
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिडविरुद्धका खोपहरूले नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।
दक्षिण अफ्रिकामा गरिएको पहिलो प्रयोगशाला परीक्षणमा नयाँ भेरियन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न सक्ने देखिएको विवरणपछि डब्ल्यूएचओले यस्तो भनेको हो।
तर ओमिक्रोन भेरिअन्टमा खोपको असर अन्य भेरियन्टको तुलनामा कम हुने कुनै सङ्केत नदेखिएको डब्ल्यूएचओका आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले बताउनुभएको छ ।
उहाँले समाचार संस्था एएफपीलाई भन्नुभयो-'हामीसँग अत्यधिक प्रभावकारी खोपहरू छन् जुन गम्भीर रोग र अस्पताल पुर्याउने सन्दर्भमा हालसम्मका सबै भेरिअन्टविरुद्ध प्रभावकारी देखिएका छन् र (ओमिक्रोन विरुद्ध) त्यस्तो नहुने आशा गर्नुपर्ने कुनै कारण छैन ।'
प्रारम्भिक तथ्याङ्क अनुसार ओमिक्रोनले मानिसहरूलाई डेल्टा भेरिअन्ट वा अन्य स्ट्रेन भन्दा बढी बिरामी नपार्ने देखिएको उहाँको भनाई छ ।
'यदि अरू केही भन्न सकिन्छ भने खोपले कम गम्भीर बनाउने चाहिँ पक्का हो'-उहाँले भन्नुभयो ।
अरू विज्ञहरूले समीक्षा नगरेको दक्षिण अफ्रिकामा गरिएको अध्ययनका अनुसार फाइजर खोप कोभिडको सुरुवाती स्ट्रेनसँग तुलना गर्दा ओमिक्रोनविरुद्ध ४० गुणा कम प्रभावकारी हुन सक्छ।
ओमिक्रोन भेरिअन्टविरुद्ध फाइजर खोपको प्रभावकारिताबारे थप तथ्याङ्क आगामी दिनहरूमा प्राप्त हुने अपेक्षा गरिएको छ।
नयाँ भेरिअन्ट विरुद्ध मोडेर्ना, जोन्सन एन्ड जोन्सन र अन्य खोपहरूले कस्तो काम गर्न सक्छन् भन्ने विषय बारे उल्लेख्य डेटा प्राप्त भइसकेको छैन।
ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकार मध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरिअन्ट हो। सुरुमा यो भेरिअन्ट दक्षिण अफ्रिकामा पुष्टि भएको थियो जहाँ हाल धेरै पटक कोभिडबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या बढ्दो क्रममा छ।
यूकेका प्रधानमन्त्री बोरिस जोनसनका एक जना प्रवक्ताका अनुसार प्रारम्भिक सङ्केत अनुसार ओमिक्रोन डेल्टा भेरिअन्टभन्दा धेरै सङ्क्रामक छ।
तर यो भेरिअन्टले मानिसहरूमा कत्तिको गम्भीर प्रभाव पार्न सक्छ भन्ने विषय भने अझै स्पष्ट छैन।
अमेरिकामा वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीका अनुसार प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोन निकै सङ्क्रामक हुनसक्ने तर यसले मानिसहरूलाई तुलनात्मक रूपमा धेरै गम्भीर अवस्थामा भने नपुर्याएको देखिएको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार सन् २०२० मा महामारी सुरु भएयता विश्वभर ५० लाखभन्दा बढीले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन्। बीबीसीबाट
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

