जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल हेमोफिलिया सोसाइटीले राष्ट्रिय जनगणना २०७८ मा पारिवारिक र व्यक्तिगत विवरण संकलनमा हेमोफिलियायुक्त व्यक्तिहरुको गणनामा विशेष ख्याल गरिदिन आग्रह गरेको छ । सोसाइटीले सजग र सचेत भएर हेमोफिलिया पहिचान हुने लक्षणका आधारमा गणना नछुटाइदिन आग्रह गरेको हो ।

राष्ट्रिय जनगणना २०७८ मा पहिलो पटक हेमोफिलिया भएका व्यक्तिको पनि गणना हुने भएको हो । राष्ट्रिय जनगणना २०७८ मा अपाङ्ता भएकाहरुको सूचिअन्तर्गत दशौं नम्बरमा हेमोफिलियाको पनि गणनाको बुँदा उल्लेख छ ।
नोभोनर्डिक्स हेमोफिलिया फाउन्डेसनको सहयोगमा सोसाइटीले राजधानीमा आयोजना गरेको मिडिया मोमिलाइजेसन फर नेशनल सेन्सस २०२१ मा सोसाइटीका उपाध्यक्ष मुकुन्दमणि घिमिरेले भन्नुभयो—‘गणकहरु आउँदा घरपरिवारमा भएका हेमोफिलिक पहिचान हुने सम्पूर्ण विवरण उपलब्ध गराइदिनुपर्छ । यसबारे सम्बन्धित व्यक्तिहरु सजग र सचेत हुनुपर्ने आवश्यकता महसुस गरेका छौं ।’
विश्व हिमोफिलिया महासंघको तथ्यांकअनुसार, प्रति ५ हजार पुरुष जन्ममा १ जना हिमोफिलिया समस्या लिएर जन्मन्छन् । नेपालमा पनि जनगणनालाई आधार मान्ने हो भने ३ हजार जति हिमोफिलियायुक्त व्यक्ति रहेको अनुमान छ । भौगोलिक विकटता, जनचेतनाको अभावका कारण पनि सबै व्यक्ति सम्पर्कमा आउन सकेका छैनन् ।
करिब २ हजार २ सय ५० जति हेमोफिलियायुक्त व्यक्तिहरु सम्पर्कबिहिन छ । हिमोफिलिया सोसाइटी नेपालमार्फत अहिलेसम्म ७ सय ५० जना हिमोफिलियायुक्त व्यक्तिको पहिचान भएको छ । त्यसमध्ये आवश्यक औषधोपचारको अभावमा पहिचान भएका व्यक्तिहरुमध्येबाट वार्षिक ३—४ जना व्यक्तिको ज्यान गइरहेको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७४ को दफा २८ को उपदफा २ मा नेपाल सरकारले अपाङ्ता भएका कारणले खानुपर्ने औषधि तथा अनुवंशीय रक्तश्राब (हिमोफिलिया) सम्बन्धि अपाङ्ता भएका व्यक्तिलाई आवश्यक पर्ने फ्याक्टर तोकिएका आधारमा निःशुल्क उपलब्ध गराइने छ भनेर स्पष्ट उल्लेख गरेकाले अपाङ्ता भित्र समेटिएका कारण यस पटकको जनगणनामा हेमोफिलियाको गणना पनि समेटिएको हो । जनगणनामा सबै हेमोफिलिक व्यक्तिको गणना हुन सकेको अवस्थामा यकिन तथ्याङ्क सार्वजनिक हुने अपेक्षा लिएको उपाध्यक्ष घिमिरेको बताउनुभयो ।

अहिले पनि हेमोफिलिया व्यक्तिहरु पहिचान हुन नसक्दा धामी झाँक्रि समक्ष जाने गरेको पाइएको छ । कतिपय पहिचान हुन नसकेर अङ्गभङ्ग भएर पनि बसिरहेका छन् । वरिष्ठ हेमाटोलोजिष्ट डा. विशेष पौडेलले भन्नुभयो—‘हेमोफिलिया मानव रक्त तत्वहरूमा कुनै एउटा फ्याक्टरको कमी भएर सिर्जना हुने अवस्था हो । रगतमा भएको फ्याक्टरको मात्रा १ प्रतिशत भन्दा कम भएमा सिभियर, १ प्रतिशत देखि ५ प्रतिशत भन्दा कम भएमा माइल्ड र ५ प्रतिशत भन्दा माथि भएमा न्यून हिमोफिलिया भनिन्छ ।’
घाउ, चोट, ठक्कर आदिका कारण मात्र नभई आफसे आफ आन्तरिक रक्तश्राव भइरहने र अत्यधिक पीडा हुने, पटक—पटकको रक्तश्रावका कारण जोर्नी वा मांशपेसीहरू सुन्निने र रक्तश्रावका कारण जोर्नीहरू बिग्रने, जोर्नीहरू बिग्रिएपछि नजिकका मांशपेशीहरू सुक्दै जाने र अन्ततः गम्भीर अपाङ्ता सृजना हुन्छ । हिमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटी भएको वंशाणुगत समस्या हो । सामान्य मानिसको शरीरमा घाउचोट लाग्दा बगेको रगत जमाउने तत्व हुन्छ, जसले सामान्य चोटपटक लाग्दा धेरै रक्तस्राव हुन दिँदैन । रगत जमाउने यो प्रक्रियालाई ‘क्लटिङ फ्याक्टर’ भनिन्छ । तर, हिमोफिलियायुक्त व्यक्तिमा भने क्लटिङ फ्याक्टर कम मात्रामा हुन्छ । यसले सामान्य चोटपटकमा पनि लामो समयसम्म रक्तश्राब भइरहन्छ । ‘फ्याक्टर आठ’ कमी हुनेलाई हिमोफिलिया ‘ए’ र ‘फ्याक्टर नौ’ कमी हुनेलाई हिमोफिलिया ‘बी’ हुन्छ । रक्तस्राव भएको स्थानका रक्तनलीहरूमा संकुचन, प्लेटलेट प्लागको निर्माण, छालामा फाइब्रिन जालोको निर्माण गरी शरीरले रक्तस्राव रोक्छ । तर, हिमोफिलियायुक्त व्यक्तिमा फ्याक्टर आठ वा फ्याक्टर नौ को मात्रा रगतमा कम हुने भएकाले छिटै फाइब्रिन जालोको निर्माण हुन सक्दैन र रक्तस्राव धेरै समयसम्म जारी रहन्छ र थप जटिलता सृजना हुने डा. पौडेलले स्पष्ट पार्नुभयो ।

हिमोफिलियाका कारण समय–समयमा सिर्जना हुने पीडालाई प्रसवपीडा भन्दा पनि बढी हुन्छ भनी उल्लेख गर्ने गरिन्छ । प्रसव वेदनाबाट एउटी नारी बढीमा ३—४ पटक पीडित हुनुपर्ला । तर एउटा हिमोफिलियायुक्त व्यक्तिले जीवनभर रक्तश्रावको घटनासँगै प्रताडित भइरहनुपर्छ ।
बच्चाहरु बामे सर्दै गर्दा शरीरमा निलडामहरु देखिने, दाँत साटिदा रक्तश्राब भइरहने, बेलाबेलामा जोर्नी तथा मांशपेशीहरु सुन्निने र अत्यधिक पीडा हुने, दिसा पिसाबमा रगत देखापर्ने अदि हिमोफिलियाका लक्षण हुन् ।
रगतमा १३ वटा प्रोटिनयुक्त तत्व (फ्याक्टर) हुन्छन । विशेषगरी रगतमा फ्याक्टर ८ (एट) र ९ (नाइन) डिफिसेन्सी भएको अवस्थामा हेमोफिलिया हुने गर्छ । तर कहिलेकाहीँ फ्याक्टर १० (टेन), ५ (फाइभ), ३ (थ्री), (२) डिफिसेन्सी भएका बिरामीहरु पनि फाट्टफुट्ट आउने गर्छन् । तर यो निकै न्यून हुन्छ । विकसित देशमा भएका औषधि कम्पनीहरुले मात्र फ्याक्टर ८ र ९ का लागि एन्टीहिमोफिलिक फ्याक्टर औषधि उत्पादन गरेका छन् । यस्ता फ्याक्टर अधिक महँगा छन् । हेमोफिलिया रोगको औषधि जीवन रहेसम्म लिनुपर्छ ।
यस्ता औषधि किन्न सर्वसाधारण व्यक्तिको आर्थिक पहुँचभन्दा बाहिर छ । औषधिमा लगानी गर्ने राज्यको बजेटमा यस्ता औषधि पनि खरिद हुनुपर्छ अनि मात्र हेमाफिलिया भएका व्यक्ति पर्याप्त औषधि पाई स्वस्थ एवं सुरक्षित महसुस गर्न सक्छन् । उनीहरुको बाँच्ने अधिकारको सुनिश्चित गरिनुपर्छ । व्यक्तिका लागि औषधि किन्ने कार्य असम्भव प्राय भए पनि राज्यको सानो लगानीले हिमोफिलियायुक्त व्यक्तिहरु बाँच्न पाउँछन् । गम्भीर शारीरिक अपाङ्तामा पनि कमी आउने बीर अस्पतालका हेमाटोलोजिष्ट डा. निरज कुमार सिंहले स्पष्ट पार्नुभयो ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तर्जुमा गरेको अपाङ्गता व्यवस्थापन (रोकथाम, उपचार तथा पुनस्र्थापना) नीति रणनीति तथा दश वर्षे कार्ययोजना (२०७३—२०८२) मा औषधोपचार कार्ययोजनाअन्तर्गत हिमोफिलियायुक्त व्यक्तिहरुले नियमित रुपमा लिनुपर्ने औषधि, शल्यक्रिया र उपचार निःशुल्क रुपमा उपलब्ध गराइने स्पष्ट रुपमा उल्लेख छ । सो अवसरमा राष्ट्रिय अपांग महासंघका महासचिव राजु बस्नेतले यस वर्ष हुन लागेको राष्ट्रिय जनणना २०७८ मा हेमोफिलियाहरुको सही तथ्यांक आउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनगणना,२०७८ मा मुलुकभर रहेका हेमाफिलिकको वास्तविक तथ्याङ्क समेटिनु पर्ने माग नेपाल हेमोलिफिलिया सोसाईटीले गरेको सोसाइटीका महासचिव दिपक न्यौपानेले जानकारी गरानुभयो । ‘केन्द्रीय तथ्यांक विभागले पनि यसबारेमा गणक एवं सुपरिवेक्षकहरुलाई आवश्यक तालिम उपलब्धता एवं सजगता गराउन माग गर्दछौं’—उहाँले भन्नुभयो ।
नेपाल सरकार (मन्त्रिपरिषद) ले पूर्व स्थगित राष्ट्रिय जनगणना २०७८ को कार्यक्रम शुरु गरेको छ । आगामी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मूल गणना कार्य हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । जनगणनामा प्रत्येक व्यक्ति वा घरपरिवारबाट विवरण संकलन गर्न प्रयोग गरिने ‘घर तथा परिवार सूचिकरण र मुख्य प्रश्नावली’ प्रकाशन भइसकेको छ ।
तथ्याङ्क संकलन कार्यका लागि गणक तथा सुपरिवेक्षकलाई प्रत्येक घर परिवारमा परिचालन गरिंदैछ । गणक एवं सुपरिवेक्षक भर्ना प्रक्रियामा स्थानीयलाई प्राथमिकता दिइएको छ । पहिलो प्रश्नावली सुपरिवेक्षक र दोस्रो प्रश्नावली गणकद्धारा संकलन गरिने छ । गणकद्धारा प्रत्येक घर परिवारमा पुगी मुख्य प्रश्नावली मार्फत पारिवारिक विवरण र व्यक्तिगत विवरणहरु संकलन गरिने छ । व्यक्तिगत विवरण अन्तर्गत अपाङ्ताको पनि विवरण पनि संकलन गरिन्छ ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
