
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पार्नुभएको छ ।
मङ्गलवार काठमाण्डाैमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताउनुभएको हो । उहाँले लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदम चाल्न सरकार तयार रहेको बताउनुभयो । लकडाउनले कोभिड सङ्क्रमण कम हुने भए पनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी यो चाहँदैनौँ कि नेपाल फेरि पनि लकडाउनको अवस्थामा जाओस् । लकडाउनभन्दा अगाडि जति महत्त्वपूर्ण र प्रभावकारी कदमहरू छन्, सरकार ती सबै कदमहरू चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ । किनभने लकडाउनले कम हुने त एकातिर छँदैछ तर जनजीविकालाई यसले पार्ने प्रभाव र समाजलाई पार्ने प्रभाव, अर्थतन्त्रलाई पार्ने प्रभाव, सामाजिक जीवनलाई पार्ने प्रभाव पछि र दीर्घकालीन रूपले हुनेरहेछ तसर्थ संसारले नै जसरी यो लडाइँ लडिरहेको छ, हामी पनि एउटा यो लडाइँमा योद्धा भएको हुनाले नेपाल पनि सबैको काँधमा काँध मिलाएर लडाइँ गर्न तयार छ ।’
छिमेकी देशमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण सुरु गरेको पनि मन्त्री त्रिपाठीले बताउनुभयो । यस्तै सीमा नाकामा आइसोलेशन र क्वरेण्टीन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतङ्कित नहुन पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो छिमेकमा सबैतिर अलिअलि बढ्दो स्थिति भएको हुनाले हामी त्यसका लागि सतर्क छौँ । तर एउटा कुरा म यहाँहरूलाई विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, आतङ्कित हुनुपर्ने अवस्था छैन । आतङ्कित हुनु भनेको यो सङ्क्रमणलाई झन थप्नु हो । सावधानी हुनुपर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपायहरू अबलम्बन गर्नुपर्छ तर आतङ्कित गरेर नागरिकमा भय र त्रास गर्ने काम गर्नु हुँदैन ।’
अहिले विश्वभर ८१ प्रकृतिका खोप विकसित भइरहेको र त्यसमध्ये १३ वटा खोप प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि तीन किसिमका खोपलाई मान्यता दिइ प्रचलनमा ल्याएको बताउनुभयो । चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधवारदेखि सुरु हुने पनि उहाँले बताउनुभयो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

