जनस्वास्थ्य सरोकार, काठमाडौँ । तीब्र संक्रामक र घातक मानिएको ‘ओमिक्रोन भेरिएन्ट’ भारतमा फेला परेपछि नेपाल पनि उच्च जोखिममा परेको छ । मुलुकको खुला सिमाका कारण यो कोरानाको घातक भेरियन्टले हाम्रो देशमा पनि त्रास बढाएको हो ।
ओमिक्रोन’ पहिलोपटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । बोट्स्वाना, बेल्जियम, हङकङ, इजरायल, जर्मनी, क्यानडा, रुस, अमेरिका र अन्य युरोपियन देशहरूमा यो भाइरस फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको यो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ युरोप र अमेरिकामा तीव्र फैलिँदै गइरहेको जनाएको छ । हालसम्मकै छिटो फैलिने अनुमान गरिएको यो नयाँ भेरियन्टले पुनः महामारीको रूप लिने डब्लुएचओले संकेत गरेको छ । छोटो समयमा तीव्र फैलिइरहेको नयाँ भेरियन्ट उच्च संक्रामक रहेको डब्लुएचओले उल्लेख गरेको छ ।

अफ्रिका, युरोप र अमेरिकामा गम्भीर संक्रमित र मृत्युदर बढाइरहेको ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्ट वर्गसँग सम्बन्धित रहेको स्वास्थ्य विज्ञहरू बताएका छन् ।
नयाँ भेरिएन्ट देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय हवाइ उडानको समीक्षा गर्न र नियन्त्रणका लागि कडाइ गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि पुनः हवाइ उडानमा कडाइ गर्नुपर्ने बताएका छन् ।
यो नयाँ भेरिएन्ट संक्रमण भएमा हाल प्रचलनमा रहेका कोरोना विरुद्धका खोपले समेत काम नगर्ने बताएपनि यसबारे थप अनुसन्धान भइरहेको छ । यो भेरियन्ट तीव्र फैलिन थालेपछि संक्रमण भेटिएका स्थानमा आवतजावत गर्न विभिन्न देशले प्रतिबन्ध लगाउन थालेका छन् । दक्षिण अफ्रिकामा नयाँ भेरियन्टमा खोज अनुसन्धान पूर्ण नहुन्जेलसम्म अमेरिका, क्यानडा, रसिया र अन्य युरोपियन देशहरूले आवतजावतमा प्रतिबन्ध लगाएका छन् । अस्ट्रेलियाले शनिबारदेखि दक्षिण अफ्रिकालगायतका आठ देशमा १४ दिनसम्म आवतजावतमा रोक लगाएको छ । जापानले शनिबारदेखि संक्रमण फैलिएका देशबाट आएकालाई १० दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको छ ।
भारतले अमेरिका, युरोप र अफ्रिकाबाट आउने यात्रुमा स्क्रिनिङ र परीक्षणको दायरा बढाएको छ । क्यानडाले पछिल्लो १४ दिनमा दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्बे, बोत्सवाना, लेसोथो, इस्वाटिनी वा मोजाम्बिक हुँदै यात्रा गरेका सबै विदेशी नागरिकलाई प्रतिबन्ध लगाएको छ ।
विगतमा डेल्टा भेरियन्टले पनि निकै दुःख दिएको थियो । स्पाइक प्रोटिन (भाइरसको बाहिरको चुच्चो) लाई टार्गेट गरेर खोप बनाइएको छ । चीन र भारतको कोभ्याक्सिनबाहेक अन्य नेपालमा प्रयोग भएका खोप स्पाइक प्रोटिनलाई टार्गेट गरेर बनाइएको हो । यसले अत्यधिक मात्रामा स्वरूप परिवर्तन गर्दा हामीसँग उपलब्ध भएका खोपहरूलाई चुनौती दिन सक्छ । सामान्य रूपमा फैलियो भने डराउनुपर्दैन, तर तीव्र रूपमा फैलाउन थालेको भए फेरि सचेत हुने अवस्था आएको सरुवा रोग विज्ञ शेरबहादुर पुन बताउनुहुन्छ ।
कोभिडबाट हालसम्म विश्वभर ५० लाखभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसैले नयाँ भेरियन्टप्रति सचेत रहन आग्रह गरिएको छ । भेरियन्ट उच्च संक्रामक र पहिले संक्रमित भइसकेका व्यक्तिमा बढी जोखिम देखिएको भन्दै भेरियन्टबारे पर्याप्त अध्ययन नहुन्जेलसम्म सचेत रहन डब्लुएचओले चेतावनी दिएको छ । तर, नयाँ भेरियन्टले गम्भीर समस्या निम्त्याउने विषयमा हालसम्म कुनै प्रमाण भने फेला परेको छैन । अफ्रिकी वैज्ञानिकहरूले कतिपय संक्रमितमा कुनै पनि लक्षण नदेखिएको समेत बताएका छन् ।
चार दिनको अवधिमा अफ्रिका, अमेरिका र युरोपका अधिकांश देशमा फैलिइसकेका कारण नयाँ भेरियन्टको प्रकृति पहिचानमा जटिलता थपिँदै गएको विज्ञहरूले बताएका छन् । डब्लुएचओले एकपटक कोभिड संक्रमण भएका व्यक्तिमा ओमिक्रोनले बढी प्रभावित गर्न सक्ने जनाएको छ । यदि हाल प्रयोगमा आइरहेका भ्याक्सिन कम प्रभावकारी देखिएमा भेरियन्टको जोखिमबारे जान्न हप्तौँ लाग्न सक्नेसमेत डब्लुएचओले जनाएको छ । अध्ययनअनुसार ओमिक्रोन भेरियन्ट भाइरसको सतहको स्पाइक प्रोटिनमा ३० भन्दा बढी म्युटेसन भएको पाइएको छ । जब कि स्पाइक प्रोटिनहरूले शरीरको प्रतिरक्षालाई कमजोर बनाउने गर्छन् । भेरियन्टमा भएका मल्टिपल म्युटेसनका कारण कोभिडविरुद्धको भ्याक्सिनले समेत कम गर्न नसक्ने अनुमान गरिएको छ । जुन हालसम्मै सिभियर भेरियन्ट हुन सक्ने विज्ञहरूको अनुमान छ ।
नेपालले सबै देशमा आवतजावत खुला गरेकाले हाल अफ्रिकामा देखिएको नयाँ स्वरूपको ‘ओमिक्रोन’ भाइरस नेपालमा पनि सहजै प्रवेश गर्न सक्ने स्वास्थ्य अधिकारीहरू बताउँछन् । कार्यालयहरू सञ्चालनमा आएको, सामाजिक दूरी कायम नभएको, भिडभाड बढ्न थालेकाले नयाँ भाइरसको फैलन सक्ने चिकित्सकहरूको भनाइ छ ।
बेलायतले कोरोना संक्रमण धेरै भएका विभिन्न ६ वटा देशलाई रातोसूचीमा राखेको छ । दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्सवाना, लेसोथो र इस्वातिनीलाई प्रतिबन्ध लगाएको हो । ती देशमा अस्थायी रूपमा उडानमा प्रतिबन्ध लगाएको हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीका अनुसार, नेपालमा ओमिक्रोन भेरिएन्ट पुष्टि भए दुःख दिन सक्छ । अधिकारीले भन्नुभयो— ‘हामीले नयाँ भेरिएन्ट पत्ता लगाउन निरन्तर जिन सिक्वेन्सिङ गरिरहेका छौँ । केही केन्द्रीय प्रयोगशाला र केही विश्व स्वास्थ्य संगठनको पहलमा बेलायत पठाएका छौँ,’ । विश्वव्यापी रूपमा भाइरसहरूले आफ्नो स्वरूप परिवर्तन गर्दै गइरहेको अवस्थामा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म डेल्टा प्लस, अल्फा, डेल्टा र कप्पा भेरिएन्ट पुष्टि भएको छ । नेपालमा डेल्टा भेरिएन्टले दोस्रो महामारी ल्याएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले जिन सिक्वेन्सिङको प्रोसेसमा रहेको बताउनुभयो । जिन सिक्वेन्सिङ गर्न एक सय ५० नमुना बेलायतमा पठाइएको छ ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
