नेभिगेशन

'स्वाभिमानका लागि एकता' : आज ६९औँ विश्व कुष्ठरोग दिवस मनाइँदै

जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज ६९ औँ विश्व कुष्ठरोग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतवार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । यस वर्षको विश्व कुष्ठरोग दिवसको नारा 'स्वाभिमानका लागि एकता' रहेको छ ।


नेपालमा १२ वर्षअघि नै कुष्ठरोग निवारण भएको घोषणा भएपनि नयाँ बिरामी देखिने गरेका छन् । नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका सरकारी तथ्यांक छ ।

कुष्ठरोग वंशाणुगत रोग होइन । तर, परिवारमा वा समुदायमा कसैलाई देखिएको छ भने अरुमा पनि देखिन सक्ने सम्भावना भने उच्च रहने चिकित्सकहरु बताउँछन । यदि समयमै कुष्ठरोगको उपचार हुन नसके रोगीहरू अपांग हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम भने उच्च हुन्छ । त्यसैले बेलैमा उपचार गर्न र रोग नलुकाउन सरकारले बारम्बार आग्रह गर्दै आएको छ ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने गर्छ । यो रोगले खास गरेर छाला, नसामा असर गर्छ ।

यो रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र बिस्तारै यस रोगले मांसपेशी कमजोर बनाइदिन्छ ।

कुष्ठरोगको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास–प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्ने विज्ञहरुको भनाइ छ ।

लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाइ बेलैमा नियमित उपचार गराएमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपले निको हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट