नेभिगेशन

सीटीईभीटीद्धारा यी १५ कलेजका पीसीएल नर्सिङमा भर्ना स्थगन

जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभीटी) ले नर्सिङ कार्यक्रम प्रमाणपत्र तहका भर्ना खुलाइएका शिक्षण संस्थाको भर्ना प्रक्रिया स्थगन गरेको छ । सीटीईभीटीले २०७८र०७९ का लागि भर्ना आह्वान गर्दा प्रक्रिया पुरा नभएको भन्दै १५ वटा शिक्षण संस्थाको भर्ना प्रक्रिया स्थगन गरेको हो ।

सीटीईभीटीले अर्को सुचना नआएसम्मका लागि विद्यार्थी भर्ना नगर्न समेत सम्बन्धित शिक्षण संस्थाहरुलाई सुचित गरेको छ । राष्ट्रिय चिकित्सा ऐन २०७५ को दफा ४२ का साथै चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णयको प्रतिकुल हुन आएकोले सम्बन्धित कलेजहरुलाई भर्ना प्रक्रिया रद्द गरेको जनाएको छ ।

भर्ना प्रक्रिया स्थगन भएका शिक्षण संस्थामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि मोरङ, नेसनल मेडिकल कलेज पर्सा, बी एन्ड बी नर्सिङ कलेज ललितपुर, नागरिक कम्युनिटी टिचिङ हस्पिटल भक्तपुर, एनपीआई नारायणी सामुदायिक हस्पिटल चितवन छन्।

यस्तै कलेज अफ मेडिकल साइन्स चितवन, अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्स (अल्का हस्पिटल), ललितपुर, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौं, काठमाडौं मोडेल हस्पिटल, स्कुल अफ नर्सिङ काठमाडौंको पनि भर्ना प्रक्रिया स्थगित भएको छ।

यसैगरी मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स ललितपुर, ओम हेल्थ क्याम्पस काठमाडौं, मणिपाल कलेज अफ मेडिकल साइन्स कास्की, लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पताल पाल्पा, देवदह मेडिकल कलेज एन्ड रिसर्च सेन्टर रूपन्देही र नेपालगञ्ज नर्सिङ क्याम्पस कोहलपुर बाँके गरी १५ वटा कलेजमा भर्ना प्रक्रिया स्थगन गरेको हो।

यसका साथै परिषद्ले वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रममा १५ वटा शिक्षण संस्थाले परीक्षार्थीलाई प्राथमिकीकरण गरेको भएमा उक्त शिक्षण संस्था हटाई सोपछिको शिक्षण संस्थालाई आधार मानी छनोट गरी भर्नाका लागि सिफारिस गरिने सूचनामा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट