
डा.चन्द्रमणि अधिकारी विगत दुई वर्षदेखि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक हुनुहुन्छ । भारतबाट इन्टरभेन्सनल कार्डियोलोजी (एन्जिओप्लाष्टी) मा तालिम सकेपछि केन्द्रमा १५ वर्षदेखि निरन्तर बिरामीको सेवामा समर्पित हुनुहुन्छ उहाँ । डा.अधिकारीले नेपाल सरकारको छात्रबृत्तिमा सन् २००३ मा चीनको सनयात्सेन युनिभर्सिटीबाट एमबीबीएस पूरा गर्नुभएको थियो । चीन सरकारले प्रदान गरेको छात्रबृत्तिमा सन् २००६ मा सोही युनिभर्सिटीबाट उहाँले कार्डियोलोजीमा एमडी गर्नुभयो । हालै डा. अधिकारीलाई मृगेन्द्र सम्झना मेडिकल ट्रष्टबाट योङ इन्भेष्टिगेसन अवार्ग प्रदान गरिएको छ । आउनुस् जानौं डा. अधिकारीको करियर कथा उहाँको आफ्नै शव्दमा ।
संघर्ष
शुरुका दिनमा कतिपय मान्छेहरुले ‘यो डाक्टर हो’ भनेर पत्याउँदैन थे । बीचमा निकै मिहिनेत गर्नुपर्यो र धेरै सिकियो पनि ।
आत्मविश्वास
पाँच वर्ष अगाडि केन्द्रमा आमाको सफल एन्जिओप्लाष्टी गरेको थिएँ । त्यसपछि आत्मविश्वास बढ्दै गयो । हाल धेरैको मुटुको सफल एन्जिओप्लाष्टि र एन्जिओग्राफी गरिरहेको छु । एन्जिओप्लाष्टि गर्न शुरु गरेको सन् २०१४ देखि हो जुनबेला मुलुकमा धेरै एन्जिओप्लाष्टि हुँदैनथ्यो । म लगायत मेरो टिमले एक दिनमा ५० वटासम्म एन्जिओप्लाष्टि, एन्जिओग्राम, डिभाइस क्लोजर, पिटिएमसीलगायतका प्रोस्युजरहरु गरेको छ । हाल हृदयघात भएका व्यक्तिहरुको प्रति महिना २ सयभन्दा बढीको एन्जिओप्लाष्टि गर्दछौं । केन्द्रमा प्रतिदिन ६—७ वटा ओपन हार्ट सर्जरी हुने गर्छ ।
हरेक महिना केन्द्रमा करिब १२ देखि १३ हजार बिरामी मुटु जाँच गराउन आउँछन् । आकस्मिक सेवा लिनेहरुको संख्या प्रति महिना १८ सयको हाराहारीमा छ । त्यसमा अधिकांश हृदयघातका बिरामी रहेका छन् । साथै मुटु फेलियर, मुटुको चालमा गडबडी, उच्चरक्तचापका बिरामीहरु पनि आकस्मिक सेवा लिन आइपुग्छन् ।
व्यवस्थापन
म काठमाडौंभित्र प्राइभेट प्राक्टिस गर्दिनँ । केन्द्रमा मात्र काम गर्ने भएकाले बिहानदेखि बेलुकासम्म कार्यालयको काम क्वार्टरमा बसेर पनि गरिरहेको हुन्छु ।

रुचि
कहिलेकाँही केन्द्र क्वार्टर, क्वार्टर केन्द्र गर्दा पट्यार त लाग्दैन भन्ने प्रश्न पनि आउने गर्छ । तर काममा रमाउन खोज्यो भने त्यस्तो अनुभव हुने रहेनछ । मलाई त बिहानदेखि बेलुकासम्म अप्रेसन गरिरहन पाएहुन्थ्यो जस्तो लाग्छ । क्याथल्याबमा बिरामीको उपचार गर्न निकै मजा आउँछ जुन ठाउँमा एन्जिओग्राम, एन्जिओप्लाष्टि एएसडी डिभाइस क्लोजर गरिन्छ । बेलुका ७—८ बजेसम्म काम गर्न पनि पछि हट्दिन । यो मेरो रुचि हो ।
तारिफको ओइरो
केही वर्षअघि ४८ घण्टाभित्र ५५ जनाको छाति नचिरी मुटुको प्वाल टाल्ने विधि एएसडी डिभाइस क्लोजर गर्न हाम्रो टिम सफल भएको थियो । त्यो बेला एकजना चर्चित भारतीय विज्ञ आउनुभएको थियो । अहिले पनि विदेशमा हुने डिभाइस क्लोजरसम्बन्धि कुनै सम्मेलनमा जाँदा यसको धेरै तारिफ हुने गर्छ । अहिले केन्द्रमा वर्षमा ४ सयदेखि ५ सयसम्मको हाराहारीमा डिभाइस क्लोजरसम्बन्धि शल्यक्रिया हुने गर्छ ।
