नेभिगेशन

'कोरोनाबाट बच्न पूर्वीय दर्शनमा आधारित जीवनशैली अवलम्बन गरौँ'

जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट बच्न पूर्वीय दर्शनमा आधारित जीवनशैलीलाई अपनाउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियानको हामी साथ छौँ कार्यक्रमले आज जुम प्रविधिबाट आयोजना गरेको ‘के गर्ने ? के नगर्ने ?’ विषयक अन्तरक्रिया कार्यक्रममा आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइरालाले पूर्वीय दर्शनमा आधारित भान्सा पद्धतिलाई पुनःस्थापित गरिनुपर्नेमा जोड दिनुभयो ।

प्राचीनकालदेखि नै भान्सामा जडीबुटी एवं औषधिजन्य चीजबीजको व्यवस्था हुने भएकाले आधुनिकताका नाममा त्यसलाई नबिर्सन उहाँले सुझाव दिनुभयो ।

भान्सामा जाँदा हातगोडा धोएर शुद्ध पहिरन लगाएर जाने, भान्सालाई एक जनाले नछोड्ने पद्धति पनि कति वैज्ञानिक रहेछ भन्ने बुझ्न कोरोना महामारीले अवसर दिएको चिकित्सक कोइरालाले सुनाउनुभयो ।

जैविक प्रविधिबाट उत्पादित अनाज उपभोग गरी सकारात्मक सोच राख्ने, दुःखमा पनि हाँस्ने, तनावमा नरहने गर्नाले कोरोना जस्ता महामारीबाट बच्न सकिने उहाँको सुझाव थियो ।

कार्यक्रममा मनोपरामर्शदाता कञ्चन रावतले अध्ययनले पाँचमध्ये चार जनालाई मनोसामाजिक समस्याले सताउने गरेको तथ्य पुष्टि भएको बताउनुभयो ।

चिन्ता, निराशा, लागुपदार्थको दुव्र्यसन, घरेलु हिंसा, यौन हिंसा बढेको, मानसिक स्वास्थ्य सेवाको पहुँच कम रहेकाले पनि सचेत हुनुपर्ने कार्यक्रममा उहाँले प्रस्तुत गर्नुभएको कार्यपत्रमा उल्लेख छ ।

कोरोनाले बालबालिका, वृद्धवृद्धामा बढी समस्या देखिएकाले जोखिम वर्गका व्यक्तिलाई जोगाउन सरोकार भएका निकायको ध्यान जानुपर्ने उहाँको भनाइ थियो । जोखिममा रहेको समूहलाई लक्ष्य गरेर विशेष कार्यक्रम अघि बढाउन पनि रावतले माग गर्नुभयो ।

निषेधाज्ञाका कारण घरबाट काम गर्दा धेरै मानिसमा समस्या आएकोे, विशेषगरी महिला दोहोरो भूमिकाका कारण समस्यामा परेको, घरमा बच्चालाई व्यवस्थापन गर्नु पनि चुनौतीपूर्ण बन्न थालेकाले मानिस मानसिक रुपमा विचलित हुन सक्ने भएकाले तनाव व्यवस्थापनका लागि योग, प्राणायाम, ध्यान, व्यायाम, हिँड्डुल, हाँसखेल, मनोरञ्जनका कार्यक्रम पनि दैनिक रुपमा गरिनुपर्ने उहाँको सुझाव छ ।

महामारीका विषयमा चिन्ताको सट्टा चिन्तन गर्ने, अरूलाई सहयोग गर्ने गर्नाले शरीरमा आत्मबलका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि हुने मनोविमर्शकर्ता रावतको सुझाव थियो ।

प्रेक्षा ध्यान शिक्षक किशोरसिंह शाहीले योग, प्राणायाम र ध्यानले महामारीका बेला शान्त रहन सहयोग गर्नाका साथै शरीरमा अक्सिजन आपूर्ति व्यवस्थापन प्रणालीलाई सक्रिय राख्न पनि सहयोग गर्ने बताउँदै जुमबाटै अभ्याससमेत गराउनुभयो ।

पूर्व मुख्यसचिव एवं वाग्मती सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेलले दैनिक रुपमा प्राणायाम र योगको कार्यक्रमलाई जुमबाटै निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो । धेरैलाई सामाजिक सञ्जालबाट जानकारी गराएर परोपकारी काम गरिने पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट