नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालको स्नायु तथा मस्तिष्क रोग उपचार क्षेत्रमा परिचित नाममध्ये एक वरिष्ठ न्युरोलोजिस्ट डा. घनश्याम खरेल अब धुम्वाराहीस्थित ह्याम्स अस्पताल (हस्पिटल फर एडभान्सड मेडिसिन एण्ड सर्जरी) मा वरिष्ठ कन्सल्टेन्ट न्युरोलोजिस्टका रूपमा आबद्ध हुनुभएको छ। उहाँको आगमनसँगै ह्याम्सले न्युरोलोजी सेवालाई अझ सुदृढ, विशेषज्ञतामूलक र आधुनिक बनाउने लक्ष्य अघि सारेको छ।
डा. खरेल लामो समयदेखि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा कार्यरत रहँदै स्नायु प्रणालीसम्बन्धी जटिल रोगहरूको उपचार, स्ट्रोक व्यवस्थापन, छारेरोग, पार्किन्सन्स, टाउको दुखाइ, स्नायु कमजोर हुने रोग तथा अन्य न्युरोलोजिकल समस्याको उपचारमा सक्रिय रहँदै आउनुभएको थियो। उहाँ एमडी, डीएम (न्युरोलोजी) विशेषज्ञ हुनुहुन्छ र नेपालमा अनुभवी न्युरोलोजिस्टका रूपमा परिचित हुनुहुन्छ।
नेपालमा पछिल्ला वर्षहरूमा स्ट्रोक, पार्किन्सन्स, डिमेन्सिया, छारेरोग तथा अन्य स्नायु रोगका बिरामीको संख्या बढ्दै गएको अवस्थामा अनुभवी विशेषज्ञहरूको उपलब्धता स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण विषय बन्दै गएको छ। यस्तो समयमा डा. खरेलजस्ता वरिष्ठ विशेषज्ञको ह्याम्समा आबद्धता एउटा चिकित्सकको स्थानान्तरण मात्र नभई अस्पतालको विशेषज्ञ सेवा विस्तारको संकेतका रूपमा पनि हेरिएको छ।
ह्याम्स अस्पतालले सार्वजनिक गरेको स्वागत सन्देशमा डा.खरेलको अनुभव र विशेषज्ञताले अस्पतालको न्युरोलोजी विभागलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ। अस्पतालले मस्तिष्क तथा स्नायु रोगको गुणस्तरीय उपचारलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धतासमेत जनाएको छ।
स्वास्थ्य क्षेत्रमा विशेषज्ञ चिकित्सकहरूको आवागमनले बिरामीलाई सेवा छनोटको दायरा फराकिलो बनाउने मात्र नभई अस्पतालहरूबीच गुणस्तरीय सेवा र अत्याधुनिक उपचार प्रणाली विकास गर्ने सकारात्मक प्रतिस्पर्धालाई पनि प्रोत्साहन गर्ने विश्वास गरिएको छ।
न्युरोलोजी सेवा नेपालमा अझै पनि सीमित विशेषज्ञ जनशक्तिमा निर्भर रहेको अवस्था छ। त्यसैले अनुभव, क्लिनिकल दक्षता र अनुसन्धानमा सक्रिय चिकित्सकहरू नयाँ संस्थामा आबद्ध हुँदा त्यसको प्रत्यक्ष लाभ बिरामीले पाउने अपेक्षा गरिन्छ।
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार, डा.घनश्याम खरेलको ह्याम्स अस्पतालमा आगमनले अस्पतालको न्युरोलोजी सेवा अझ मजबुत बन्ने मात्र होइन, जटिल स्नायु रोगका बिरामीलाई एकै स्थानबाट उच्चस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउन पनि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
युवाको आवाज समेटेर जनसांख्यिकीय नीति बनाउन सरकार–युएनएफपिएको जोड
शुक्रबार, साउन १, २०८३



