
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाको ओमिक्रोन भेरियन्ट कम घातक भएपनि अत्याधिक संक्रामक भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले औँल्याएको छ ।
संगठनले ओमिक्रोनबाट सर्तक रहन आग्रह समेत गरेको छ । हालसालै डब्लूएचओकी प्राविधिक प्रमुख मारिया भान केरखोभले डेल्टा भाइरसभन्दा ओमिक्रोन कम घातक भएको उल्लेख गर्नुभएको छ । तर ओमिक्रोन संक्रमणको जोखिम भने अन्य भेरियन्टझै रहेको स्पष्ट पार्नुभयो ।
ओमिक्रोन घातक नभए मानिसहरु किन संक्रमित भइरहेका छन् ? मानिसको मृत्यु किन भइरहेको छ ? संक्रमति किन अस्पताल भर्ना भइरहेका छन् ? जस्ता सवालमा केरखोभ भन्नुहुन्छ–‘मानिसहरु ओमिक्रोन संक्रमित भइरहेका छन् । संक्रमित व्यक्तिमा लक्षण भएनभए पनि गम्भिर अवस्थादेखि मृत्यु हुनसक्ने जोखिम भने कायमै छ । त्यसैले संक्रमण हुनबाट बच्नुपर्छ ।’

गम्भिर रोग भएका बिरामीलाई जोखिम
केरखोभले दीर्घ रोगी, वृद्धवृद्धा, कोरोनाविरुद्ध खोप नलगाएका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई ओमिक्रोनको जोखिम रहेको बताउनुभयो । यस्ता व्यक्तिहरुले बढी सावधानी अपनाउनु पर्ने उहाँको भनाइ छ ।
यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनकाअनुसार हरेक म्युटेसन खराबै हुनुपर्छ भन्ने छैन । कुनै म्युटेसन कमजोर पनि हुनसक्छन् । ‘संक्रमित भइसकेका मानिसलाई भाइरसले आक्रमण गरेमा शरीरले प्रतिक्रिया जनाउँछ ।’ —उहाँ भन्नुहुन्छ–‘हालसम्म विश्वमा कोरोनाविरुद्धको एक डोज खोप लगाउने मानिसहरू नै लाखौँ पुगिसकेका छन् । कोरोनाविरुद्धको खोप सहज हुँदै जाने हो भने यसको आक्रमण गर्ने क्षमता क्षीण हुँदै जान्छ ।’ त्यसैले आगामी दिनमा कोरोना भाइरसले जटिल अवस्था ल्याउने सम्भावना अत्यन्त कम रहेको उहाँको भनाइ छ ।
सबै व्यक्ति संक्रमित
ओमिक्रोन समुदायस्तरमा सजिलै फैलिरहेको छ । यसले विश्वभर संक्रमितको संख्यामा वृद्धि भएको छ । यसको अर्थ सबै व्यक्तिलाई ओमिक्रोन संक्रमण हुनसक्छ भन्ने नभएको डब्लूएचओले जनाएको छ ।

डा. पुनकाअनुसार डेल्टा भेरियन्टभन्दा ओमिक्रोन ७० प्रतिशत बढी संक्रामक क्षमता भएको कारणले बढी फैलिएको हो । अर्को कारण भनेको फोक्सोको माथिल्लो भाग श्वासप्रश्वासतिर ओमिक्रोनलाइ अनुकूल हुन्छ । त्यसैले घाँटी दुख्ने, नाकबाट पानी बग्ने समस्या बढी देखिएको हो ।
‘ओमिक्रोनको विशेषता भनेको रुघाखोकी जस्तो लक्षण देखाउने हो ।’ —डा. पुन भन्नुहुन्छ–‘जाडोयाममा पहिले पनि धेरैलाई रुघाखोकी लाग्थ्यो । यही मौकाको फाइदा उठाएर ओमिक्रोनले धेरै जनालाई संक्रमित बनायो । जनस्वास्थ्यका मापदण्डको वेवास्ता गर्दा घरघरमा बिरामीको संख्या बढ्यो । यसले लक्षण देखाउने समय पनि छोटो भएकाले संक्रमितको संख्या ह्वात्तै बढ्नेघट्ने भइरहेको छ ।’ सबै व्यक्तिलाई संक्रमण हुन्छ भन्ने होइन तर जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा संक्रमणको जोखिम भने कायमै रहेको उहाँको तर्क छ ।
महामारीको अन्त्य
डेल्टा भेरिअन्टको दाँजोमा ओमिक्रोन कम घातक देखिएकाले मानिसहरूले अब महामारी अन्त्य हुने आंकलन गरिरहेका छन् । तर डब्लूएचओका प्रमुख टेड्रोस अदनोम घेबियसले महामारीको अन्त्य नभएको र यसलाई हेलचेक्रयाँइ नगर्न सुझाएका छन् ।
आगामी वर्षसम्म पेन्डामिक परिवर्तन भएर एन्डामिकमा परिवर्तित हुने सम्भावना रहेको डा. शेरबहादुर बताउनुहुन्छ ।
‘एन्डामिक भनेको कोरोना भाइरस अन्य सामान्य फ्लूजस्तै हुनसक्छ ।’—उहाँ भन्नुहुन्छ, ‘पेन्डामिक मुख्यतया दुईवटा कारण एन्डामिक हुने सम्भावना छ । प्रयोगशालामा परीक्षण गर्दा ओमिक्रोन अन्य भेरियन्टको तुलनामा फोक्सोमा कम फैलिएको देखिएको छ । यसले ओमिक्रोन कम घातक भएको देखिन्छ । त्यसैगरी कोरोनाविरुद्धको खोपले निरन्तरता पाउने पक्का भइसकेको छ । यस परिस्थितिमा आगामी दिनमा कोरोना भाइरसले गम्भिर अवस्था आउने वा मृत्यु हुने जोखिम कम हुन्छ ।’ पेन्डामिक विस्तारै एन्डामिक भएपछि जनजीवन सामान्य हुँदै जाने डा. पुनको ठम्याइ छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

