
जनस्वास्थ्य सरोकार । चीनमा सरकारले बालबालिकाको अनलाइन गेम खेल्ने समयावधि घटाइदिँदै निश्चित समय तोकिदिएको छ। अनलाइन गेमिङका कारण १८ वर्षभन्दा मुनिका समूहलाई नकारात्मक प्रभाव परेको भन्दै त्यस्तो निर्णय गरिएको हो।
चीनको भिडिओ गेम नियामक निकायका अनुसार अब बालबालिकाले शुक्रवार, सप्ताहान्त र बिदाको दिनमा एक-एक घण्टा मात्र अनलाइन गेम खेल्न पाउनेछन्।
त्यहाँको राष्ट्रिय प्रेस र प्रकाशन प्रशासनले सरकारी समाचार एजेन्सी सिन्ह्वालाई दिएको जानकारीअनुसार साँझ ८ देखि ९ बजेसम्म मात्र खेल खेल्न अनुमति दिइनेछ। प्रशासनले गेमिङ कम्पनीहरूलाई बालबालिकालाई उक्त समयमा घरबाहिर खेल्नबाट रोक्न निर्देशन समेत दिएको छ।
नियामक निकायका अनुसार तोकिएबमोजिम समयावधि लागु भए वा नभएको विषयमा अनलाइन गेमिङ कम्पनीहरूको निरीक्षण पनि गरिनेछ।
यसअघिको नियमानुसार बालबालिकाले दैनिक ९० मिनेटसम्म अनलाइन खेल खेल्न पाउँथे भने बिदाको दिन उनीहरूलाई तीन घण्टासम्म खेल्ने अनुमति थियो।
चीनको यो कदमबाट अत्यधिक अनलाइन गेमिङले किशोरकिशोरी तथा बालबालिकामा पारिरहेको प्रभाव चिन्ताको विषय हो भन्ने देखिन्छ।
अगस्टको आरम्भतिर एउटा सरकारी सञ्चारमाध्यमले अनलाइन खेललाई "आध्यामिक अफिम" घोषणा गरेको थियो।
अहिले प्रतिबन्ध लागु हुनुभन्दा एक महिनाअघि पनि सरकारी पत्रिका 'इकोनोमिक इन्फर्मेशन डेली'ले किशोरकिशोरीहरूलाई अनलाइन गेमिङको लत लागेको र त्यसले नकारात्मक प्रभाव पारेको जनाएको थियो।
उक्त लेखका कारण चीनको सर्वाधिक ठूलो अनलाइन गेमिङ कम्पनीको शेयर मूल्य घटेको दाबी गरिएको छ।
गत जुलाईमा विशाल चिनियाँ गेमिङ कम्पनी 'टेन्सेन्ट' ले तोकिएको अवधिबाहेक अनलाइन खेल खेल्नबाट बालबालिकालाई रोक्नका लागि अनुहार पहिचान गर्ने प्रविधि प्रयोग गर्ने घोषणा गरेको थियो।
उक्त कदमका कारण बालबालिकाले वयस्कहरूको आईडीमार्फत् खेल खेल्ने जोखिम बढेको छ।
"आध्यात्मिक अफिम" भनिएको अनलाइन गेमिङलाई चीनले दमन गरेको विषयमा बीबीसी संवाददाता जाउइन फङ भन्छिन्, "यो चीनका लाखौँ युवा गेमरहरूका लागि निराशाजनक खबर हो।"
उनले चिनियाँ अधिकारीहरू लामो समयदेखि अनलाइन गेमिङको लत र अन्य हानिकारक अनलाइन गतिविधिबारे चिन्तित रहेको जनाएकी छन्।
बेइजिङमा पुँजी र प्रविधिको बिस्तार भइरहेको छ। साथै देशका युवा पुस्ताको हकमा भने यस बिस्तारको प्रतिकूल असर पर्न सक्ने सम्भावना इङ्गित गरेकी छन्।
चीनका ठूला आईटी कम्पनीहरू - अलिबाबा, डिडी र टेन्सेन्टप्रति व्यापक रूपमा कडा कारबाही चलिरहँदा नयाँ नियमहरू ल्याइएको हो।
यी नियमबाहेक सरकारले युवा पुस्तालाई हानिकारक हुने भन्दै चर्चित व्यक्तित्वको अतिप्रशंसा गर्ने चलन र निजी शिक्षणजस्ता क्रियाकलापमा पनि सुधार ल्याउन खोजेको देखिन्छ।
नयाँ नियममार्फत् चिनियाँ सरकारले युवा वर्गमा "सकारात्मक ऊर्जा" सिर्जना गर्ने र बेइजिङले मानेको "सही मूल्य"बारे बुझाउने आशा गरिएको छ।
खेलमा प्रतिबन्धबारे अधिकांश अभिभावक सकारात्मक छन्। तर चीनका सामाजिक सञ्जालमा यसलाई सरकारको अनुचित हस्तक्षेप भन्दै आलोचना भइरहेको छ।
सामाजिक सञ्जालमा एउटा व्यङ्ग्यात्मक टिप्पणी यस्तो छ, "म शौचालय जाने, खाना खाने र ओछ्यानमा जाने यस्ता कुरामा किन योजना बनाइँदैन?" बीबीसी
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


