
जनस्वास्थ्य सरोकार । नेपालमा बिवाहित दम्पत्तिमध्ये १५ देखि २० प्रतिशतमा निःसन्तानको समस्या भएको विभिन्न अध्ययनहरुले देखएका छन् । १५ प्रतिशतमध्ये ८५ प्रतिशतको साधारण जाँच र उपचारबाट सन्तान लाभ हुन्छ । त्यसमा १५ प्रतिशत मात्र निःसन्तान हुने गर्छन् ।
नेपालमा पहिलो टेष्टट्युब बेबीको जन्म मेरै हातबाट भएको हो । उनको नाम ओम मणि तामाङ हो । उनी अहिले १७ वर्षको पुगिसके । यो मैले एक्लै भन्दा पनि टिमले गरेको थियो ।
बि.सं.२०३९ सालमा बंगलादेशको राजधानी ढाकाबाट पोष्ट ग्राजुएट गरेर नेपाल फर्किएँ । त्यति बेलादेखि म एकचित्त भएर जनचेतना फैलाउने दृष्टिकोणले भिजिटिङ कार्डको अगाडिपट्टी नै निःसन्तान तथा क्यान्सर रोगीको उपचार व्यवस्थापन (सेन्टर फर सब फर्टिलिटी एण्ड क्यान्सर म्यानेज्मेन्ट) लेखेर काम शुरु गरेको थिएँ ।
यसरी लाग्नुको कारण मैले ढाकामा काम गर्दाको अनुभूति नै हो । बंगलादेशको अवस्था हामी भन्दा धेरै कमजोर थियो । जनसंख्या धेरै थियो । तर, राजनीतिक अस्थिरताले सबै क्षेत्रको सूचक नराम्रो थियो । कहिले बाढी त कहिले हुरीले जनजीवनलाई सँधै तहस नहस पारिरहन्थ्यो । यसले गर्दा उनीहरुको प्रतिव्यक्ति आय तल थियो । फर्टिलिटी दर उच्च थियो ।
त्यो अवस्थाको अनुभूति पछि नेपाल फर्किएर फर्टिलिटीको क्षेत्रमा काम गर्न थालेँ । चिकित्सकले विरामीको साइकोलोजिकल ढंगले विश्वास जित्नुपर्छ । बिवाह भएको ३२ वर्षसम्म सन्तान सुख नपाएको दम्पतिको बच्चा भएको छ । सन्तान सुख दिन सफल भएको छु । फादर अफ टेष्टट्यूव बेवी पनि भन्ने गरेको पाएको छुँ । अहिले मलाई कतिपयले सन्तानेश्वर महादेव पनि भन्छन् ।
अहिलेको अवस्थामा निःसन्तान उपचारका लागि नियम कानुन छैन । कहाँ दर्ता गर्ने भन्ने पनि समस्या छ ।
समस्या के हो ?
सन् १९८४ तिर लैनचौरमा भएको परिवार नियोजन संघको कार्यालयमा हप्ताको २ दिन मंगलबार र बिहीबार जान्थेँ । त्यो बेला परिवार नियोजन सम्बन्धमा गलत सोचाई थियो । परिवारको संख्यामा कम गर्ने र सन्तान नहुनेलाई पनि सन्तान दिने उपाय गरेनौं भने परिवार नियोजन सफल हुँदैन । त्यसैले यसलाई सन्तुलनमा राखेर अघि बढ्नु पर्छ भन्दा त्यो बेलाकी संघकी अध्यक्षले पनि सहमति जनाउनुभयो ।

त्यो बेलादेखि नै निःसन्तानहरुको पीडाहरुलाई सम्बोधन गर्नुपर्छ भन्ने सोंच थियो । पहिलो काम त्यहीँबाट शुरु गरेँ । बिस्तारै यो प्रसूतिगृह, त्रि.बि. शिक्षण अस्पताल महाराजगञ्जमा बिस्तार हुँदै गयो । आज आएर अन्तिम उपाय भनेको टेष्ट ट्युब बेबी, त्यसबाट नभए सरोगेसी, सरोगेसीबाट पनि नभए एडप्सनलगायतका उपायमा सेवा शुरु भयो । नेपालमा पहिलो पटक टिकामाया विश्वकर्मा रिजालको बन्ध्याकरण गरेको ट्युब जोडेर रिक्यानलाइजेसन भएको पनि मेरै पहिलो हो । यसबारे नेपाल टेलिभिजनमा अन्तर्वार्ता पनि आएको थियो ।
