
जनस्वास्थ्य सरोकार, महोत्तरी। कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ ।
सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने बताए पनि जिल्लामा भने आजदेखि सुरु गरिएको हो ।
स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिनुभयो ।
जिल्लाका १५ स्थानीय तहमध्ये पाँच नगरपालिका र तीन गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खोप लगाइने छ ।
आज खोप लगाउन थालिएका विद्यालय बलबा, मटिहानी, मनराशिश्वा, लोहारपट्टी र जलेश्वर नगरपालिका एवं एकडारा, पिपरा र महोत्तरी गाउँपालिकाका हुन् ।
यस पहिलो चरणको विद्यालय केन्द्रित खोप अभियान माघ २८ मा सम्पन्न हुने उहाँले बताउनुभयो । ‘मोडर्ना’ १२ देखि १८ वर्ष उमेर लक्षित कोभिड–१९ विरुद्धको खोप हो ।
दोस्रो चरणमा जिल्लाका सात स्थानीय तहका विद्यालयका विद्यार्थीलाई सो खोप लगाइने छ ।
आगामी फागुन २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने यो चरणमा पाँच नगरपालिका र दुई गाउँपालिकाका विद्यालय पर्नेछन् । यसमा भङ्गाहा, औरही, रामगोपालपुर, गौशाला र बर्दिबास नगरपालिका एवं सम्सी र सोनामा गाउँपालिकाभित्रका विद्यालय रहने कार्यालयले जनाएको छ । जिल्लामा ७४ हजार मात्रा खोप आएको निमित्त जनस्वास्थ्य प्रशासक यादवले जानकारी दिनुभयो ।
राहदानी लिएर विदेश जाने तयारीमा रहेका १८ वर्षभन्दा माथिका सबैलाई ‘जोनसोन’ खोप दिइएको कार्यालयले जनाएको छ ।
यो सेवा स्वास्थ्य चौकी, अस्पताल र यसबाहेक तोकिएका केन्द्रबाट प्रवाह भइरहेको छ । जिल्लाका सबै स्थानीय तहमा विशेष अभियानअन्तर्गत फागुन १० देखि १४ सम्म पाँच दिन खोप लगाउने निर्णय गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा अझै खोप लिनेको सङ्ख्या ५० प्रतिशत नाघेको छैन । खोपलाई प्रभावकारी बनाउन स्वास्थ्य जनशक्तिको समुचित विन्यास, खोपबारे सचेतना बढाउन राजनीतिक दल, सामाजिक सङ्घ संस्था र स्थानीय तहको प्रत्यक्ष पहलकदमी उपलब्धिमूलक हुने मधेस प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशक विजयकुमार झाको भनाइ छ ।रासस
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

