नेभिगेशन

नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा

जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिले घोषणा गरेका छन् ।

हिजो भएको राष्ट्रपति विद्यादेवी भण्डारीसँग वार्तालापमा चीनका राष्ट्रपति सी जिनपिङले नेपाललाई १० लाख डोज कोभिड खोप प्रदान गर्ने घोषणा गरेका काठमाण्डूस्थित चिनियाँ दूतावासले जनाएको छ।

नेपालका लागि चीनकी राजदूत होउ याङ्चीले ट्विटरमार्फत उक्त घोषणाको पुष्टि गर्दै चीनले अनुदान सहयोगमा खोप उपलब्ध गराउने जनाएकी छन्।

नेपालको परराष्ट्र मन्त्रालयले पनि एक प्रेस विज्ञप्तिमार्फत दुई राष्ट्रपतिबीच कुराकानी भएको विवरण सार्वजनिक गरेको छ।

विज्ञप्तिमा राष्ट्रपति भण्डारीले चीनबाट कोभिड १९ विरुद्धको खोप खरिद गर्न चिनियाँ सरकारले सहजीकरण गरिदिन पनि चिनियाँ समकक्षीसँग आग्रह गरेको जनाइएको छ।

नेपालले चीनबाट यसअघि चीनमा निर्मित कोभिड खोपको आठ लाख मात्रा प्राप्त गरिसकेको छ।

भारतले हालसम्म अनुदानमा १० लाख मात्रा कोभिशील्ड खोप नेपाललाई दिइसकेको छ।

नेपाली सेनाका लागि पनि भारतीय सेनाले एक लाख मात्रा त्यस्तो खोप प्रदान गरेको थियो।


नेपालले प्रारम्भिक चरणमा भारतबाट २० लाख मात्रा कोभिशील्ड खोप खरिद गरेको तर त्यसमध्ये १० लाख मात्रा मात्र नेपालमा आएको बताइएको छ।

भारतले दोस्रो लहरका कारण खोप निर्यात गर्न रोकेपछि कोभिशील्ड खोप उत्पादकबाट बाँकी खोप हालसम्म आउन सकेको छैन।

कोभ्याक्स योजना अन्तर्गत नेपालले तीन लाख ४८ हजार मात्रा खोप प्राप्त गरेको अधिकारीहरूले जनाएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाखभन्दा बढीले कोरोनाभाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका छन् भने छ लाखभन्दा बढीले दोस्रो मात्रा पनि लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट