
जनस्वास्थ्य सरोकार । मायालु स्वभाव, हरेक बिरामीलाई आफ्नै मान्छेजस्तो व्यवहार गर्ने । उहाँमा भेदभाव नगर्ने र सम्पूर्ण निःसन्तान दम्पत्तिहरुको दुःख, पीर, मर्का बुझ्ने स्वभाव छ । यो पेशा धेरै इमोसनसँग सम्बन्धित छ । निःसन्तान दम्पत्तिहरुलाई आफ्नो परिवारको सदस्यजस्तै मानेर उपचार गर्ने र थप निःसन्तानको खुशी बोकेर अघि बढ्दै गरेकी युवापुस्ताकी चिकित्सकका रुपमा चिनिन्छ डा. सबिना सिंखडालाई । नेपालगञ्ज मेडिकल कलेजबाट स्त्री तथा प्रशुति विधामा एमडी गरेपछि डा. सबिनाले ६ महिनाजति लेक्चररको रुपमा काम गर्नुभयो । त्यसपछि २०७१ सालतिर राजधानी सिफ्ट हुनुभयो र फर्टिलिटी स्पेशलिष्टको रुपमा ६ महिनाजति भेनस आईभिएफ सेन्टरमा काम गर्नुभयो । त्यसपछि सिनियर फर्टिलिटी स्पेशलिष्टको रुपमा वात्सल्यमा करिब साँडे ३ वर्षजति सेवा दिनुभयो । अरुको मातहतमा काम गर्दा कति कुरा आफूले भनेअनुरुप गर्न नपाइने, अरुको अनुमति लिनुपर्नेलगायतका समस्या हुनथालेपछि वरदान इन्फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याउन सफल भएको बताउनुहुन्छ डा. सबिना । जनस्वास्थ्य सरोकारको यस अंकमा हामीले डा. सबिनालाई कभर पेजमा प्रस्तुत गरेका छौं । निः सन्तान उपचारको करियरबारे डा. सबिनासँग गरिएको भलाकुसारी ।
निःसन्तान उपचारलाई नै किन छनौट गर्नुभयो ?
धेरै निःसन्तान दम्पत्तिहरुको रोदनलाई नजिकबाट नियाल्ने मौका पाएँ । यसले ‘केही गरौं’ भन्ने उत्साह जगायो र निःसन्तानहरुलाई सन्तान सुख दिने अभियानतर्फ समर्पित भएँ । हामीले चिकित्सा विज्ञान अध्ययन गरेको पनि सेवाकै लागि त हो । हामीजस्ता महिलाहरुका लागि परिवारको साथ र सहयोगको भूमिका पनि महत्वपूर्ण हुन्छ । घर परिवारको सपोर्ट नहुँदा करियरमा पछि धकेलिएका धेरै उदाहरण देख्न पाइन्छ । तर मलाई त्यस्तो भएन । श्रीमान् सकारात्मक सोच बोकेको अर्थोपेडिक सर्जन भएकाले करियरमा सफल छु । श्रीमान्को हौसलाका कारण सेवामा निरन्तर अगाडि बढ्न हिम्मत राखेँ । नत्र सबै नेपाली चेलीहरुको समस्या एउटै त हो नि । फर्टिलिटीमा करियर शुरु गर्दा टप १० भित्र थिएँ । अहिले पनि छु ।

सफलताको कडी केलाई ठान्नुहुन्छ ?
निःसन्तान दम्पत्तिहरुलाई जति नै सान्त्वना दिएपनि अन्ततः परिणाम महत्वपूर्ण हुन्छ । सम्बन्धित विधामा आफू निपूर्ण हुनुपर्छ । अन्यथा अगाडि बढ्न सक्ने अवस्था रहँदैन । इन्डियाका टिमसँग धेरै काम गर्ने र सिक्ने मौका पाएँ । जति धेरै बिरामीसँग एक्सपोजर भयोे त्यति नै कौशल विकास हुँदै जाने कुरा हो ।
मैले धेरै निःसन्तान दम्पत्तिहरुको उपचार गर्ने मौका पाएँ । सँगसँगै मार्गदर्शनअनुसार अघि बढ्ने अवसर प्राप्त गरेँ । यसले सफल करियरमा धेरै मद्धत गर्यो ।
कतिलाई सन्तान सुख दिन सफल हुनुभयो ?
गन्ति नै छैन । वरदानमा रेकर्ड राख्न थालेको छु । प्रति महिना १५ जनाको दरले ५ सय भन्दा बढीको आईभिएफमा सफलता प्राप्त गरिसकेको छु । वरदानमा मात्र ७० जनाको सफल आईभिएफ भइसकेको छ ।
सन्तान नहुँदाको पीडा कसरी सुनाउँछन् दम्पत्तिहरुले ?
सन्तान नहुँदा महिलाहरु आफैंबाट अपहेलित र हिनताबोध भएको पाएकी छु । अधिकांश महिलाहरुले आत्तिएको, घवराट, राति निद्रा नलाग्ने, श्रीमानसँग बोल्न मन नलाग्ने, झगडा मात्र गर्न मन लाग्ने समस्या सुनाउने गर्छन् । एकथरी महिला श्रीमानबाट अपहेलित छन् । सन्तान नभएमा श्रीमान्ले छोड्ने कारण जसरी पनि बच्चा चाहिएको कतिपयको गुनासो हुन्छ । सम्झेर महिलाहरु धुरुधुरु रुन्छन् । यस्ता महिलाका श्रीमान्हरुलाई ल्याएर शुक्रक्रिट संकलन गर्न धेरै गाह्रो हुन्छ । उनीहरु एकपटक आएपछि आउँदैनन् । एकपटक आउँदा झिकेको शुक्रक्रिट फ्रिजिङ गरेर राख्ने गरिन्छ र सफल नभएसम्म पटक पटक आईभिएफ गरिन्छ । अर्काथरी महिला सन्तान नहुँदा सासु ससुराबाट अपहेलित भएका छन् । उनीहरुलाई मानसिक यातना दिने गरेको पाइएको छ । कतिपय निःसन्तान दम्पत्तिले त दशैं नै नआओस् भन्ने गरेका छन् । आफन्तसँग टिका थाप्दा सन्तान होस् भन्नेबाहेक अन्य आशिर्वाद नै नहुने सुनाउँछन् । अरुको लागि दशैं तर हाम्रो लागि दशा भन्छन् । दशैं भनेसी रुन्छन् ।
अधिकांश निःसन्तान दम्पत्तिहरुमा बच्चा नहुनुको मुख्य कारण के पाउनुभयो ?
महिला र पुरुष दुवै जिम्मेवार छन् । महिलालाई जति दोष दिएपनि पुरुषले आफ्नो कमजोरीका कारण सन्तान भएको स्वीकार गर्न नै चाहँदैनन् । पुरुषको शुक्रक्रिटको कमीका कारण अधिकांश सन्तान नहुने समस्या छ । सन्तान नहुनमा मुख्य कारण ढिलो बिवाह नै हो । राजधानीका नेवार

समुदायमा ढिलो बिवाह हुने प्रचलन धेरै देखेँ । उनीहरु ३५ देखि ४० वर्ष पुगेपछि मात्र सन्तानको योजना बनाउने गरेको पाएको छु । पोलिसिस्टिक ओभरियन सिन्ड्रोमका कारण पनि धेरैको सन्तान भएको छैन । मेरो ओपिडीमा ४ जना निःसन्तान महिलामा २ जना त पोलिसिस्टिक ओभरियन सिन्ड्रोमको समस्या भएको पाएकी छु । यस्ता युवती धेरै छन् । उनीहरुलाई उपचार गर्न निकै गाह«ो हुन्छ । इन्फेक्सनका कारण कतिपय महिलाहरुको नली बन्द भएका कारण सन्तान नभएको पाएकी छु ।
यहाँको खुशीको क्षण कहिले हुन्छ ?
सामान्य तरिकाबाट महिला गर्भाधारण हुँदा जति खुशी लाग्छ त्यति नै आईभिएफ गरेर सफल परिणाम प्राप्त गर्दा परीक्षामा उत्कृष्ट अंक ल्याएर आफू पास भएको जस्तो खुशी लाग्छ । सफलता प्राप्त गरेको दिन क्लिनिकमै खुशीले चिच्याउँछौं ।
यहाँलाई कुन बेला दुःख लाग्छ ?
निकै प्रयास गर्दा पनि गर्भ नबस्दाको समयमा दुःख लाग्छ । आईभिएफ पनि शत्प्रतिशत उपचार होइन । यसमा सावधानी, इमान्दारिता, निपूर्णता र नियमित फलोअपमा रहेमा सफल दर ८० देखि ९० प्रतिशतसम्म रहन्छ । तर कहिलेकाँही सफलता दिन नसक्दा सारै पीडा हुन्छ ।
ग्रामीण क्षेत्रसम्म निःसन्तान उपचारको पहुँच पु¥याउन के गर्नुपर्ला ?
निःसन्तान उपचारमा फलोअपको भूमिका महत्वपूर्ण हुन्छ । प्राकृतिक रुपमा गर्भाधारण गरेका महिलाहरु पनि हरेक दिन म कहाँ आउने गरेका हुन्छन् । ८—९ वर्षसम्म सन्तान नभएका दम्पत्ति पनि उपचार पद्धतिमा जानेबित्तिकै गर्भाधारण गर्न सफल हुन्छन् । गाउँमा क्षमता अभिवृद्धि तालिम दिएर दक्ष जनशक्तिको विकास गर्न सकेमा स्थानीय तहमा धेरैले सुविधा प्राप्त गर्न सक्छन् । सामान्य तरिका, आईयुआईमा गर्दा पनि नभएमा टेष्ट ट्यूव बेबीमा जानुपर्छ भन्ने जनचेतना जगाउन सकेमा धेरैलाई फाइदा पुग्छ । मेरो अनुभवमा बच्चा नभएमा प्रशुति तथा स्त्री रोग विशेषज्ञकहाँ जाने, उनीहरुले अण्डाको काउन्टिङ नै नहेरिदिने गरेको पाएको छु । प्रायः स्वास्नी मान्छेको अण्डा त उमेर अनुसार कम हुँदै जान्छ । एउटा बच्चा भएको महिलालाई फेरि हुने आश्वास दिएर रोकिरहने प्रचलन पनि राम्रो होइन । पहिलो बच्चा भइसकेका महिलाको पनि ट्युब ब्लक हुन सक्छ । उमेरले अण्डा उत्पादनमा कमी हुनसक्छ । त्यसैले यसतर्फ पनि ध्यान दिएर स्थानीय तहमा परीक्षण र उपचारको सुविधा हुन जरुरी छ ।

ट्युब ब्लकको पहिचान कसरी गर्ने
एक्स—रे ले ७५ प्रतिशत सम्म ट्युब ब्लक भएको देखाउँछ । २५ प्रतिशत ल्याप्रोस्कोपिक गर्न सकिन्छ । आजकल ट्युब खोल्न शल्यक्रिया गर्नुपर्दैन । संसारमा यति धेरै अनुसन्धान भइसकेका छन् कि अब आईभिएफ आइसकेपछि ‘डन्ट टच ट्युब्ज’ । ट्युबको शल्यक्रिया गरेपछि डिम्बमा गएर बच्चा बसिदिने समस्या हामीले देखेका छौं । यसरी डिम्बमा बच्चा बसेको २४ घण्टाभित्र शल्यक्रिया नगरेमा व्यक्ति मर्नसक्छ । हामीले अनुसन्धानलाई आधार बनाएर उपचार गर्नुपर्छ ।
उपचारमा चाहर्ने प्रचलन प्रति के भन्नुहुन्छ ?
