जनस्वास्थ्य सरोकार, काठमाडौँ । भक्तपुरको दुवाकोटस्थित ‘वीर अस्पतालको विस्तारित परियोजना’ को सेवा विस्तार गर्न थालिएको छ । वीर अस्पतालले अहिलेसम्म एक चिकित्सकको भरमा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा अबदेखि विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको हो ।

उपभोक्ताको मागलाई ध्यानमा राखेर विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको वीर अस्पतालका प्रशासन शाखा प्रमुख सागर मिश्रले जानकारी दिनुभयो । “एक महिनाभित्र प्रत्येक सातामा दुई दिन वीर अस्पतालबाट विशेषज्ञसहितको टोली गई उपचार गर्नेछ । साधारण एक्स–रे, भिडियो एक्स–रे र परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याइनेछ”, उहाँले भन्नुभयो । वीर अस्पतालले तीन वर्षअघि दुवाकोटस्थित परियोजनामार्फत सेवा दिँदै आएको छ ।
अहिले दैनिक ३०–४० बिरामी नियमित रुपमा उपचार गर्न त्यहाँ जाने गरेका छन् । पाँच सय ३८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पताललाई सरकारले यसै आर्थिक वर्षदेखि अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक अस्पताल बनाउन बजेट विनियोजन गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा दुवाकोट अस्पताललाई समेटी चालु आवमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी अर्को आवदेखि भवन निर्माण थालिने मिश्रले बताउनुभयो । “अब सबै काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्छ”, उहाँले भन्नुभयो । मन्त्रालयले चाँडै नै आयोजना प्रमुख नियुक्त गर्ने तयारी गरेको छ ।
वीर अस्पतालमा अहिले पुरानो भवनमा चार सय ६० र नयाँमा पाँच सय शय्या सञ्चालनमा छ । नयाँ सर्जिकल भवनलाई सरकारले कोरोना भाइरसबाट सङ्क्रमितको उपचारका लागि ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’मा परिणत गरेको छ । रासस
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
