
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्यमार्फत अहिलेसम्म सरकारले गरेका काम र अवस्थाबारे जानकारी दिँदै उहाँले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सर्तकता र सावधानी आवश्यक भए पनि आतङ्कित भने नहुन सबैसगँ आग्रह गर्नुभयो ।
पछिल्लो २४ घण्टामा चार हजार ५३६ को परीक्षण गरेकामा २६७ को नतिजा पोजेटिभ हुने परिस्थितिले प्रभावित हुने क्रम बढदै गएको स्पष्ट हुन्छ भन्दै मन्त्री त्रिपाठीले सङ्क्रमण रोकथामका लागि नीतिगत र कानूनी व्यवस्था यथार्थरुपमा अवलम्बन गरिएको बताउनुभयो ।
कोरोनाबाट आइतबारसम्म तीन हजार ३२ ले ज्यान गुमाएको र मृत्यदर १.१ प्रतिशत रहेको सो अवसरमा जानकारी दिइयो । गत कात्तिकको दोस्रो सातामा सङ्क्रमणको दर सबैभन्दा उच्च रहेकामा त्यसपछि घटेको तथा पछिल्ला केही दिनमा बढेको हुँदा जनस्वास्थ्यको मापदण्डलाई उच्चतम रुपमा पालना गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
आगामी असार मसान्तसम्ममा ६० लाख भन्दाबढी जनतालाई खोप प्रदान गरिसक्ने योजना रहेको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि औषधि व्यवस्थापन र रोकथाम लगायतका सबै खर्चमा हालसम्म रु पाँच अर्ब १७ करोड ७२ लाख ८३ खर्च भएको तथा आगामी दिनमा औषधिलगायतका लागि ४८ अर्ब बजेट सुरक्षित राखिएको उहाँले जानकारी दिनुभयो ।
महामारी सङ्क्रमण रोकथाम गर्ने सन्दर्भमा चार लाखभन्दा बढी व्यक्तिलाई विगतमा क्वारेन्टिनमा राखिएको तथा सङ्क्रमण रोकथाममा प्रदेश र स्थानीय तहबाट राम्रो भूमिका निर्वाह भएको जानकारी दिइयो । हाल मुलुकमा ४८ स्थानमा सरकारी र ३६ गैरसरकारी स्थास्थ्य केन्द्रमा परीक्षण प्रयोगशाला स्थापित गरिसकिएको सो अवसरमा जानकारी दिइयो ।
खोप खरिद र प्राप्तिका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताउँदै उहाँले भारतबाट १० लाख र चीनबाट आठ लाख डोज खोप प्राप्त गरिसकेको बताउनुभयो ।
सरकारले थप सुपथ मूल्यमा २० लाख डोज खरिद गरिसकेको तथा प्राप्त खोपलाई प्राथमिकताका आधारमा सर्वसाधारणलाई उपलब्ध हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “विश्वमै आप्रवासीलाई खोप प्रदान गर्ने नेपाल पहिलो मुलुक हो । पहिलो चरणमा खोप लिएकालाई दोस्रो चरणमा लिनु पर्ने खोप भण्डारणमा सुरक्षित छ ।” रासस
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

