जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय मै खोप केन्द्र राखेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।

हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट विद्यार्थीलाई खोप लगाउने कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको हो । उक्त विद्यालय मन्त्री खतिवडा आफैँले अध्ययन गरेको विद्यालय हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले खोप अभियानबाट कोही पनि नेपाली बञ्चित हुनुनपर्ने बताएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम विडारीले जानकारी दिनुभयो ।
उहाँले सबै बालबालिकालाई खोप नलगाएसम्म निरन्तर रूपमा यो अभियान जारी रहने बताए । अधिकांश जिल्लाबाट खोपको व्यवस्था मिलाइएकाले स्थानीय तहमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र विभिन्न दलका नेताले अभियानको सुरुआत गरेको जनाइएको छ ।
सरकारले आजदेखि सातवटै प्रदेशका ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोर्डना खोप दिन सुरु गरेको हो । तीन प्रदेशका आठ जिल्लामा भने यही पुस १३ देखि २२ गतेसम्म फाइजर खोप अभियान चलाइने भएको छ । ती आठ जिल्लामा वागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी छ जिल्ला तथा सुदूरपश्चिमको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत रहेको छ ।
मन्त्रालयले पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा र आगामी माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ । विद्यालयलाई खोप केन्द्र बनाउने सन्दर्भमा भने जिल्लास्तरीय प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकार प्रमुख रहेको समितिले निर्धारण गरेको छ । धेरै विद्यार्थी भएको विद्यालयमा सोही विद्यालयमा र कम विद्यार्थी भए दुई÷तीन विद्यालय मिलाएर कुनै एउटा विद्यालयमा खोप लगाइने तय गरिएको हो ।
जिल्लास्थित जनस्वास्थ्य कार्यालयको समन्वयमा स्थानीय तहले विद्यालयमा अभियान सुरु भएको हो । पहाडी र दुर्गग जिल्लामा सय विद्याथी भएपछि खोप केन्द्र मानिएको छ भने तराई र शहरी ठाउँमा २०० विद्यार्थीलाई एक खोप केन्द्र मानिएको छ । रासस
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

