
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अर्जुन बस्नेत काठमाडौंको धापासीमा बस्छन् । उमेरले उनी ३७ वर्ष भएका छन् । ललितपुरको पुल्चोकस्थित हुवाइ कम्पनिमा काम गर्छन् । उनको स्थायी घर दोलखाको चरिकोट भएपनि लामो समयदेखि राजधानीमा सपरिवार बस्दै आएका छन् । एक दिन मस्तिष्कघात हुन्छ र उपचार पनि नाटकीय शैलीमा पाउँछन् उनले । दश दिनमै आफ्नो सामान्य दिनचर्यामा फर्किन्छन् अर्जुन । उनको बाँसबारीस्थित उपेन्द्र देवकाटा मेमोरियल न्युरो हस्पिटलमा न्युरो इन्टरभेन्सन पद्धतिबाट बिना शल्यक्रिया क्याथेटरको माध्यमबाट मस्तिष्कमा जमेको रगतको थेग्लो निकालेपछि उनी सामान्य दिनचर्यामा फर्कन सफल हुन्छन् । पढ्दा कथा जस्तो लाग्नसक्छ । तर यो घटना सत्य हो ।
आइतबार बिदा भएपनि अर्जुन कार्यालय जान्छन् । साँडे ३ बजे घर फर्किन्छन् । लकडाउन भएकाले ‘शारीरिक अभ्यास पनि हुन्छ’ भनेर टोखा बजारतिर साइकल लिएर निस्कन्छन् । टोखाको उकालोमा साइकल चलाउँदै गर्दा उनलाई थाकेको महसुस हुन्छ । त्यसपछि साइकलबाट झर्छन् । साइकल डोर्याउँदै गर्दा उनलाई अझ धेरै थाकेको महसुस हुनथाल्छ र साइकल फर्काउँछन् ।
अचानक उनको शरीरको दाइने भाग नियन्त्रण हुन सक्दैन । त्यसपछि बिस्तारै रोड किनारामा साइकल रोकेर बस्छन् । आफूलाई गाह्रो भएकोबारे श्रीमतीलाई जानकारी गराउन गोजीबाट मोबाइल फोन निकाल्छन् । तर फोन गर्न सक्दैनन् । संयोगवश त्यति बेला उनकी श्रीमतीको फोन आउँछ । बोली नआएकाले ‘वा’ ‘वा’ मात्र गर्छन् । श्रीमती आत्तिएर अर्जुनको दाइलाई जानकारी गराउँछिन् ।
दाइले गरेको मोबाइल फोनमा जिब्रो लरबराउँदै अर्जुन कुरा गर्छन् । तर मस्तिष्कले कहिले काम गर्ने र कहिले नगर्ने भएकाले दाइले बोलेको अर्जुनले कति थाहा पाउँथे भने कति थाहा पाउँदैनथे । दुर्भाग्य अर्जुनलाई मस्तिष्कघात भएको रहेछ । टोखा जाने उकालोमा रहेको पेट्रोल पम्प नजिकैको घटना भएकाले यो दृश्य पम्प सञ्चालकले पनि नियालिरहेका हुन्छन् । उनले अस्पताल लैजान अर्जुनलाई आफ्नै कारमा राख्छन् । बीच बाटोमा दाइ, मामा र श्रीमतीले अर्जुनलाई भेट्छन् । मस्तिष्कघात भएकाले बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल लैजाने सबैको सहमत हुन्छ र हस्पिटल पु¥याइन्छ । यो ७ जुन २०२० को घटना हो ।

अपत्यारिलो चमत्कार
‘हस्पिटल लगिसकेपछि अरु मलाई केही थाहा छैन । मेरो उपचार शुरु भएछ । राति नसाको माध्यमबाट मस्तिष्कमा जमेको रगतको थेग्ला (ब्लड क्लट) निकालिएछ । त्यसपछि राति १२ बजेतिर मेरो बोली फिर्ता आइसकेको थियो ।’— अर्जुन भन्छन्—‘ त्यो बेलासम्म मैले आफूले आफूलाई सामान्य अनुभव गरिसकेको थिएँ । मलाई मस्ष्तिकघात भएको र यति चाँडै निको भएको कुरा अस्पतालमा भेट्न आउने आफन्तले समेत पत्याएनन् ।’

