
नेपालको पहिलो टेष्टट्युब बेबी ओममणि तमाङ २०७८ साल जेठ महिनामा हुन लागेको एसईई तयारीमा जुटेका छन् । ओममणि गत फागुन २० गतेबाट १७ वर्षमा टेकेका छन् । सेन्ट जेभियर्स स्कुलमा अध्ययन गर्ने ओममणि निकै मेहनती छन् । जेहेन्दार विद्यार्थीका रुपमा चिनिन्छन् । बोल्छन् कम, हाँस्छन् बढी । अन्य सहपाठीको तुलनामा भलाद्मी देखिन्छन् । गत फागुन २० गते जन्म दिनमा उनको छेवर (ब्रतबन्ध) पनि भयो ।
‘ बाबु अध्ययनमा निकै राम्रो छ । छेवरको दिन ओममणि जन्मेदेखि अहिलेसम्मको समाचारमा आएका कुराहरु जस्ताकोतस्तै किताबको रुपमा निकाल्यौं र बाबुलाई उपहार दियौं । अहिले म निकै खुशी छु । खुशीको बयान गर्न सकिँदैन ।’—सन्ध्या तामाङ
०००० ००००
नेपालमा २०६१ साल फागुन २० गते ओम अस्पताल एण्ड रिसर्च सेन्टरको आईभीएफ सेन्टरबाट बाबु राजेन्द्र तामाङ र आमा सन्ध्याको कोखबाट पहिलो टेस्टट्युब बेबी ओममणि तमाङको जन्म भएको थियो ।
सन्ध्याको सन्तान सुखको कथा
‘मनले सोचेजस्तो सुख र खुसीले कहाँ बस्न पाइँदो रहेछ ? जहाँ गए पनि छोराछोरी कतिवटा भए ? कत्रा भए ? किन भएनन् ? विवाह भएको कति वर्ष भयो ? आदि–इत्यादि प्रश्नको ओइरो लाग्ने । सन्तान सुख नपाइने हो कि भनेर चिन्ता लाग्थ्यो । तर धेरै महिला निःसन्तान भएपनि खुसी र सुखी भएको देखेर धैर्य गर्थें । चित्त बुझाउथेँ । परिवार र आफन्तको करमा धामी झाँक्रीकहाँ जान पनि पछि परिनँ ।

हाम्रो २०५५ सालमा बिवाह भएको हो । २०५६ सालमा गर्भवती भएँ । पुष महिनामा पाटन हस्पिटलले डेलिभरि समय दिएको थियो । तर ९ महिनाको बच्चा खेर गयो । गर्भमा छोरी थियो । २०५७ सालमा गर्भ बसेन । २०५८ सालमा गर्भ बस्यो । तर ३ महिनामा खेर गयो । त्यसपछि गरिएको लगातारको बच्चाको योजना २०६० सालसम्म पनि सफल हुन सकेन । त्यसपछि जँचाउन गएँ । फेलोपियन ट्युबमा ब्लड क्लट अड्किएर समस्या भएको जानकारी भयो । क्युरेट गर्दा यस प्रकारको समस्या हुने रहेछ ।
अब मेरो लागि टेष्टट्युब बेबी नै एक विकल्प थियो । ओम हस्पिटलमा टेष्ट ट्युब बेबी प्रविधिमा बसेँ । पहिलो ब्याचमा हामी १७ जना थियौं । १७ जनामध्ये ७ जनाको गर्भ बसेको थियो । ७ जनामध्ये ४ जनाको २—३ महिनामा मिसक्यारेज भयो । हामी ३ जनाले मात्र बच्चा जन्माउन सफल भयौं । तीमध्ये २०६१ साल फागुन २० गते मैले नेपालको पहिलो टेष्टट्युब बेबी जन्माउन सफल भएँ ।
टेस्टट्युबमार्फत गर्भधारण गरेपछि ९ महिना पूरै बेडरेस्टमा बसेँ । पहिले गर्भ गएका दुःखद अनुभवहरुले यसपटक बढी सतर्क भएँ । नौ महिनासम्म बहिनी ज्वाइँको घरमा गएर बसेँ । कान्छी बहिनी र ज्वाँइले धेरै सहयोग गर्नुभयो । यद्यपी निःसन्तान जोडीका लागि टेस्टट्युब बेबी वरदान साबित हुँदै आएको छ । आत्मविश्वास राखेर टेष्टट्युब उपचार गर्न शुरु गर्नुपर्छ । जीवनमा हरेश खान हुँदैन ।’
पहिलो जुम्ल्याहा टेष्टट्युब बेबी कत्रा भए ?
नेपालका पहिलो जुम्ल्याहा टेष्टट्युब बेबी युगोत्तम र युगेश्वर कोइराला फागुन २१ गतेदेखि १७ वर्षमा टेकेका छन् । उनीहरु २०७८ साल जेठमा हुन लागेको एसईई परीक्षामा सामेल हुँदैछन् । काठमाडौंको मण्डिखाटारस्थित काष्टमण्डप विद्यालयमा अध्ययन गर्ने उनीहरु अध्ययनमा निकै अव्वल छन् ।
२०६१ साल फागुन २१ गते वरिष्ठ दन्त विशेषज्ञ डा. सुशिल कोइराला र उहाँकी धर्मपत्नी कुमुदिनी कोइरालाको कोखबाट उनीहरुको जन्म भएको थियो । उनीहरुले टेष्टट्युब प्रविधिबाट नेपालको पहिलो जुम्ल्याहा टेष्टट्युब बेबीको रेकर्ड राखेका छन् ।
यसैगरी तेस्रो टेष्टट्युब बेबी निष्ट भट्टराई पनि २०७८ सालको एसईई परीक्षामा सामेल हुँदैछन् । उनी चैत महिनादेखि १६ वर्ष पूरा गरी १७ मा प्रवेश गरेका छन् । चलचित्र विकास वोर्डका निवर्तमान अध्यक्ष केशव भट्टराई र नीता भट्टराईको सुपुत्रका रुपमा उनको २०६१ साल चैतमा टेष्टट्युव प्रविधिबाट जन्म भएको थियो ।
प्रा. रबर्ट एडवार्ड्सले सन् १९५० देखि ७० सम्म अथक रुपमा गरेको अनुसन्धानको उपलब्धिस्वरुप सन् १९७८ मा पहिलोपटक टेस्टट्युब बेबीको जन्म सम्भव भएको थियो । विश्वकै पहिलो टेस्टट्युब बेबी बेलायतकी लुइस ब्राउन हुन् । उनको जन्म सन् १९७८ को जुलाई २५ मा भएको थियो । क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रबर्ट एडवार्ड्सले टेस्टट्युब बेबी विधिको सुरुवात् गरेर निःसन्तान समस्या हटाउन सफल भए । फलस्वरुप, उनी नोबेल पुरस्कारबाट समेत सम्मानित भएका थिए ।
भारतमा पहिलोपटक डाक्टर सुभाष मुखोपाध्यायले यस प्रक्रियाको प्रयोग गरेका थिए । आज यो प्रविधि निःसन्तान दम्पतीहरूका लागि एक नयाँ आशाको किरण भएको छ । भारतमा यो प्रविधिबाट जन्मेको शिशुको नाम दुर्गा राखिएको थियो । दुर्गा विश्वको दोश्रो टेष्ट ट्युब बेबी थिइन् । नेपालको पहिलो टेष्ट ट्युब बेबी ओममणि हो ।
बिवाहपछि हरेक दम्पतीले सन्तान सुखको चाहना राख्छन् । सन्तान सुख प्राप्त गर्नेहरु खुशी हुन्छन् । निःसन्तान हुनेहरु व्यक्तिगत र पारिवारिक खुशीबाट वञ्चित हुन्छन् । प्रायःदम्पतीले सामना गर्ने विभिन्न महत्वपूर्ण मेडिकल मुद्दाहरूमध्ये निःसन्तान प्रमुख समस्या हो । केही जोडीहरू सन्तान सुख प्राप्त गर्ने चाहनामा विभिन्न उपचारमा संघर्ष गरिरहेका हुन्छन् । ती मध्ये केहीले प्रजनन् उपचारपछि गर्भधारण गर्न सक्छन् भने केही उपचारको धेरै प्रयासपछि पनि असफल हुन्छन् । उनीहरुमा खाली काखको पीडा निकै जटिल समस्या बनेको छ ।
परिवार नियोजनका साधन प्रयोग नगरी दम्पत्तिबीच निरन्तर शारीरिक सम्बन्ध भएको एक वर्षसम्म पनि गर्भ रहन नसकेको अवस्थामा निःसन्तानको समस्या मानिन्छ । परिवार नियोजनको साधन प्रयोग नगरी यौन सम्बन्ध राखेको १ वर्षभित्र ८० प्रतिशत दम्पतीको बच्चा जन्मिसकेका हुन्छन् भने ९० प्रतिशतको विवाह गरेको दुई वर्षमा बच्चा जन्मिन्छन् । त्यसपछि पनि बच्चा नभएमा निःसन्तानको समस्या हो कि भन्ने शंका गर्नुपर्छ । जँचाएर कारण पत्ता लगाउनतिर लाग्नुपर्छ ।
आधुनिक चिकित्सा पद्धतिले सन्तान प्राप्तीका सन्दर्भमा आउने विभिन्न समस्याको समाधान सुल्झाएको छ । सन्तान सुखका लागि उपाय र उपचार धेरै छन् । तसर्थ सन्तान सुख पाउन तत्काल परामर्श लिएर उपचार गर्नु राम्रो हुन्छ । बेलैमा गरिएको उपचारले सन्तान प्राप्तीको आनन्द महसुस गर्न सकिन्छ ।
सन्तान नभएको समस्याका कारण परिवार र समाजको होच्याउने प्रवृत्तिले विवाहित दम्पत्तिहरुको मनमा ठूलो चोट पु¥याएको पाइन्छ । नेपाली समाजमा सन्तान जन्माउन नसक्नुमा धेरैजसो महिलालाई दोष लगाउने गरिन्छ । तर निःसन्तान हुनुमा पुरुषको पनि त्यत्तिकै ठूलो हात छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

