
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ लाई विश्व क्यान्सर दिवसका रुपमा मनाउने गरिन्छ । यसवर्ष ‘क्यान्सर उपचारमा विद्यमान विभेद अन्त्य गरौँ ’(क्लोज द केयर ग्याप) भन्ने मूल नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ ।
संसारमा ज्यान लिने धेरै रोगहरुमध्ये क्यान्सर दोस्रो स्थानमा पर्छ । यो मानव मृत्युको मुख्य कारण पनि हो । यो तब सुरू हुन्छ जब एक कोष आफ्नो स्वरुप परिवर्तन गर्छ, बढ्न लाग्छ र छिटो विभाजन हुन थाल्छ । शुरुमा एउटा कोष दुई कोषमा विभाजित हुन्छ । त्यसपछि चार, आठ र ठूलो संख्यामा सेलहरू गठन गरेर ट्युमरको रुप धारण गर्छ ।
यद्यपि, सबै ट्यूमर क्यान्सर हुँदैनन् । जब यो अनियन्त्रित रूपमा बढ्छ तब प्रायः सम्पूर्ण शरीरमा फैलन थाल्छ । क्यान्सर शरीरको कुनै पनि ठाउँमा असामान्य कोशिकाको अनियन्त्रित वृद्धि हो । स्तन क्यान्सर, छालाको क्यान्सर, फोक्सोको क्यान्सर, पेटको क्यान्सर, प्रोस्टेट क्यान्सर र लिम्फोमा सहित १०० भन्दा बढी प्रकारका क्यान्सरहरू हुन्छन् । क्यान्सरको प्रकार अनुसार लक्षणहरु पनि फरक हुन्छन् ।
यी असामान्य कोशिकाहरुलाई क्यान्सर कोषिका, म्यालिग्नेन्ट ट्यमुर एवं ट्यूमर सेल पनि भनिन्छ । यी कोशिकाहरूले शरीरमा सामान्य टिस्युको रुपमा घुसपैठ गर्न सक्छन् । धेरै क्यान्सरहरू र क्यान्सर टिस्यु रचना गर्ने असामान्य कोशिकाहरुलाई टिस्युको नामबाट पहिचान गरिन्छ जुन असामान्य कोशिकाबाट उत्पन्न भएको हुन्छ (जस्तै—स्तन क्यान्सर, फोक्सोको क्यान्सर, कोलोरेक्टल क्यान्सर) । क्यान्सर उपचारमा केमोथेरापी, विकिरण र शल्यक्रिया समावेश हुन्छन् ।
क्यान्सर तथ्य
- ग्लोबोक्यानको २०१८ को अध्ययनले विश्वमा वर्षेनी १ करोड ८१ लाख व्यक्तिमा क्यान्सर हुने गरेको देखाएको छ । त्यसमध्ये वर्षेनी करिब ९.६ मिलियनको ज्यान ज्यान जाने गरेको छ । यस अध्ययनले मृत्यु हुने ६ जनामध्ये एकजनाको क्यान्सरका कारण मृत्यु हुने गरेको देखाएको छ ।
- क्यान्सरबाट हुने करिब ७० प्रतिशतको मृत्यु निम्न र मध्यम आम्दानी भएका देशहरु रहेका छन् ।
- क्यान्सरबाट हुने करिब एक तिहाइको मृत्यु ५ मुख्य व्यवहार र खानपानको जोखिमबाट हुने गरेको पाइएको छ । जसमा हाई वडी मास इन्डेक्स, फलफूल र सागसव्जीको उपभोगमा कमी, शारीरिक अभ्यासको कमी, धुम्रपान र मध्यपान रहेका छन् ।
- क्यान्सर गराउने मुख्य कारकमा सुर्ति तथा सुर्तिजन्य पदार्थको सेवन मानिएको छ । क्यान्सरबाट हुने करिब २२ प्रतिशतको मृत्युको कारक सुर्ति तथा सुर्तिजन्य पदार्थको सेवनलाई लिइएको छ ।
- निम्न र मध्यम आम्दानी भएका देशहरुमा क्यान्सर गराउने २५ प्रतिशत कारकमा हेपाटाइटिस र ह्युमन प्यापिलोमा भाइरस (एचपिभि) को संक्रमणलाई लिइएको छ ।
- अन्तिम अवस्थामा अस्पताल पुग्ने, भरपर्दो डायग्नोष्टिक र उपचारको अभाव धेरैको समस्या हो । सन् २०१७ मा निम्न तथा कम आम्दानी भएका देशहरुका करिब २६ प्रतिशत व्यक्तिले मात्र प्याथोलोजी सेवा प्राप्त गरेका थिए । ३० प्रतिशत कम आम्दानी भएका देशहरुको तुलनामा ९० प्रतिशत उच्च आम्दानी भएका देशहरुमा उपचार सेवा उपलब्ध भएको थियो ।
- क्यान्सर उपचारमा आर्थिक प्रभाव महत्वपूर्ण र वढ्दो छ । सन् २०१० मा वार्षिक करिब १.१६ ट्रिलियन डलर क्यान्सर उपचारमा खर्च भएको विश्व स्वास्थ्य संगठनले देखाएको छ ।
- कम र मध्यम आम्दानी भएका देशहरुमा क्यान्सर नीति अघि बढाउन तथ्यांक आवश्यक छ ।
स्रोतः विश्व स्वास्थ्य संगठन

बालबालिकाहरुमा क्यान्सर
- विश्वमा बालबालिका र किशोर किशोरीहरुको मृत्युको प्रमुख कारण क्यान्सर देखिएको छ । वर्षेनी जन्मेदेखि १९ वर्ष समूहका ३ लाख बालबालिकाहरुमा क्यान्सर हुने गरेको छ ।
- ल्यूकेमिया, मस्तिष्क क्यान्सर, लिम्फोमा, ठोस ट्यूमर (जस्तैः न्यूरोब्लास्टोमा, विल्म्स) अधिकांश बालबालिकाहरुमा देखिने क्यान्सर हुन् ।
- धेरै आम्दानी भएका देशहरुले क्यान्सर ग्रस्त भएका ८० प्रतिशत बालिबालिकाहरुको क्यान्सर निको पारेका छन् । तर निम्न र मध्यम आम्दानी भएका देशहरुले २० प्रतिशत भन्दा बढी बालबालिकाहरुको क्यान्सर निको पार्न सकेका छैनन् ।
- सामान्यत बाल्यकालको क्यान्सर रोकथाम र स्क्रिनिङ गर्न सकिदैन ।
- क्यान्सरग्रस्त बालबालिकाहरुको प्रभावकारी उपचारमा चाँडो र सही डायग्नोष्टिकको जरुरत पर्छ ।
- प्राय बाल्यकालको क्यान्सर जेनेरिक औषधि, सर्जरी र रेडियोथेरापीबाट निको पार्न सकिन्छ । वाल्यवस्थाको क्यान्सर उपचार कष्ट इफेक्टिभ हुन्छ ।
- कम र मध्यम आय भएका देशहरुमा क्यान्सर मृत्युबाट बालबालिकाहरुलाई बचाउन नसकिने कारणहरुमा सही डायग्नोसिसको अभाव, गलत तथा ढिलो डायग्नोसिस, बीचैमा उपचार छाड्ने, हेरचाहमा कमी आदि रहेका छन् ।
- बाल्यावस्थाको क्यान्सर डाटा सिस्टमलाई प्रभावकारी बनाउन गुणस्तरीय हेरचाह र नीति निर्णयहरुमा सुधार ल्याउन जरुरी छ ।
स्रोतः विश्व स्वास्थ्य संगठन
ह्यूमन प्यापिलोमा भाइरस (एचपिभी) र सर्भाइकल क्यान्सर
- ह्यूमन प्यापिलोमा भाइरस भाइरसहरुको समूह हो । जुन विश्वव्यापी रुपमा धेरै महिलाहरुलाई हुने गरेको छ ।
- एचपिभीका १०० भन्दा बढी प्रकारमध्ये १४ वटाले क्यान्सर जोखिम निम्त्याउने गरेका छन् । जसलाई उच्च जोखिम प्रकार मानिन्छ ।
- मुख्यत रुपमा यौन सम्पर्कको माध्यमबाट एचपिभी प्रशारित हुन्छ र यौन गतिविधि लगत्तै अधिकांश एचपिभी संक्रमित हुन्छन् ।
- दुई प्रकार १६ र १८ को एचपिभी सर्भाइकल क्यान्सरको ७० प्रतिशत कारण मानिएको छ । शुरुमा सर्भाइकलमा घाउ बनाउनमा यो बढी जिम्मेवार हुन्छ ।
- एचपिभिलाई गुद्धार, वोल्भा, योनी, पेनिस, आरोफ्रेक्सको क्यान्सरसँग जोड्ने प्रमाणहरु पनि छन् ।
- सर्र्भाइकल क्यान्सर धेरै महिलाहरुलाई हुने चौथो नम्बरमा पर्छ । सन् २०१८ मा ५ लाख ७० हजारमा सर्भाइकल क्यान्सर भएको अनुमान गरिएको छ । सन् २०१८ मा एचपिभीबाट विश्वव्यापी मृत्यु भएका ३ लाख ११ हजारमध्ये करिब ९० प्रतिशत निम्न र मध्यम आम्दानी भएका देशका महिला रहेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।
- सर्भाइकल क्यान्सर नियन्त्रणमा प्राथमिक रोकथामअन्तर्गत एचपिभी विरुद्धको खोप लगाउने, सेकेन्डरी रोकथाममा क्यान्सरग्रस्त घाउहरुको स्क्रिनिङ र उपचार गर्ने, तेस्रो रोकथाममा आक्रामक सर्भाइकल क्यान्सरको निदान, उपचार गर्ने र प्यालियटिभ केयर रहेका छन् ।
- प्रकार १६ र १८ एचचपिभीबाट जोगिन विश्व स्वास्थ्य संगठनले खोप सिफारिस गरेको छ । धेरै देशहरुमा प्रयोगका लागि अनुमोदन गरिसकिएको छ ।
- क्लिनिकल परीक्षण र पोष्ट मार्केटिङ सर्भेलेन्सले एचपिभी संक्रमणबाट रोक्न भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको देखाएको छ ।
- महिलाहरुमा सर्भाइकल क्यान्सर रोकथामका लागि क्यान्सरपूर्व घाउहरुको स्क्रीनिङ र उपचार खर्चको दृष्टिबाट पनि एक प्रभावकारी तरिका हो ।
- शुरुवाती चरणमा उपचार गरिएमा सर्भाइकल क्यान्सर निको हुनसक्छ ।
स्रोतः विश्व स्वास्थ्य संगठन

नेपाल अर्बुद्ध रोग निवारण संस्थाका अनुसार, नेपालमा हरेक वर्ष करिब २० हजार ५०८ नयाँ बिरामी थपिएको देखिन्छ । करिव १३ हजार ६ सय २९ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ ।
नेपालमा करिब ५० देखि ६० हजार क्यान्सर रोगीहरु रहेको अनुमान गरिएको छ । विगतको ५ वर्ष भित्र करिब ४३ हजार क्यान्सर बिरामीहरु पूर्ण रुपमा निको भएको तथ्याङ्कले देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) का सदस्य सचिव एवं कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार, पुरुषलाई फोक्सो र महिलालाई पाठेघरको क्यान्सर बढी देखिएको छ । मुलुकमा पहिलो पटक जनसंख्यामा आधारित रहेर नौ वटा जिल्लाको तथ्यांक संकलन गर्दा पुरुषमा फोक्सोको क्यान्सर देखियो । शहरी क्षेत्रका महिलामा स्तनको क्यान्सर पहिलो देखिएको डा. ज्ञवालीले जानकारी दिनुभयो । ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर देखापरेको छ । काठमाडौं उपत्यकामा एकलाख पुरुषमा ९५ दशमलव ३ प्रतिशत र महिलामा ९८ दशमलव १ प्रतिशत क्यान्सरको बिरामीको दर पाइएको छ ।
नेपाल क्यान्सर सर्जन समाजका अध्यक्ष डा. प्रकाशराज न्यौपानेका अनुसार, कतिपयलाई क्यान्सर भएको थाहै छैन । क्यान्सर भएपनि उपचार नपाएका छन् । क्यान्सरको उपचार गर्न पर्खिरहेका बिरामीको संख्या पनि उल्लेख्य छ ।
उहाँ भन्नुहुन्छ—‘क्यान्सर लागेको शंका भएका र क्यान्सरको पुष्टि भइसकेका बिरामीलाई कोभिड भएको छ भने पनि घरमा नबस्नुस् । कुनै क्यान्सर छिटो र कुनै ढिलो बढ्ने गर्छ । उपचारमा ढिलाई नगरौं ।’
महिलाहरुलाई स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. आरती शाह बेलैमा सजग भए यी दुवै क्यान्सरबाट जोगिन सकिने बताउनुहुन्छ । एचपीभी भ्याक्सिन लगाएको अवस्थामा पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिन्छ । अस्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेशन र नेपाल नेटवर्क फर क्यान्सर ट्रिटमेन्ट एण्ड रिसर्च (एनएनसीटीआर) बनेपाको तत्वावधानमा पहिलो पटक नेपालमा सन् २००८ मा पहिलो लगाइएको थियो । १० वर्षदेखि २६ वर्ष उमेर समूहका किशोरीहरुमा तीन डोज खोप लगाइएको डा. शाह बताउनुहुन्छ । त्यो बेला १ हजार १९ जना किशोरीलाई खोप लगाइएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०१४ देखि विकाशशील मुलुकमा दुई डोज खोप लगाउन सकेमा पनि प्रभावकारी हुने उल्लेख गरेको छ । डा. शाह भन्नुहुन्छ—‘बालिकाहरुलाई बेलैमा एचपीभी खोप उपलब्ध गराउन सके भविष्यमा पाठेघरको मुखकोे क्यान्सरको जोखिम हुँदैन । नियमित राष्ट्रिय खोप अभियान अन्तर्गत एचपीभी खोपलाई पनि समावेश गर्नु जरुरी छ । ’
भक्तपुर क्यान्सर अस्पतालको बहिरङ्ग विभागमा कार्यरत डा. एलिजा श्रेष्ठ निकै ढीलो भइसकेपछि बिरामी उपचार गर्न आउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ—‘कतिपय बिरामीलाई त क्यान्सर भएको थाहा नै छैन । दोस्रो र तेस्रो अवस्थामा पुगिसकेपछि बल्ल उपचार गर्न आउँछन् । बिरामीको अवस्थाले मन छुन्छ ।’
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ क्यान्सर विरुद्ध सरकारले भन्दा सामाजिक संघ संस्था र निजी क्षेत्रबाट क्यान्सर विरुद्ध जनचेतना फैलाउनुपर्ने कार्य भइरहेको बताउनुहुन्छ ।
सार्क फेडेरेशन अफ अंकोलोजिष्ट, नेपालका अध्यक्ष डा. राजेन्द्रप्रसाद बरालका अनुसार, क्यान्सर जनुसुकै लिङ्ग, उमेर र पेशाकर्मी जो सुकैलाई हुनसक्छ । समयमै पहिचान गरी उपचार शुरु गर्ने हो भने निको हुन्छ । क्यान्सरसँग जुध्न दृढ आत्मविश्वास चाहिन्छ ।’— डा. बरालले भन्नुहुन्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

