
पुजा कुँवर, नार्कोनन् नेपालकी अध्यक्ष हुनुहुन्छ । गत वर्ष उहाँलाई अप्रत्यासित देब्रे स्तनमा क्यान्सर देखियो । पुजाको परिवार (माइति) मा वंशाणुगत क्यान्सरको समस्या छ । क्यान्सरबाटै बुवा आमाको निधन भयो । दाइ, दिदी, भाउजु क्यान्सर सर्भाइभर हुनुहुन्छ । क्यान्सरपछि आफ्नो जीवनले खास मक्सद पाएको उहाँको अनुभूति छ । ‘जीवनलाई अझै बढी बुझ्ने र आफ्ना लक्ष्य पूरा गर्ने मौका पाएकी छु ।’—उहाँ भन्नुहुन्छ,—‘अहिले मसँग समय नै छैन जस्तो महसुस हुन्छ । भोलिलाई काम किन बाँकी राख्ने ? आजै सबै काम सकाऊँ जस्तो लाग्छ ।’ समाजसेवा गर्ने एउटा दृढ संकल्पले उहाँमा आत्मविश्वास बढाएको छ । जसले क्यान्सर जित्न पनि मद्धत गरेको छ । जनस्वास्थ्य सरोकारको यस अंकमा क्यान्सर सर्भाइभर पुजा कुँवरको क्यान्सर मुक्त हुँदाको यात्रा उहाँकै भाषामा प्रस्तुत गरेका छौँ ।
यसरी भयो क्यान्सर पहिचान
सन् २०१९ नोभेम्बर तिरको कुरा हो, अमेरिकामा नार्कोनन्को इडी (एक्जुकेटिभ डाइरेक्टर) सम्मेलन हुन लागिरहेको थियो । सम्मेलनमा भाग लिन र केहि समय छोराबुहारीसँग बस्ने योजना सहित एक महिने छुट्टी लिएर अमेरिका उडेँ । सम्मेलनकै क्रममा स्तनमा फेरि गाँठो आएको महसुस भयो । गाँठो पहिले जस्तै आफैँ हराएर जाला भन्ने लागेर यसबारे छोरा बुहारीलाई केहि पनि भनिनँ । उनीहरुसँग तीन हप्तासँगै बसेर स्वदेश फर्किएँ । नेपाल आउनेवित्तिकै फेरि काउन्सिलिङ टे«निङ तिर लागेँ । स्तनमा देखिएको गिर्खाबारे खासै ध्यान गएन । बेलाबेलामा हराउने गाँठा यस पटक लामो समयसम्म हराएनन् । एकदिन साथीलाई स्तनको गाँठाबारे अवगत गराएँ । उनकी छोरी पनि डाक्टरी अध्ययन गर्दै रहेकाले एकपटक छोरीलाई देखाउन आग्रह गरिन् । मैले साथीको छोरीलाई सबै यथार्थ बताएँ । छोरीले अत्तालिदैँ तुरुन्त चेकअपका लागि जान आग्रह गरिन् । त्यसपछि तालिम सकाएर परीक्षणका लागि जाने योजना बनाएँ । छोरीले एक्कासी शिक्षण अस्पतालका क्यान्सर सर्जन डा. वाइबी सिंहसँग अपोइन्टमेन्ट मिलाइसकिछन् ।
तुरुन्त ट्रेनिङ छोडेर चेकअपको योजना बनाउन अनुरोध गरेपछि शिक्षण अस्पताल महाराजगञ्ज गएँ । डा. सिंहलाई भेटेर एफएनएसी टेस्ट गराएँ । त्यसपछि वायोप्सी टेष्टका लागि ह्याम्स अस्पताल पुगेँ । बायोप्सी रिजल्टमा दोस्रो स्टेजको स्तन क्यान्सर देखियो।
परिवारका सदस्यमा क्यान्सर देखिनथालेपछि मलाई निकै डर लाग्दथ्यो । त्यसैले हरेक वर्ष क्यान्सर स्क्रिनिङ गराइरहन्थेँ । क्यान्सर स्क्रिनिङको क्रममा मेरा दुईवटै स्तनमा क्यान्सर गराउन सक्ने सिस्टहरु भेटिएका थिए । डाक्टरले सिफारिस नगरेपनि आफैँले एमआरआई गरेर देखाउँथे । कामको सिलसिलामा बेलाबेलामा अमेरिका जाँदा त्यहाँको डाक्टरसँग परामर्श लिइरहन्थेँ । बिनाइन ट्युमर भएकाले सर्तक रहन सुझाव दिनुहुन्थ्यो । कामको सिलसिलामा विभिन्न मुलुक गएको बेला हरेकपटक स्तन परीक्षण गराउथेँ । यसरी जाँच गराउँदा क्यान्सर देखिएको थिएन । स्तनमा कहिलेकाहिँ गिर्खा आइरहन्थ्यो । सो गिर्खा केहिसमयपछि आफैँ हराएर जान्थ्यो ।
उपचारका लागि इन्डिया
क्यान्सर पहिचानपछि शल्यक्रिया गर्नुपर्ने अवस्था सृजना भयो । डा. सिंहले आफैले शल्यक्रिया गर्ने बताउनुभयो । त उपचारका लागि भारत जाने निधो गरेँ । नेपालका डाक्टरहरु सक्षम हुनुहुन्छ । अपरेशन थिएटर पनि राम्रो छ । तर अस्पताल व्यवस्थापन भने राम्रो लागेन । शल्यक्रियापछि संक्रमण हुने हो कि भन्ने डर लाग्यो । उपचारका लागि सन् २०२० जनवरीमा भारतको म्याक्स अस्पताल भर्ना भएँ । शल्यक्रिया सफल भयो । शल्यक्रियापछि देब्रे स्तन काटेर निकालियो । अहिले स्वास्थ्य अवस्था ठिक छ ।

मर्छु भन्ने लागेन
क्यान्सर लागेपछि आत्मबल बलियो बनाएँ । बाँच्दिन की भन्ने डर मनमा आउन दिइनँ । मेडिकल क्षेत्रमा भएका नयाँ प्रविधि र उपचार विधिले मलाइ मर्न दिदैँनन् भन्ने विश्वास पनि थियो । मरिन्छ कि भनेर आँखाबाट एकथोपा आँशु पनि आएन ।
‘जसरी पनि ठिक हुनुपर्छ’ भनेर दृढ संकल्प लिएँ किनकि मैले कुलतमा फसेका लाखौँ व्यक्तिलाई नयाँ जीवन दिनु छ । यदि मृत्युदेखि डराएको भए सायद क्यान्सरले जित्थ्यो होला ।
किमोथेरापी दिँदाको त्यो क्षण
उपचारको क्रममा ४ ओटा केमोथेरापी दिइयो । त्यतिबेला धेरै गाह्रो महसुस भयो । केमो दिएको ३-४ दिनसम्म बान्ता हुने, खान मन नलाग्ने, कमजोर महसुस भयो । शरीरमा ताकत थिएन । कहिलेकाँही राती सुतेपछि बिहान आँखा खुल्दैन कि जस्तो लाग्थ्यो । जब आँखा खुल्थ्यो तब नयाँ दिन सुरु हुन्थ्यो । फेरि परिवारलाई भेट्न पाउने भएँ जस्तो अनुभूति हुन्थ्यो । भगवानले मलाइ मर्न दिनुभएन । उहाँले समाजका लागि केहि गर्ने मौका दिनुभएको छ । यो मौकालाई यत्तिकै खेर जान दिन्नँ ।
क्यान्सरले समयको सदुपयोग गर्न सिकायो
क्यान्सरपछि मेरो जीवनमा ठूलो परिवर्तन आएको छ । जीवनलाई अझै बढी बुझ्ने र लक्ष्य पूरा गर्ने मौका पाएकी छुँ । पहिला समयको महत्व बुझ्न सकेको थिइनँ । धेरै समय घुमघाम मै बित्यो ।
‘आजको काम भोलि गर्छु’ भनेरै खेर फालियो । तर, अहिले आफूसँग समय नै छैन जस्तो अनुभूति हुन्छ । भोलिलाई काम किन बाँकी राख्ने ? ‘आजै सकाऊँ’ जस्तो लाग्छ । ‘समय यसै खेर फाल्न हुँदैन’ भन्ने पाठ सिकेकी छु ।
समाजसेवाबाट मिल्यो आत्मसन्तुष्टि