नेपालीहरु रोजगारी र अध्ययनका सिलसिलामा विभिन्न देशमा छरिएर गएका छन् । अहिले पनि ७०—८० लाख युवाहरु मुलुकबाहिर छन् । यो क्रम अझ बढ्दै छ । रोजगारीको अवसर खोज्न खाडी मुलुक, कोरिया, जापानलगायतका देशहरुमा गएका धेरैको अत्यधिक तापक्रमका कारण प्रजनन शक्ति कमजोर हुने गरेको छ । उनीहरुले ५० डिग्री सेन्टिग्रेडमा काम गर्नुपर्छ । अवैध यौन सम्पर्कका कारण यौन रोग बोकेर श्रीमतीलाई सार्नेहरुको पनि कमी छैन । नेपालमा क्षयरोगले पनि निःसन्तानको समस्या बढाइरहेको छ ।
हामीले सरोगेसी गरेका छैनौं । त्यो गर्दा पनि गर्दैनौं । गर्न पनि हुँदैन । सर्बोच्च अदालतले रोक लगाइसकेको छ । नेपालगञ्जको वादी समुदायमा अर्काको लागि बच्चा पाइदिने चलन पहिले पनि थियो । अहिले पनि प्रचलनमा छ । यदि पौराणिक काललाई स्मरण गर्ने हो भने कौरबहरु १ सय वटा घडाबाट नभई टेष्टट्युबबाट जन्मेको हुनुपर्छ ।
विगत जे जस्तो भए पनि नेपालीले नेपालीको लागि नेपालमै सरोगेसी सेवा पनि सञ्चालन हुनुपर्छ भनेर अनुरोध गरिरहेका छौं । बीचमा अपभ्रम्सहरु पनि भए । विदेशी दलालहरुले नेपालमा आईभिएफ सेन्टरहरु खोलेर सरोगेसीको बदनाम गरे । अनि हामीहरुले नै यो बन्द हुनुपर्छ भनेर कुरा उठायौं । सर्बोच्च अदालतको अन्तरिम आदेशबाट यो सेवा रोकिएको छ ।
फर्टिलिटी सोसाइटी अफ नेपाल (फेसोन) को अध्यक्षको नाताले आईभिएफ जस्तै सरोगेसीले पनि विधि विधान अपनाएर कानुनी मान्यता पाउनुपर्छ जस्तो लाग्छ । वास्तवमा यो सेवा नेपालीका लागि मात्र हुनुपर्छ । सन्तान सुख दिलाउन सामान्य उपचार, आईभिएफ, सरोगेसी, एडप्सनको उपाय अपनाउँदै आएको अवस्था छ । क्लोनिङ (अहिले ब्यान्ड) बाट पनि सन्तान हुनसक्छ । क्लोनिङ भनेको बच्चा जन्माउन सम्बन्धित व्यक्तिको छाला लिएर ल्याबमा लगेमा १ हजार व्यक्तिको जन्म हुन्छ ।
अहिले मुलुकमा १५ वटा आईभीएफ सेन्टर स्थापना भइसकेका छन् । पाँच वर्षमा मुलुकभर कम्तिमा ५० वटा जति बृद्धि हुने अपेक्षा गरिएको छ । सबैले आईभिएफ सेन्टर मात्र खोलेका छन् । निःसन्तानको सबै जाँच भनेर खोलिएका केन्द्र कम छन् । आईभिएफमा धेरै आकर्षण देखियो ।
सरकारले निःसन्तानका लागि ७ वटै प्रदेशमा निःसन्तानका लागि अस्पताल बनाइदिनुपर्छ । त्यहाँबाट सेवा पाउन नसकेका व्यक्ति मात्र केन्द्रमा आउने परिपाटीको विकास गर्न सकेमा यो वरदान सावित हुने थियो । सबैको पहुँच पनि पुग्थ्यो ।
अहिले साधारण जाँचका लागि काठमाडौं धाइरहनु पर्ने बाध्यता छ । मेरो क्लिनिकमा आउने ८५ प्रतिशत व्यक्ति साधारण जाँच गरेर औषधि मात्र दिएमा पनि गर्भवती हुन्छन् । त्यसमध्ये पनि शल्यक्रिया र टेष्टट्यूवबाट जन्माउनुपर्ने व्यक्ति त निकै कम छन् । अहिले मेरो स्पाइन सर्जरीले गर्दा आफैं डेढ वर्षदेखि बाहिर मुभमेन्ट गर्न सकेको छैन । त्यति हुँदा हुँदै पनि सेवा दिन म ह्याम्स हस्पिटल जान्छु । नेपाल मेडिकल कलेज पनि जान्छु ।
निःसन्तान हुनुमा भगवानको श्राप होइन । भगवानको श्रापले निसन्तान भएको महसुस गर्ने मानसिकताबाट मुक्त हुनुपर्छ । (डा. रिजाल ह्याम्स हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

