
विदेशबाट कस्तो सोच बोकेर नेपाल फर्किनुभयो ?
अस्ट्रेलियाबाट बिजनेश एडमिनिस्ट्रेसनमा आध्ययन सकेर दश वर्ष युएई दुवई शहरमा व्यवसाय गरेर बसेको थिएँ । मेरो स—परिवार नेपालमै भएको र नेपालमा हाम्रो व्यापार व्यवसाय भएकाले ‘परिवार सँगै बसौँ’ र आफ्नै देशमा ‘केहि गरौँ’ भनेर सन् २०१५ मा नेपाल फर्किएको हुँ ।
नेपाल फर्किएको लगभग पाँच बर्ष बितिसकेको छ । यहाँ आएपछि एभरेष्ट प्यारेन्टेरल्स प्रा.लि. नामको औषधि कम्पनि शुरु गर्यौं । यो कम्पनि नयाँ किसिमबाट शुरु गरिएकाले यसैमा केन्द्रित भएर काम अघि बढाइरहेका छौं । बाराको छत्रपिपरामा रहेको यो कम्पनि ८० हजार स्क्वायरफिट क्षेत्रफलमा फैलिएको छ ।
भिटिएम उत्पादन गर्न कसरी सफल हुनुभयो ?
कोभिड— १९ का कारण ११ चैत २०७६ मा मुलुकमा लकडाउन शुरु भयो । कोभिड—१९ का बिरामीहरुको वृद्धि भइरहेको थियो । सरकारले परीक्षण दायरा बढाउँदै गएको थियो । तर कोभिड—१९ परीक्षणका लागि नमुना संकलन गर्ने भाँडो भि.टि.एम. अभाव भएका समाचारहरु आउन थाले । त्यसपछि कोभिड—१९ को महामारी भएपनि हामी चुप लागेर बस्न सकेनौं । नेपालमा भि.टि.एम. उत्पादनका लागि सम्भावित अध्ययन सुरु गर्न थाल्यौं । त्यसपछि स्वदेशमा उत्पादन गर्ने सोच अघि बढायौं ।
भि.टि.एम. उत्पादनका लागि सेन्ट्रल फर डिजिज कन्ट्रोल (सिडिसी) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जारी गरेको गाइडलाइन मुल्याङ्कन गर्दा सिडिसिको फर्मुलेसन अवलम्वन गर्यौं ।
त्यो बेला आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध नभएको र ढुवानी गर्ने सवारी साधन राम्रोसँग चलाउन सक्ने वातावरण थिएन । तैपनि कच्चापदार्थ जुटाउँदै गयौँ । यसमा लगभग ३० दिन जति लाग्यो ।
पहिलो ट्रायल उत्पादनलाई थर्ड पार्टी ल्याव टेस्ट गर्दा परिणाम सकारात्मक आयो । दोस्रोमा पनि प्रोसेस गरेर इन हाउन टेस्टिङ र थर्ड पार्टी ल्याव टेस्ट गरी स्वीकृत भएपछि व्यवसायिक रुपमा उत्पादन सुरु गर्न थालेका छौं ।
अहिले प्रत्येक ब्याचको भि.टि.एम.को स्टेरेलिटी र स्ट्याबिलिटी परीक्षण गराइरहेका छौँ । सिडिसि गाइडलाइनले पनि अमेरिकाको सेन्ट्रल ल्याबोरेटोरी स्ट्यान्डर्ड इन्स्टिच्युटको गाइडलाइनलाई नै फलो गर्न सुझाएको छ । यद्यपी थर्ड पार्टी ल्याव टेस्ट कम्प्यारिजन अध्ययन गर्दा एभरेष्ट प्यारेन्टेरेल्सको उत्पादन राम्रो गुणस्तरको जानकारी आएको छ ।
उत्पादित भि.टि.एम.को बजारीकरण कसरी गरिरहनुभएको छ ?
निजी अस्पताल र सरकारी तहमा भि.टि.एम. उपलब्ध गराउँदैछौं । मुलुकमा बाहिरबाट नल्याएपनि मुलुकमा उत्पादन भएको गुणस्तरीय भि.टि.एम.पर्याप्त छ । भि.टि.एम.लगायतका अन्य धेरै औषधिमा नेपाल आत्मनिर्भर भइसकेको छ । हामीले बजारमा फरक प्रकारका उत्पादन ल्याउन सफल भएका छौं ।
भिटिएम के हो ?
