
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्र्यांक भिडियोको नाममा व्यक्तिलाई शारीरिक र मानसिक सास्ती दिनेलाई अब जेल सजाय हुने भएको छ ।
गृह मन्त्रालयले सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्यांक) गर्ने नाममा व्यक्तिको जथाभावी फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट र शारीरिक एवं मानसिक रुपमा सास्ती दिनेलाई प्रचलित कानुनअनुसार कारवाही गर्न निर्देशन दिएको हो ।
कसुर गर्ने र गराउने व्यक्तिलाई प्रहरीले मुलुकी ऐन अपराध संहिता, २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा कारबाही गर्ने भएको छ । त्यस्ता व्यक्तिलाई एक वर्ष सम्मको कैद वा दश हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।
‘व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालहरूमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने व्यवहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
मन्त्रालयले सार्वजनिक स्थलहरूमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव एवं व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा पर्न सक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन गर्न नमिल्ने मन्त्रालयले जनाएको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


