भित्रिनु उपलब्धिमूलक भएको बताए।

सीआरएम नेपालका अनुसार कार–टी सेल विकासको काम सन् २०२२ देखि सुरु भएको थियो। सन् २०२२ देखि २०२४ सम्म प्रिक्लिनिकल अनुसन्धान गरिएको थियो भने सन् २०२५ मा प्रयोगशालाले स्वीकृति पाएपछि आवश्यक जनशक्तिलाई तालिम दिने र उत्पादनको तयारी गर्ने काम अघि बढाइएको थियो।

सन् २०२६ मा सीआरएम नेपालको सीडी–१९ लक्षित कार–टी सेलले नेपालमा क्लिनिकल प्रयोगका लागि स्वीकृति पाएको संस्थाले जनाएको छ।

ड. सुधांशु केसीका अनुसार विदेशमा गएर महँगो उपचार गराउन नसक्ने बिरामीलाई पनि भविष्यमा यस्तो उन्नत उपचार नेपालमै उपलब्ध गराउनु संस्थाको दीर्घकालीन लक्ष्य हो। विकसित मुलुकको तुलनामा नेपालमा कार–टी सेल थेरापीको उपचार खर्च ९० प्रतिशतसम्म कम हुन सक्ने उनको भनाइ छ।

नेपालमै यो प्रविधिको विकास र उत्पादन सुरु भएसँगै भविष्यमा रक्त क्यान्सरका बिरामीलाई थप उपचार विकल्प उपलब्ध हुने र उपचार खर्चसमेत घट्ने अपेक्षा गरिएको छ। यद्यपि, पहिलो बिरामीमा देखिएको प्रारम्भिक प्रतिक्रियाले मात्र उपचारको दीर्घकालीन सफलता सुनिश्चित गर्दैन। यसको प्रभावकारिता र सुरक्षाबारे थप चिकित्सकीय निगरानी तथा अनुसन्धान आवश्यक हुनेछ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट