
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो समय बजारमा पारासिटामोल अभावको समाचारहरु विभिन्न सञ्चारमाध्यममा आइरहेका छन् । चिसो मौसमका कारण धेरै व्यक्तिहरुमा रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । सामान्य रुघाखोकी लाग्दा र ज्वरो आउँदा पारासिटामोल खाने गरिन्छ । यससँगै विगत केही सातायता कोरोना भाइरस संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । यसबीच उपभोक्तहरुले खोजेको बेला बजारमा पारासिटामोल पाइरहेका छैनन् । पारासिटामोल अभाव हुँदा उपभोक्ताहरु प्रत्यक्ष मारमा परेका छन् । वास्तवमा बजारमा सिटामोल कसरी अभाव भयो त ? भन्ने सवालमा औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालको भनाई यस्तो छ:
बजारमा विगत तीन वर्षदेखि पारासिटामोल अभाव छ । अचानक पारासिटामोल अभाव हुने कुरै भएन । उद्योगीले अहिले मूल्य वृद्धि गर्न सिटामोल अभाव गराएको आरोप गलत हो । मैले कम्पनि सुरु गरेको सातवर्ष अगाडि हो । त्यसबेला पारासिटामोलको कच्चा पदार्थको मूल्य प्रति के.जी २ सय २० वा २२ रुपियाँ डलरमा आउन्थ्यो । हाल पारासिटामोलको मूल्य एकहजार २५ देखि ११ सय ७५ रुपियाँ सम्म बढेको छ । यो मूल्य आएको तीनदेखि साढे तीन वर्ष भइसक्यो । हामी मूल्य समायोजनको लागि निरन्तर भनिरहेका छौं । उत्पादन एकदमै कम छ । अप्ठ्यारो परिस्थितिमा अभाव हुनसक्छ भनेर विगतदेखि नै जानकारी गराउँदै आएका थियौं ।
एक वा दुई ब्रान्डमात्र आयातित
बढीमा एक वा दुई ब्रान्डको पारासिटामोल आयात हुने गरेका छन् । हाल विदेशबाट ‘मेडोमोल’ भन्ने पारासिटामोल मात्र आउँछ । त्यसबाहेक अन्य पारासिटामोल बाहिरबाट आयातित हुँदैनन् । यस्तो परिस्थितिमा कसरी अभाव हुँदैन त ?

राजनीतिकरणले औषधि अभाव
औषधि व्यवस्था विभाग र स्वास्थ्य मन्त्रालयले औषधिलाई राजनीतिकरणका रुपमा प्रयोग गरेको कारण बजारमा पारासिटामोलको अभाव भएको हो ।
मूल्य समायोजन आवश्यक
बजारमा औषधिको अभाव हुन नदिन मूल्य समायोजन गर्नुपथ्र्यो । बि.सं २०६३ सालमा तोकेको मूल्य हालसम्म पनि समायोजन हुन सकेको छैन । मूल्य समायोजन नगर्दा यो समस्या आएको हो ।
पारासिटामोलको मूल्य समायोजन गरेको भए हाल यसको मूल्य डेढ वा १ रुपियाँ ६० पैसासम्म हुन्थ्यो । बजारमा अभाव हुँदैन्थ्यो । हाल लगानी नै १ रुपियाँ २० वा २२ पैसा आइरहेको छ । लगानी नै उठेन भने उद्योगीले कसरी बेच्छन् ?
आयातकर्ताद्वारा पनि मूल्य समायोजन माग
भविष्यमा आउने समस्याबारेमा पहिलो पटक कार्य समिति सदस्य हुँदा औषधि व्यवस्थापन विभागसँगको पहिलो बैठकमा (५ वर्ष अगाडि) जानकारी गराएका थियौँ । यसैगरी औषधि उत्पादक संघले मूल्य समायोजनको लागि हालसम्म १३ वटा चिठ्ठी पनि दर्ता गराइसकेको छ । औषधि व्यवसायी संघ र हाल आएर आयातकर्ताहरुले पनि मूल्य समायोजनको माग गरिरहेका छन् ।
पहिले औषधिको कच्चा पदार्थको मूल्य बढ्दा नेपालमा महंगो र भारतमा सस्तो पर्थ्र्यो । हामीहरुले मूल्य समायोजन गर्न भनेका थियौं । तर आयातकर्ताहरुले सुनेनन् । उनीहरुले सस्तो र गुणस्तरको बाजा बजाउँदै हिँडे । हाल उनीहरुकै कम्पनिले पहिलेको मूल्यमा पारासिटामोल दिन नसक्ने भएको छ ।
उनीहरुलाई नै बेच्ने कम्पनिले एक रुपियाँभन्दा बढी मूल्य तोकिदिएको छ । नेपालमै एक रुपियाँ एमआरपी मूल्य भएको औषधि भारतमा एक रुपियाँ सवा पैसा परेपछि नेपालमा बेच्न सकिदैन । यसले भारतबाट ल्याएर नेपालमा बेच्न सक्ने अवस्था छैन । त्यसकारण कच्चा पदार्थको मूल्य संसारमा बढेको रहेछ भन्ने आयातकर्ताले बुझे र उनीहरुले पनि मूल्य समायोजनमो लागि माग गरेका छन् ।

उत्पादन निरन्तर
मुलुकमा हाल पारासिटामोल उत्पादन नभएको होइन । मैले थाहा पाएअनुसार आजै पनि लोमस फर्मास्यूटिकल्सले २१ लाख र नेपाल ड्रगले १२ देखि १५ लाख ट्याब्लेट बजारमा पठाउँदैछन् । यसभन्दा पहिले कोरोना संक्रमणको दोस्रो लहरमा पनि अभाव भएको थियो । घर–घरमा बिरामी बढिरहेका छन् । त्यसैले बजारमा पारासिटामोल अभाव भएको हुनसक्छ । हाल हामीसँग मौज्दात रहेको कच्चा पदार्थबाट औषधि बनाएर दिने हो । त्यो बाहेक हामीसँग अन्य विकल्प छैन ।
औषधि मूल्य वृद्धिको चलखेल
औषधि व्यवस्था विभाग र स्वास्थ्य मन्त्रालयमा रहेका कर्मचारीहरुमा औषधि उद्योगीहरुले धेरै कमाए, लुटे भन्ने भ्रम छ । औषधिको मूल्य बढाएर सित्तैमा उपलब्ध (एउटा औषधि किन्दा अर्को फ्रि) हुने औषधि दिने कार्यलाई नियन्त्रण गर्ने उनीहरुको उद्देश्य हुनसक्छ ।
सित्तैमा दिइने औषधि नियन्त्रणको लागि छुट्टै कानुन बनाउन अनुरोध गर्दै आएका छौं । तर तोकिएको मूल्य समायोजन गर्न नसकिएको कारण बजारमा बेलाबेलामा अत्यावश्यक औषधिको अभाव हुने गरेको छ ।
भविष्यमा औषधिको अभाव हुन नदिन के गर्ने ?
सबैभन्दा पहिले औषधि व्यवस्था विभागमा बसेका कर्मचारीले औषधि उद्योगी र औषधि आयात गर्ने व्यक्तिप्रतिको कुदृष्टि हटाउनुपर्छ । बजारीकरण नामबाट भइरहेको विकृति हटाउन अर्को कार्यबिधि अपनाउनुपर्छ । स्वास्थ्य मन्त्रालयका मन्त्रीले औषधि समायोजन गर्दा आफ्नो भोट कम आउने सोच राख्नु हुँदैन । बिरामीले औषधिमा गर्ने कुल खर्च भनेको १७ प्रतिशत हो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

