जनस्वास्थ्य सरोकार, काठमाडौँ । कान्ति बाल अस्पतालमा एकैदिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ ।
आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या १० पुगेको अस्पतालले जनाएको छ । गत वर्षभन्दा यो वर्ष सङ्क्रमण फैलिने दर उच्च भएकाले सङ्क्रमित थपिरहेको अस्पतालले जनाएको छ । एक सातायता दिनमा एकदुईजना देखिएकामा आज एकै दिन बढी सङ्ख्या देखिएको अस्पतालका प्रवक्ता डा. कृष्णप्रसाद विष्टले बताउनुभयो ।
कोभिडकै उपचारका लागि तोकिएको अस्पताल नभएकाले अरू स्वास्थ्य समस्या लिएर आएका बिरामीको परीक्षण गर्दा कोभिड पाइएको अस्पतालले जनाएको छ । रुघा, खोकी, ज्वरो, निमोनिया भएर आएका ती बालबालिकामा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा. विष्टले बताउनुभयो ।
अस्पतालले कुनै पनि बालबालिका अस्पताल छिर्नासाथ ज्वरो हेर्न ‘फिबर क्लिनिक’ को व्यवस्था गरेको छ । कोभिडसँग मिल्दो लक्षण भएका शङ्कास्पद बिरामीलाई छुट्टै वार्डमा राखिने गरिएको प्रवक्ता डा. विष्टको भनाई छ ।
बालबालिकाको रिपोर्ट पोजेटिभ भएमा कोभिडका लागि छुट्याइएको श्ययामा उपचार गरिन्छ । सङ्क्रमित नभएको पाइएमा अरू सामान्य श्ययामा उपचार गरिने उनले बताए । उहाँले भन्नुभयो ‘अहिले पनि अस्पतालमा कोभिडभन्दा अरू बिरामी धेरै छन् ।’
अस्पतालले नियमित सेवालाई निरन्तरता दिइरहेको भए पनि सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि बिरामीको सङ्ख्या ह्वात्तै घटेको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा बहिरङ्ग सेवा, आकस्मिक सेवा गरेर दैनिक सातदेखि आठ सयसम्म बिरामी आउने गरेका थिए । अहिले दैनिक झण्डै एक सयदेखि डेढ सयसम्म छ । ‘यातायातको साधन नभएकाले पनि आउन नसकेको हुनसक्छ ।’ उहाँले भन्नुभयो ।
अस्पतालले दुई भेन्टिलेटर र चार आइसियुसहित २६ श्यया कोभिड सङ्क्रमित बालबालिकाका लागि छुट्याइएको छ । यी सबै श्ययामा अक्सिजनको व्यवस्था छ । सङ्क्रमितको सङ्ख्या बढेर आवश्यक भएमा थप श्ययाको व्यवस्था गर्न सकिने उहाँले बताउनुभयो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