भि.टि.एम. (भाइरल ट्रान्सपोर्ट मिडियम) भनेको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाउन प्रयोग गर्ने मेडिकल सामान हो । यसलाई एक प्रकारको किट भनेर बुझ्दा पनि सकिन्छ । यसको काम प्रयोगशालासम्म नमुना पुर्याउँदा भाइरस नमरोस् र संक्रमण नफैलियोस् भन्ने नै हो । पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेपछि त्यसलाई सुरक्षित रुपमा प्रयोगशालासम्म पुर्याउन भिटिएम किट प्रयोग गरिन्छ । स्वाबमा भएको भाइरसलाई बिग्रन नदिन ह्याक्स ब्यालेन्स सोलुसन, फेटल बोभिन सेरम तथा एन्टिबायोटिक र एन्टिफंङ्गलको समिश्रणबाट भिटिएम तयार गरिन्छ ।
तापक्रम मेन्टेन नभएमा भाइरस डिनेचर हुनसक्ने सम्भावना बढेर जान्छ । जसले गर्दा पिसिआर रिजल्ट फल्स नेगेटिभ आउँछ । आरएनए भाइसरका लागि तापक्रम सात दिनसम्मका लागि माइनस २० डिग्री सेल्सियसमा राख्नुपर्ने तथा त्यो भन्दा बढी भएमा माइनस ८० डिग्री सेल्सियस राख्नुपर्ने विश्वव्यापी मान्यता छ ।
पिसिआर मेसिनले कोभिड—१९ को परीक्षण गर्दा जटिल फ्लोरोसेंस ग्राफ आउने गर्छ । जसमा थ्रेसहोल्ड भ्याल्यु (सिटी भ्याल्यु) अनुसार नमुना पोजिटिभ वा नेगेटिभ भएको निष्कर्ष वैज्ञानिकले गर्ने गरेका छन् । एनएस, लाइसिस वफर, भाइरस इनएक्टिभेटर भएमा कलेक्सन सोलुसनमा राखिएको नमुनामा लामो समयसम्म जाँच नगरी (२४ घण्टापछि) जाँच गरेमा आउने जटिल फ्लोरोसेन्स ग्राफको सिटी भ्याल्युमा नै परिवर्तन हुन सक्ने सम्भावना अत्यधिक हुन्छ । जसले गर्दा परिणामा फल्स नेगेटिभ आउन सक्छ ।
संसार नै कोभिड-१९ का कारण आक्रान्त बनेको समयमा नेपालमा काम नै नलाग्ने र बेग्लै प्रयोजनमा प्रयोग हुने विभिन्न रसायनहरुलाई भि.टि.एम.को रुपमा प्रयोग गरिँदा रोगको जोखिम झनै बढ्ने कुरालाई नकार्न सकिन्न ।
भारतमा कोरोनाको जाँचमा प्रयोग हुने सम्पूर्ण रसायनहरुको परीक्षण तथा सर्टिफिकेसन आईएमसिआर,भारतीय आयुर्विज्ञान अनुसन्धान परिषदले गर्ने गरेको छ । सो को आधारमा भि.टि.एम. समेत गुणस्तरीयमात्र प्रयोग भएका छन् ।
जुनसुकै वस्तुलाई अत्यन्त न्युन मूल्यमा भि.टि.एम. बनाएर पठाउने चाइनाको काइदा भारतमा चलेको छैन । साथै सिई सर्टिफिकेट समेत भि.टि.एम. को सट्टामा प्रिजरभेसन ट्युव, आरएनए प्रिजरभेसन किट भनेर लेखिएका र भि.टि.एम.मा हुनुपर्ने आधारभूत गुण समेत नभएका विभिन्न रसायनको प्रयोगले नेपालमा पि.सि.आर. परीक्षणमा समेत विश्वसनियता गुमाउने कुरा निश्चित छ । नेपाली जनता कहिलेसम्म ठगिने र गलत पिसिआर नतिजाले मर्ने हुन ? प्रश्न गम्भिर छ । यसतर्फ सरकार र जनता स्वयं सचेत एवं सतर्क हुनु पर्ने आवश्यकता छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

