नेभिगेशन

अब खोप लगाउन पालो कुर्नु पर्दैन : स्वास्थ्यमन्त्री खतिवडा

जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताउनुभएको छ । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुसँगको संयुक्त रुपमा अनुगमनका क्रममा उहाँले खोपको अभाव नरहेकाले जुनसुकै खोप केन्द्रमा गई सर्वसाधारणले खोप लगाउन सक्ने बताउनुभयो । 

“अव कहाँ, कुन बार, कुन दिन खोप लगाउन पाइन्छ भनेर कुर्नु पर्दैन ” मन्त्री खतिवडाले भन्नुभयो, “सर्वसाधारणले आफूलाई पायक पर्ने खोप केन्द्रमा गई जुनसुकै बेला पनि खोप लगाउन सक्छन् ।” 

उहाँका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्पताल र नेपाल पुलिसको अस्पतालमा २४ सै घण्टा सर्वसाधारणलाई खोपको व्यवस्था गरिएको छ ।  

मन्त्री खतिवडाले केही दिनपछि जिल्लामा पनि जुनसुकै बेला सर्वसाधारणले खोप लगाउन सक्ने गरी व्यवस्थापन गर्न लागिएको जानकारी दिनुभयो । 

उहाँले फाइजर खोपबाट देखिने प्रभावलाई न्यूनीकरण गर्न पहिलो चरणमा १२ वर्षदेखि माथिको उमेर समूहका दीर्घरोगीलाई खोप प्रदान गरिएको बताउनुभयो । 

“खोपले के कस्तो प्रभाव पार्छ भनेर हामीले जनशक्तिलाई प्रशिक्षित गर्न पहिलो चरणमा दीर्घरोगीलाई खोप लगाउन थालेका हौँ” उहाँले भन्नुभयो । 

मन्त्री खतिवडाले एक महिनापछि १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप प्रदान गरिने बताउनुभयो । सरकारले ६० लाख फाइजर खोप ल्याउन अन्तिम तयारी गरेको छ । 

उहाँले कोरोना भाइरस विरुद्धको खोप शतप्रतिशत जनतासम्म पुर्‍याउने बताउनुभयो । मन्त्री खतिवडाले कोरोना भाइरसको महामारीका बेला काम गरेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराइने बताउनुभयो । “अर्थ मन्त्रालयसँग रकम माग गरेका छौँ”, उहाँले भन्नुभयो ।  

मन्त्री खतिवडाले कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकालगायत छिमेकी मुलुकसँग सँगसँगै अगाडि बढ्ने बताउनुभयो । स्वास्थ्य बीमालाई सहज बनाइने उहाँको भनाइ थियो । 

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपाललाई कोरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकी सरकारले सुरुदेखि नै साथ दिएको बताउनुभयो । 

उहाँले कोभ्याक्समार्फत नेपाललाई फेरि खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा उहाँहरूले अस्पतालमा खोप लगाएको अवस्थाको अनुगमन समेत गर्नुभएको थियो । 

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेल, नेपालस्थित अमेरिकी राजदूत र्याण्डी बेरी लगायतको उपस्थित थियो । 

फाइजर खोपको पहिलो मात्रा लगाउने अभियान यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म देशभरका २४ अस्पतालबाट सञ्चालन भइरहेको छ । 

अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको हो । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट