
जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ ।
जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ । अक्सिजनका लागि २४ घण्टा अघिदेखि नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमदेखि अस्पताल प्रशासनसम्म भौँतारिए पनि अक्सिजन पाउन सकेनन् । मेसु डा गौतमले अक्सिजन कम्पनीदेखि सिसीएमसी, स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालयसम्मलाई दिनभर हारगुहार गर्दा पनि अक्सिजन नआएपछि समस्या परेको बताउनुभयो ।
सगरमाथा अक्सिजन कम्पनीबाट विगतमा अक्सिजन ल्याउने गरेको भक्तपुर अस्पतालले त्यहाँबाट पनि अक्सिजन पाउन छाडेपछि जनकपुरदेखि अक्सिजन ल्याउन शुरु गरेको थियो । तर जनकपुरबाट पनि अक्सिजन सहजरूपमा पाउन छाडेको र टाढाबाट ल्याउँदा कम्तीका दुई दिन लाग्ने हुँदा अक्सिजन अभावले अस्पताल भर्ना भएका कोभिडका बिरामीको ज्यान नै जोखिममा परेको छ ।
सिसीएमसीको लापरवाहीका कारण थप समस्या परेको हो । भक्तपुर अस्पताललाई प्रदेशस्तरीय अस्पताल भन्दै सिसीएमसीले अक्सिजन वितरणको सिफारिसमा दुई दिनदेखि नाम हटाइदिएपछि भक्तपुर अस्पतालले अक्सिजन पाउन नसक्दा दुर्घटनाको अवस्थामा पुगेको अस्पताल प्रशासनको भनाइ छ ।
भक्तपुर अस्पतालले हाल ३३ शय्या जनरल, ४० शय्या हाइकेयर युनिट, छ शय्या आइसीयू, आकस्मिक कक्ष र टेन्टमा समेत शय्या राखेर ७० कोभिडका बिरामीको उपचार गरिरहेको मेसु डा गौतमले जानकारी दिनुभयो । सबै बिरामीलाई हाइफ्लोरको अक्सिजन दिनुपर्ने भएकाले भक्तपुर अस्पतालमा २४ घण्टामा २०० सिलिण्डर अक्सिजन खपत हुने गरेको छ । विगतमा सगरमाथा कम्पनीबाट अक्सिजन आपूर्ति गर्दै आएको अस्पतालले त्यहाँ नपाएपछि बालाजुको अक्सिजन कम्पनीबाट समेत अक्सिजन पाएन । त्यसपछि जनकपुरबाट ल्याएको ८० सिलिण्डर अक्सिजन सकिएको र अरु अक्सिजन नआएपछि हिजो साँझदेखि नै अक्सिजनको अभाव भएको हो ।
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा अक्सिजन अभाव भएपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आफैँ मङ्गलबार दिनभर दौडधुप गरेर १८ सिलिण्डर अक्सिजनको जोहो गरी भर्ना भएका बिरामीको ज्यान बचाउनुभएको छ । यस अस्पतालमा छ भेन्टिलेटर, पाँच आइसीयू, १४ हाइकेयर युनिट र १८ आकस्मिककक्षमा गरी ४३ कोभिड–१९ का बिरामीको उपचार भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
यस अस्पतालले नवज्योति कम्पनीसँग सहमति गरी रकम जम्मा गरेर अक्सिजन ल्याउने गरे पनि पछिल्लो समयमा सिसीएमसीले अन्यत्रै सिफारिस गरिदिएपछि अक्सिजनको अभाव भएको हो । अस्पताललाई दैनिक ७० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भए पनि सिसीएमसीले काभ्रेको एक कम्पनीमा १० सिलिण्डरमात्रै सिफारिस गरिदिँदा अस्पतालले अक्सिजनको थप अभाव झेल्नुपरेको अस्पतालको भनाइ छ ।
अस्पतालले अक्सिजन अभाव भएको र १८ बिरामीको ज्यान जोखिममा परेको जानकारी गराएलगत्तै मङ्गलबार दिनभरि नै नगरप्रमुख श्रेष्ठको अक्सिजन जोहो गर्न निकै दौडधुप चल्यो । सिसीएमसीदेखि स्वास्थ्य मन्त्रालय, टेकु अस्पताल र विभिन्न अक्सिजन कम्पनीमा दौडधुप गर्दा पनि नपाएपछि काभ्रेको कम्पनीमा आफैँ गएर १८ सिलिण्डर अक्सिजन जोहो गरेपछि अस्पतालका बिरामीको ज्यान बचाउन सफल भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

