
जनस्वास्थ्य सरोकार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न नेपाली कांग्रेसले कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपील गरेको छ।
शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री एवं कुलपति ओलीले यस विषयमा अहिलेसम्म ध्यान नदिनु चिन्ताको विषय भएको बताउनुभएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ-'बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महीना पुग्न लाग्दा पनि प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्रीले विषयलाई गम्भीरतापूर्वक लिएर समाधान पहल नगरेकोमा नेपाली कांग्रेस सार्वजनिक रूपले दुःख व्यक्त गर्दै गम्भीर चिन्ता प्रकट गर्दछ।'
प्रधानमन्त्री ओलीले कुलपति हुनुको दायित्व पूरा नगरेको कांग्रेस ले आरोप लगाएको छ । प्रवक्ता शर्मा भन्नुहुन्छ-'प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैरजिम्मेवारी हो।' उहाँ थप्नुहुन्छ-' कोभिड महामारी चलिरहेको वेला स्वास्थ्य प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्दछ र पुगिरहेको छ भन्ने हेक्का कुलपतिलाई नहुनु दुःखद छ ।'
प्रतिष्ठानभित्र अनेकन् बेथिति र अराजकता रहेको औल्याउँदै कांग्रेसले ढाकछोप नगर्न सरकारलाई सचेत गराएको छ। 'प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरूको भावनामा चोट पुर्याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न सकिन्न। अतः आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र विद्यार्थीहरूसँग सार्थक संवाद मार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न नेपाली कांग्रेस कुलपति प्रधानमन्त्रीसँग माग गर्दछ।'-जारी विज्ञप्तिमा भनिएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
