
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले सिभिल अस्पतालको लापरबाहीका कारण मृत्युवरण गरेका पत्रकार एलबी विश्वकर्माको घटनाबारे छानविन गर्ने भएको छ ।
श्रमजीवी पत्रकार सङ्घ नेपालसँग काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले के–कति लापरवाही भएको हो सोको विषयमा छानविन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । छानविनका लागि काउन्सिलको टिमले तत्काल काम थाल्ने अध्यक्ष कोइरालाको भनाइ छ ।
टिभी टुडे टेलिभिजनमै कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि यही माघ ५ गते बुधबार राति ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको थियो । पत्रकार विश्वकर्मालाई सुरुमा उपचारका लागि नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा पुर्याएपनि पैसा नभएका कारण त्यहाँबाट फर्काइएको थियो ।
पत्रकार सङ्घ–सङ्गठनले समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको घटनाको न्यायिक छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै आएका छन् । सङ्घले परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई रोजगारी दिनुपर्ने र मृतकका छोराछोरीको पठनपाठनको व्यवस्था गर्नुपर्ने माग गर्दै सिभिल अस्पतालमा धर्ना दिँदै आएको छ ।
सङ्घले सिभिल अस्पतालले आफूखुसी छानविन समिति गठन गरेको भन्दै तत्काल खारेज गरी नेपाल मेडिकल कान्सिलको नेतृत्वमा न्यायिक छानविन समिति गठन गर्नुपर्ने र पत्रकारलाई सिभिल अस्पतालसहित देशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ ।
सङ्घले पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गरेको भन्दै आन्दोलन गर्दै आएको छ । उपचारका लागि सिभिल अस्पताल पुर्याइएका पत्रकार विश्वकर्मालाई कोरोना टेस्टविना उपचार नहुने भनेर लापरवाही गर्दा उनको मृत्यु भएको सङ्घको भनाइ छ ।
अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतमा काम गरेका थिए । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालले पत्रकार विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको जनाउँदै सो विषयमा तत्काल छानविन गरी उपचारमा लापरवाही गर्ने अस्पताललाई कारवाही गर्नुपर्ने माग गरेको छ । रासस
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