यो परामर्शको अभाव नै हो । डाक्टर इमान्दार र डाक्टरप्रति बिरामीको विश्वास भएमा राम्रो परिणाम आउँछ । विश्वास, फलोअप, परामर्श, बिरामीलाई स्थिर गराउनसक्ने क्षमता चिकित्सकमा पनि हुनुपर्छ ।
निःसन्तान उपचारका कानुनी अड्चनहरु बारे बताइदिनुस् न ?
निःसन्तान उपचार गर्ने कतिपय हस्पिटल र क्लिनिकहरुलाई रजिष्टे«सन नै दिइरहेको छैन । नेपालमा रजिष्ट्रेसनको मापदण्ड छैन । यसमा धेरै कानुनी मुद्धाहरु छन् । हामीले अन्तर्राष्ट्रियस्तरको सुपरस्पेशालिटी सेवा दिन सफल भएका छौं । आईभिएफमा टिमवर्क आवश्यक पर्छ । यसमा डाक्टर, इम्ब्रियोलोजिष्ट, उचित परामर्शदाताको भूमिका महत्वपूर्ण हुन्छ । कम्पनिमा दर्ता भएपछि कुनै एक निकायमा रजिष्टे«सन गर्ने प्रावधान हुनुपर्छ । आईभिएफ गर्न थुप्रै अड्चन छन् ।
शुक्रक्रिट नभएको पुरुषले बाबु बन्न नपाउने ? डोनरबाट बाबु बन्न पाउने कि नपाउने ? कुनै पनि महिलाको अण्डा काम नलाग्ने अवस्थामा डोनरको अण्डा लिन पाउने कि नपाउने ? यस्ता कुराहरुको सम्बोधन हुन जरुरी छ ।
अहिले सर्बोच्च अदालतले सरोगेसी रोकेको भएपनि परिवारका आवश्यक व्यक्तिहरुबीच हुने प्रावधान ल्याउनुपर्छ । देशका ठूला व्यक्तिहरुले जसरी पनि सरोगेसी गराउने गरेको पाइन्छ । खाँचो परेका मानिस जोसँग पैसा छैन उसले चाँही सरोगेसी गराउन नपाउने ? कुनै पनि छोरीको बच्चा आमाले बोकिदिन्छु भन्दा नपाउने ? निकै सोच र विचार गरेर यस सम्बन्धित नियम कानुन बनाउन आवश्यक छ । बच्चा नभएमा श्रीमान, परिवार र समाजसँगसमेत सम्बन्ध राम्रो हुँदैन । त्यसैले यस सम्बन्धि मापदण्ड बनाउनुपर्छ ।

आईभिएफको खर्च र सफल दर कति छ ?
नेपालमा एकपटक आईभिएफ गर्न सबै खर्च जोडेर लगभग ३ लाख देखि ३ लाख ५० हजारसम्मको हाराहारीमा हुन्छ । तर आईभिएफमा उसको कतिवटा अण्डा आउँछ भन्ने कुरामा भर पर्छ । जति धेरै अण्डा आउँछ त्यति धेरै भ्रूण बन्छ । जस्तोः १२ भ्रूण बनेमा सबै पाठेघरमा हाल्न सकिदैन । नेपालको सन्दर्भमा हाल्ने २ वटा मात्र हो । १० वटा त फ्रिज गरेर राख्न सकिन्छ । पहिलो असफल भएमा दोस्रो पटकमा बनिरहेको भ्रूण हाल्न धेरै खर्च लाग्दैन । सबै बनिसकेको हुनाले दोस्रो पटकमा २५—३० हजार रुपियाँ जति मात्र खर्च हुन्छ । समयमा आईभिएफ गरेमा सफल दर धेरै राम्रो हुन्छ । सबै कुरा राम्रो भएमा ३ पटक आईभिएफ गर्दा ९० प्रतिशत सफल भइसक्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

