जनस्वास्थ्य सरोकार, सर्लाही । चुरे क्षेत्रका स्थानीयवासीले बिरामी बोक्न अझै झोलुङ्गोको भर पर्नुपर्ने बाध्यता छ । भौगोलिक विकट जिल्लाको चुरे क्षेत्रका बस्तीमा बिरामीलाई स्वास्थ्य सस्थासम्म पु-याउन अझै पनि झोलुङ्गोको प्रयोग भइरहेको छ ।

दिगो सडक सञ्जालमा अझै जोडिन नसकेको र कमजोर भौगोलिक बनावटका कारण पटक–पटक बनाएको कच्ची सडकसमेत हरेक वर्षामा बग्ने गरेको छ । वर्षा लागेपछि खोलाको बाटोसमेत बन्द भएपछि उनीहरूले अझै झोलुङ्गोमा बिरामी बोकेर अस्पताल ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीले बताएका छन् ।
जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाको चुरे भेगका बस्तीमा यस्तो समस्या छ । सो क्षेत्रमा व्यवस्थित स्वास्थ्य संस्था नहुँदा त्यहाँका नागरिक सास्ती व्यर्होन बाध्य भएका ईश्वरपुर नगरपालिका–१२ घारीबथानका वडाध्यक्ष नागेन्द्र पाख्रिनले बताउनुभयो । उहाँका अनुसार सो क्षेत्र भौगोलिक विकटताका कारण पछाडि परेको र अहिले बाटो निर्माण सुरुआत भएको छ ।
सो क्षेत्रका बिरामीलाई अस्पताल लैजान न त बाटो छ, न सवारी साधन नै सञ्चालन भएका छन् । बिरामीलाई अस्पतालसम्म लैजान एम्बुलेन्स त परको कुरा, बाटोसमेत नहुँदा समस्या भएको छ । चिकित्सकसमेत सो क्षेत्रमा जान नमान्ने गरेका पाइएको लालबन्दी नगर स्वास्थ्य शाखा सहसंयोजक सुरेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
गाउँवासी मिलेर बिरामीलाई अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यता छ । गाउँमा कोही बिरामी परे झोलुङ्गोमा पालैपालो बोकेर पूर्व–पश्चिम लोक मार्ग छेउछाउमा भएका स्वास्थ्य संस्थामा पु¥याउन आफूहरू बाध्य भएको स्थानीयवासीले बताएका छन् ।
ईश्वरपुर नगरपालिकास्थित साबिक कालिञ्जोर गाविसमा पर्ने पिपदमार, लामिदमार, फूलजोर शिर, छोड्के, गुइडुङलगायतका आधा दर्जन बढी बस्तीमा यस्तो समस्या छ । हिउँद याममा जसोतसो बगरको बाटो हिँड्न सकिए पनि वर्षामा बाढीमा हेलिनुको विकल्प नरहेको स्थानीय चन्द्र वाइवाले बताउनुभयो । हरेक वर्ष करिब तीन/चार महिना बाढीमा हेलिएर पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी बजारसम्म ओहोरदोहोर गरिरहेका छन् । केहीले जोखिमपूर्ण यात्रा गर्दै खाद्यान्न ढुवानी गर्ने ट्र्याक्टरमा समेत यात्रा गर्ने गरेको लालबन्दी –१४ का वडाध्यक्ष सुवाइसिंह ब्लोनले बताउनुभयो । उहाँका अनुसार यात्रा गर्दा बाढी आइहाले बीचबाटोमा अलपत्र पर्नुबाहेक अरू विकल्प सो क्षेत्रका नागरिकमा छैन ।
गत असारदेखि नै खोलामा लगातार जसो बाढी आउँदा स्थानीयवासीलाई आउजाउ गर्न मुस्किल परेको उहाँले जानकारी दिनुभयो । “सामान्य बिरामीको गाउँमै प्राथमिक उपचार हुने गरेको छ, तर गम्भीर बिरामीलाई भने पत्थरकोटको छेडासम्म बोकेरै लैजाने गरेका छौँ ।” छेडासम्म पुग्न शिर कालिञ्जोरका स्थानीयवासीलाई पाँच घण्टा र तल्लो भेगका स्थानीयवासीलाई तीन घण्टासम्म लाग्ने उहाँको भनाइ छ । सडक सञ्जालले नजोडिएका कारण यस क्षेत्रमा विकास निर्माणले समेत गति लिन नसकेको स्थानीयवासीको गुनासो छ ।
बिरामी बोकेर अस्पतालसम्म पु¥याउनकै लागि वडा कार्यालयले साबिक नारायणखोला गाविसको नौ वटा वडामा एक–एक थान र मोटरदोभानमा रहेको स्वास्थ्य चौकीलाई एक थान स्टेचर उपलब्ध गराएको लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार बर्खायाममा लालबन्दी–१४ र १५ का स्थानीयवासीलाई आवतजावतमा समस्या हुने गरेको छ ।
लालबन्दी–१५ को शिर कालिञ्जोर, कोरेखोप, भित्रीखोला, बाहुनीडाँडालगायतका बस्तीमा पनि यस्तै समस्या रहेको लालबन्दी– १५ का वडाध्यक्ष गोरखबहादुर बलले बताउनुभयो । उहाँका अनुसार हिउँदमा खोलैखोला बगरको बाटो गाडी सञ्चालन भए पनि बर्खामा भने आफ्नै नगरपालिकासँग सम्पर्क टुट्ने गरेको छ । यस्तै हरिवन नगरपालिका–१ मा पर्ने बेलडाँडा, वनमारा, सखुवनी तथा बागमती नगरपालिका–१ स्थित डुमाजोर शिरका स्थानीयवासी पनि बर्खायाममा यातायात सेवाबाट बञ्चित हुनुपर्ने समस्या रहेको सो क्षेत्रका स्थानीयवासीले बताएका छन् । रासस
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