दक्षिण एसियामा यति धेरै डिभाइस क्लोजरसम्बन्धि शल्यक्रिया हुने भारतमा एक दुई ठाउँमा मात्र छ । १५ वर्ष मुनिका सबै नेपालीलाई निःशुल्क छ । यो संसारकै सबैभन्दा सस्तोमा सेवा उपलब्ध गराइएको छ ।
महसुस
बढ्दो मुटुसम्बन्धि समस्या रोकथाममा हाम्रो काम गराइ कम हो कि भन्ने लाग्छ । हाम्रो सिस्टमले पनि नयाँ तरिकाले सोच्नुपर्ने अवस्था छ । विद्यालय, कलेज अध्ययन गर्ने विद्यार्थीलगायत सबैलाई ‘चुरोट खैनि सेवन गर्न हुँदैन, शारीरिक अभ्यास गर्नुपर्ने’ जस्ता कुरा थाहा छ । तर धेरैले यसलाई आफ्नो जीवनसँग मिलाउन सकिरहेका छैनन् ।

कोरोना कालमा दोब्बर
हृदयघात भएर आएका बिरामीहरुलाई प्राइमरी एन्जिओप्लाष्टि गरी शत्प्रतिशत बन्द भएको मुटुको नसा खोलिन्छ । यो आकस्मिक शल्यक्रियामा पर्छ । यो सेवा कोरोनाकालमा पनि कहिल्यै रोकेनौं ।
विगतको तुलनामा कोरोनाकालमा दोब्बर बिरामी बढेका छन् । विगतमा ३० जनाको हाराहारीमा हुने प्राइमरी एन्जिओप्लाष्टि कोरोनाकालमा ४० देखि ६० वटासम्म भइरहेको छ ।
सहजीकरण
केन्द्रमा अनलाइनबाट टिकट बुकिङ गर्ने सिस्टम छ । अनलाइन टिकटिङ सिस्टममा अघिल्लो दिनमा नै टिकट बुकिङ गर्न सकिन्छ । टिकट बुकिङ गरेका बिरामीहरु समयमा आइदिदैनन् ।
आत्मनिर्भरताको कुरा
केन्द्रलाई भवन, इन्फाइस्ट्रक्चरका लागि पूँजीगत अनुदान नेपाल सरकारले उपलब्ध गराउँछ । सरकारले १५ वर्ष मुनिका बालबालिका र ७५ वर्ष माथिका बृद्धबृद्धा र मुटुको भल्भको सर्जरी निःशुल्क गरेको छ । विपन्न वर्गलाई दिएको सुविधालगायतको रकम सरकारले व्यहोर्छ । तर कर्मचारीको तलब भत्ता आफैं कमाउँछौं । केन्द्रको ओपिडीमा आइपुगेका कुनै पनि बिरामी फर्केर जानुपर्दैन ।
चिकित्सा सेवाको चक्र
परिवारमा म एक्लो मेडिकल डाक्टर हो । मेरो धेरै महत्वकांक्षा छैन । ओपिडी हेर्ने, क्याथमा काम गर्ने र अनुसन्धानमा धेरै समय बित्छ । अहिले कार्यकारी निर्देशक भएकाले कार्यालयको काममा पनि व्यस्त हुनुपर्छ । शल्यक्रिया गर्दा कम्लिकेसन भएर सोचेजस्तो प्रतिफल नआउँदा निराश लाग्छ । तर यस्ता कुराहरु बिर्सदै पुनः बिरामीहरुको सेवामा समर्पित हुनुपर्ने रहेछ । यसरी नै चिकित्साको सेवाको चक्र चलिरहेको हुन्छ ।
अब्बल डाक्टर बन्ने आधार
सम्बन्धित विधामा ज्ञानको जरुरत पर्छ । बिरामीको मर्का र पीडा राम्रोसँग सुनिदिनुपर्छ । समय दिएर बिरामीको रोग पहिचान गर्नुपर्छ । बिरामीबाट फाइदा लिने चेष्टा गर्न हुँदैन ।
म बिरामी भएर कुनै एउटा डाक्टरकोमा जाँदा ‘त्यो डाक्टरले मलाई जसरी उपचार गरोस् भन्ने चाहन्छु’ त्यसरी नै एउटा बिरामीलाई उपचार गर्न सकेमा सफल डाक्टर बन्न त्यति नै काफी हुन्छ ।
चाहना
जन्म पछिको अर्को सत्य मृत्यु हो । डाक्टरको काम आयुलाई लम्व्याउने र रोगको छटपटीलाई कम गराउने हो । आगामी दिनहरुमा नेपालमा नभएका मुटु रोगको उपचार प्रविधि शुरु गर्ने चाहना छ । आफूले सिकेका सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जाने अभियानमा छु । भविष्यको कल्पना गर्दिन तर वर्तमानमा रमाएर सेवा उपलब्ध गराइरहेको छु । अहिले ४४ वर्षको भएँ । २०७६ साल पुस ९ गते कार्यकारी निर्देशक भएको हो । कोरोनाको विषम परिस्थितिलाई छिचोल्न सफल भएका छौं ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

