
जनस्वास्थ्य सरोकार, न्यूयोर्क । विश्वव्यापी रूपमा खोपको असमान वितरणका बारेमा संयुक्त राष्ट्रसङ्घको महासभामा कुरा उठेको छ । विशेष गरेर अफ्रिकी तथा खोपको पहुँच कम भएका देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनुपर्नेमा जोड दिएका हुन् ।
खोपको उपलब्धता सबै देशमा समान तरिकाले नभएमा विश्वमा ठूलो मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी पनि विश्व नेताहरूले दिएका छन् ।
धनी तथा शक्तिशाली र विकसित देशहरूले खोप आफूहरूमा केन्द्रित गरेको र गरिब तथा अविकसित देशहरूमा खोपको पहुँच निकै कम भएको महासभामा बोल्ने वक्ताहरूले दाबी गरेका हुन् ।
आगामी दिनमा यस बारेमा गम्भीरतापूर्वक ध्यान दिएर अहिलेको अवस्थामा सुधार ल्याउन समेत उनीहरूले माग गरेका छन् ।
नर्वेका प्रधानमन्त्री इर्ना सोल्बेर्गले भन्नुभयो, “कतिपय देशले आफ्ना अधिकांश नागरिकलाई खोप लगाएर अहिले महामारी नियन्त्रणको अवस्थामा पुगेका छन् तर कतिपय देशहरूले भने पर्याप्त खोप पाएका छैनन् । यस कारण खोपमा पहुँच नहुने देशको स्वास्थ्य प्रणाली दयनीय अवस्थामा रहेको छ । यो धेरै गम्भीर विषय हो ।”
उहाँले थप्नुभयो, “अफ्रिकी मुलुकहरूमा २० मध्ये एक जनाले मात्रै खोप पाएका छन् भने युरोपेली मुलुकहरूमा दुईमध्ये एक जनाले खोप पाएका छन्, यस्तो असमानता स्पष्ट रूपमा नराम्रो हो ।”
महासभामा दक्षिण अफ्रिका, बोट्स्वाना, अंगोला, बुर्किना फासो, लिबियालगायतका देशका नेताहरूले पनि खोपको असमान वितरणका बारेमा आवाज उठाउनु भएको थियो ।
विश्वमा आगामी वर्ष सन् २०२२ मा कोरोनाभाइरस विरुद्धको खोपको उपलब्धता समान हुने व्यवस्था गर्न पनि उनीहरूले माग गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा ७६औँ महासभा चलिरहेको छ भने विश्व नेताहरूको उल्लेख्य सहभागिता रहेको छ । एपी
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

