
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको धुम्बराहीस्थित ह्याम्स हस्पिटलमा आजदेखि तीन महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम सुरु भएको छ । १० औं ब्याच अन्तर्गतको यस ट्रेनिङ कार्यक्रममा अस्पतालमा कार्यरत तथा नर्सिङ पास गरेर बसेका अन्य नर्सिङ स्टाफहरु सहभागी भएका छन् ।
ह्याम्स हस्पिटलले दुई साताअघि दरखास्त आव्हान गरेपछि आवेदन दिएकामध्ये लिखित परीक्षा तथा अन्तर्वार्तापछि छानिएका ३१ जना नर्सहरु यस तालिम कार्यक्रममा सहभागी भएका छन् ।
ह्याम्स हस्पिटलले क्रिटिकल केयर नर्सिङ एसोसिएसन अफ नेपाल (सिसिनान) सँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ सम्बन्धि विशेष पाठ्यक्रम तयार गरी सञ्चालन गरेको ट्रेनिङ प्रोग्राममा ह्याम्समा कार्यरत नर्सिङ स्टाफहरुसहित क्रिटिकल केयर नर्सिङमा रुचि भएका देशभरका अन्य अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरुको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले देशको क्रिटिकल केयर नर्सिङलाई अझ व्यवस्थित बनाउने अपेक्षा गरिएको बताउनुभयो ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले तालिमको उद्घाटन गर्दै यस किसिमको सहकार्यबाट अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरुलाई उत्प्रेरणा मिल्नुका साथै देशको क्रिटिकल केयर उपचार क्षेत्रमा दक्ष जनशक्तिको अभाव पूरा गर्न महत्वपूर्ण योगदान पुग्ने जानकारी गराउनुभयो ।

आईसियू विज्ञ प्रा.डा. अर्जुनबहादुर कार्कीले क्रिटिकल केयर नर्सिङलाई गुणस्तरीय बनाउन ह्याम्सले गरेको सहकार्यको सर्हाना गर्नुभयो । उहाँले क्रिटिकल केयरको गुणस्तरीयतालाई ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्कीले कोभिड उपचारमा ह्याम्सले गरेको योगदानको प्रशंसा गर्दै बिरामी उपचारमा नर्सको जिम्मेवारी ठूलो भएको बताउनुभयो । उहाँले आफ्नो पेशामा अब्वल बन्न सीप, क्षमता र ज्ञानको महत्वपूर्ण भूमिका हुने जानकारी दिनुभयो ।

हस्पिटलका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले स्वागत मन्तव्य दिँदै क्रिटिकल केयर नर्सिङ सम्बन्धि विश्वस्तरीय तालिम उपलब्ध हुने बताउनुभयो ।

सो अवसरमा सिसिनानकी अध्यक्ष लक्ष्मी केसीसहित, महासचिव कविता सिटौला, कोषाध्यक्ष बिमला केसी, हस्पिटलकी नर्सिङ डाइरेक्टर वरुणा पौडेल सुवेदीलगायतले नेपालको नर्सिङ क्षेत्रको विकासका लागि यो क्रिटिकल केयर नर्सिङ कार्यक्रम अत्यन्त सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
दक्ष तथा अनुभवी विशेषज्ञ नर्सहरुलाई विदेश पलायन हुनबाट रोक्न नीति निर्माता तथा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा उहाँहरुको जोड थियो ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