बुवाआमाले मलाई कहिलेपनि अभाव र दुःख महसुस गर्न दिनुभएन । मेरो पारिवारिक पृष्ठभूमि राम्रै थियो । सानै उमेरदेखि समाजसेवा गर्ने चाहना थियो । मेरो प्रहरीसँग बिहे भयो । जीवन सुखमय थियो । तर मनमा समाजसेवा गर्ने रहर भने कता कता खड्किरहन्थ्यो । श्रीमान्को पोष्टिङ भएर विभिन्न जिल्लामा जानुपथ्र्यो । म पनि उहाँसँगै जान्थेँ । त्यतिबेला जेलमा प्रौढ शिक्षा पढाउथेँ । श्रीमानले पनि मलाई साथ दिनुभयो । उहाँपनि समाजसेवा असाध्यै मन पराउनुहुन्छ । त्यसपछि सुधारकेन्द्र खोलियो । तब जीवनले खोजेको कुरा पाएँ जस्तो अनुभव भयो । समाजसेवाबाट मात्रै आत्मसन्तुष्टि मिल्यो ।

समाजसेवा ८४ व्यञ्जन भन्दा मिठो
मानिसहरु समाजसेवा गर्ने भन्दै शहर रोज्छन । वास्तवमा शहर पीडित बस्ने ठाउँ होइन । यहाँ बस्ने सबै शिक्षित हुन्छन् । पाँच मिनेटको दुरीमा अस्पताल छ । गाउँघरमा बसोबास गर्ने मानिसहरु क्यान्सर रोगबारे अनभिज्ञ छन् । उनीहरु वास्तवमै पीडित छन् । आर्थिक रुपमा कमजोर हुन्छन् दुरदराजका गरिबलाई रोगको पहिचान गरेर सकेको उपचार सहयोग गर्ने चाहना छ । सरकारले पनि एकलाख रुपियाँ सहयोग गर्छ । मैले पनि सकेजति सहयोग गर्छु । भविष्यमा एउटा ट्रष्ट खोलेर सेवा गर्ने योजना बनाएकी छु ।
परिवारै क्यान्सर पीडित
मेरो माइती परिवारमा क्यान्सर रोग पहिलादेखि नै व्याप्त थियो । बुबा आमा र ठुलीआमा पनि क्यान्सरबाटै बित्नुभयो । त्यस्तै जेठो दाइलाई प्रोस्टेट क्यान्सर, माइलो दाइलाई पेटमा ट्युमर र माइली भाउजुलाई ग्ल्यान्ड क्यान्सर भएको थियो । यता मेरो श्रीमानलाई पनि मिर्गौलाको ट्युमर देखियो । उहाँहरुको शल्यक्रिया गरेर समाधान गरियो । मलाई स्तन क्यान्सर पहिचान हुँदा दोस्रो चरणमा पुगिसकेको थियो ।
दिनचर्या
बिहान सबेरै उठ्छु । केही समय शारीरिक व्यायाम गर्छु । घरको सबै कामधन्दा सिध्याएर अफिस जान्छु । दिनभर अफिसकै काममा व्यस्त हुन्छु । बेलुका घर फर्किन्छु । अहिले घरमा श्रीमान र म मात्र छौँ । छोरा, बुहारी र नातिनी अमेरिकामा बस्छन् ।
सुझाव
मृत्यु सत्य र स्वभाविक हो । जन्मिएकै दिनबाट मृत्यु सुरु हुन्छ । कुनै पनि समय मृत्यु हुनसक्छ । त्यसैले हामी मृत्युसँग डराउन हुँदैन । कतिपय मानिस बूढेसकाल लागेपछि धर्म गरौँला, ध्यान गरौँला भन्ने सोच्छन् । धर्मकर्म गर्न पनि स्वस्थ शरीर चाहिन्छ । त्यसकारण कुनैपनि काम पछि गर्छु भनेर बाँकी राख्नहुँदैन । यदि मैले मृत्य देखि डराएको भए सायद मलाई क्यान्सरले जित्न सक्थ्यो होला । सधैँ सकारात्मक सोचाइ राख्नुपर्छ । रोग जित्न सकिन्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