खुशीको त्यो क्षण
अर्जुनको परिवारमा आमा, श्रीमती र छोरा छन् । अर्जुनको कमाइमा परिवार पालिएको छ । अर्जुनको आमालाई पनि ११ वर्षअघि मस्तिष्कघात भएका कारण प्यारालाईसिसको समस्या छ । हिँडडुल गर्न सके पनि बोली छैन । ‘आमाको अवस्था देखेर मेरो परिवारले मलाई सामान्य अवस्थामा फर्कनेत कल्पना पनि गरेका थिएनन् । तर खुशीको कुरा मैले समस्याबाटशत्प्रतिशत छुटकारा पाएँ ।’—उनले खुशी व्यक्त गरे । अर्जुन ३ दिनभन्दा बढी अस्पताल बस्नु परेन । अर्जुनको उपचारमा करिब ७ लाख जति खर्च भएको छ ।
अर्जुन भन्छन्—‘खर्च भएपनि म सामान्य अवस्थामा फर्किएँ । त्यही ठूलो कुरा भयो । उपचार भएको १० दिनपछि दैनिक जागिरमा फर्किन सफल भएको छु ।’ हामीले अर्जुनसँग कुरा गर्दा उनी फुटबल खेल्न जान लागेका थिए ।
‘त्यो बेलामा यदि मेरो परिवारमा अलिकता आइडिया नभएको भए मलाई अरु हस्पिटल लग्थे होलान् । सही उपचार पाउने थिइँन होला । — अर्जुन भन्छन्—‘म आमा जस्तै प्यारालाईसिस भएर बाँच्नु पर्ने अवस्था पनि आउनसक्थो नि । नयाँ प्रविधिकै कारण सही उपचार पाएँ र १० दिनभित्र काममा फर्किन सकेँ । कमाउन सकेँ । यस प्रकारको अवसर नपाएको भए सायद जीवनभर खर्चै खर्चमा जिउनुपथ्र्यो र परिवारको बिचल्ली हुने थियो होला ।’
अनुभवको आधारमा सल्लाह
अर्जुन भन्छन्, ‘यस प्रकारको समस्या प्रायः उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मधुमेह भएका व्यक्तिहरुलाई हुनसक्ने चिकित्सकहरुले बताउनुभयो । मेरो पनि कोलेस्टेरोल उच्च देखिएको थियो । यस प्रकारको समस्या नबल्झियोस् भनेर चिकित्सकहरुले उच्च रक्तचाप र कोलेस्टेरोलको औषधि सिफारिस गर्नुभएको छ । मेरो व्यक्तिगत अनुमानमा लकडाउनका बेला खानपान बढ्यो र शारीरिक व्यायाम कम भएकाले समस्या भएको हुनसक्छ । हामीले बेलाबेलामा आफ्नो स्वास्थ्यको जानकारी राख्नुपर्छ । रोगको लक्षणहरुबारे थाहा भएमा सहि समय सम्बन्धित अस्पताल पुग्न सकिन्छ र उचित उपचार पाउन सकिन्छ ।
हस्पिटलमा एउटा बिरामी पुग्नु भनेको त भूतलाई शिकार आएको जस्तै ठानिन्छ । बिरामी रिफर गर्ने प्रचलन छैन । आफ्नै तरिकाले उपचार शुरु गरिन्छ । अन्य अस्पतालमा भएको स्पेशलाइज सेवाबारे जानकारी गराइँदैन । पैसा भएसम्म अनेकौं आश्वासन दिएर बिरामी होल्ड गरेर राख्छन् ।’—अर्जुनले भने ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

