जनस्वास्थ्य सरोकार, सुदूरपश्चिम । कोरोना भाइरसको सङ्क्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । प्रदेशमा अहिलेसम्म एन्टिजेन र पिसिआर पद्धतिबाट तीन लाख पाँच हजार ८५७ को नमूना परीक्षण भइसकेको छ ।
नमूना परीक्षण गरिएको यो सङ्ख्या प्रदेशमा कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै १५ प्रतिशत हो । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये ४५ हजार २१६ उपचारपछि घर फर्किएका छन् । निको हुने यो सङ्ख्या सङ्क्रमितको झण्डै ९८ प्रतिशत हो ।
एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि हुनेमध्ये आठ हजार ७८० र पिसिआर परीक्षणबाट सङ्क्रमित हुनेमध्ये ३६ हजार ४३६ उपचार व्यवस्थापनपछि घर फर्किएका हुन् । अहिलेसम्म पिसिआर पद्धतिबाट नमूना परीक्षण गर्दा ३६ हजार ७९८ र एन्टिजेन परीक्षणबाट नौ हजार १६३ व्यक्तिमा सङ्क्रमण देखिएको छ ।
कोरोनाबाट हालसम्म ५८० व्यक्तिको मृत्यु भएको छ । प्रदेशका नौ जिल्लामध्ये पहाडी क्षेत्रका जिल्लाको तुलनामा तराईका जिल्ला कैलाली र कञ्चनपुर सङ्क्रमणबाट बढी प्रभावित भइरहेका छन् । पछिल्लो दुई हप्तायता प्रदेशमा ५६४ नयाँ सङ्क्रमित थपिँदा ४९५ जना उपचारपछि घर फर्किएका छन् । दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । तथ्याङ्कमा यस अवधिमा सक्रिय सङ्क्रमित भने घटेको देखिएको छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमित बिरामी ४०८ जना छन् । दुई हप्ताअघि यो सङ्ख्या ५०२ थियो ।
पछिल्लो २४ घण्टामा ९६९ को नमूना परीक्षण हुँदा १५ मा सङ्क्रमण देखिएको छ । यस अवधिमा उपचारपछि ४६ जना डिस्चार्ज भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । गत वैशाख, जेठमा यो रोगको सङ्क्रमण र मृत्युदर उच्च थियो । असार सुरु भएसँगै केही घटेको थियो । हाल नमूना परीक्षण गराउन आउनेको सङ्ख्या पनि कम हुँदै गएको छ ।
तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरबाहीले यो रोगको सङ्क्रमण बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । रोगको रोकथामका लागि गत वैशाखदेखि जारी निषेधाज्ञा हाल खुकुलो पारिएसँगै बढेको सर्वसाधारणको चहलपहलले रोग फैलिने जोखिम यथावत् रहेको स्वास्थ्यकर्मी बताउँछन् । कैलालीसहितका जिल्लामा हाल निषेधाज्ञा खुकुलो पारिएको छ ।
सर्वसाधारणबाट तोकिएअनुसार मास्क प्रयोग नगरी जथाभावीरूपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कमी कमजोरी देखिएको छ ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
