
जनस्वास्थ्य सरोकार, सर्लाही । नेपालमा पुरुषभन्दा महिलाको जनसङ्ख्या बढेको भएपनि सर्लाहीमा महिलाको जनसङ्ख्या घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या घटेको हो ।
प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या नौ हजार ४०४ ले घटी हो । सर्लाहीको कुल जनसङ्ख्या आठ लाख ५७ हजार ३६० मध्ये पुरुष चार लाख ३३ हजार ३८२ र महिला चार लाख २३ हजार ९७८ रहेको छ ।
सर्लाहीको २० स्थानीय तहको जनसङ्ख्याको नतिजा समुदाय स्तरमा पनि फरक पाइएको छ । सर्लाहीमा पहाडी समुदायको बाहुल्यता रहेको बाग्मती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकामा पुरुषभन्दा महिलाको जनसङ्ख्या बढी रहेको छ भने मधेशी समुदायको बाहुल्यता रहेको पालिकाहरुमा पुरुषभन्दा महिलाको जनसङ्ख्या घटेको पाइएको छ ।
विंस २०६८ को जनगणना अनुसार सर्लाहीको जनसङ्ख्या सात लाख ६९ हजार ७२९ रहेको थियो । तीमध्ये पुरुषको जनसङ्ख्या तीन लाख ८९ हजार ७५६ अर्थात ५१ प्रतिशत र महिलाको जनसङ्ख्या ३ लाख ७९ हजार ९७३ अर्थात ४९ प्रतिशत रहेको थियो ।
छोरीभन्दा छोराको बढी चाहना र दाइजो प्रथालगायतका कारण यहाँ महिलाको जनसङ्ख्या घट्दै गएको सङ्घीय जनसङ्ख्या कोष सर्लाहीका जिल्ला संयोजक बच्चालाल महतोले बताउनुभयो । विशेषगरी मध्यम वर्गका व्यक्तिहरुले गैर कानुनी रुपमा लिङ्गको पहिचान गरी गर्भपतन गराउने गरेका कारण सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दै गएको उहाँको भनाइ छ ।
“विपन्न तथा गरिब परिवारलाई आर्थिक समस्या छ, फलस्वरुप उनीहरु भिडियो एक्सरे गराउन जादैन तर मध्यमवर्गका व्यक्तिहरुले लिङ्गको पहिचान गरी गर्भमा छोरी छ भने त्यसलाई गर्भपतन गराउने गरेको देखिन्छ”, उहाँले भन्नुभयो–“यहाँ गैरकानुनी रुपमा लिङ्ग पहिचान गर्ने र मेरी स्टोभजस्ता नेपाल सरकारको मान्यता प्राप्त स्वास्थ्य संस्थामा बैध तथा निजी स्वास्थ्य संस्थामा अवैध रुपमा गर्भपतन गर्ने गरिएको छ ।”
पछिल्लो समय लिङ्ग पहिचान गरी भू्रण हत्या गर्ने चलन यहाँ बढेको पाइन्छ । यसले छोराछोरीमा भेदभाव त भएकै छ, महिलाको स्वास्थ्यमा पनि गम्भीर समस्या देखिने गरेको उहाँको भनाइ छ । उनले पुरुषहरु काम विशेषले घर बाहिर गएका कारण कतिपयको जनगणनामा छुटेको पनि हुन सक्छ भन्दै पुरुषको एकिन तथ्याङ्क आएमा जिल्लामा महिलाको जनसङ्ख्या अझै घट्न सक्ने बताउनुभयो ।
महिला र पुरुषको जनसङ्ख्यामा देखिएको असन्तुलनको परिणाम पनि सर्लाहीमा देखिन थालेको महिला मानव रक्षक सञ्जाल सर्लाहीकी अध्यक्ष रम्भा झाले बताउनुभयो । लिङ्गको पहिचान गरी भ्रूण हत्या, दहेज प्रथा र घरेलु हिंसालगायतका कारण सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दै गएको उहाँको भनाइ छ ।
छोरीलाई पढाउनुका सट्टा विवाहका लागि दहेज दिनुपर्ने गलत सोचाईका कारण छोरीलाई गर्भमै हत्या गरिँदै आएको पनि उनले बताइन् । “लिङ्गका आधारमा बढी गर्भपतन हुन थालेका छन्”, उहाँले भन्नुभयो–“सुरक्षित गर्भपतनको अधिकार दुरुपयोग भएको छ । यसको प्रभावकारी अनुगमन हुनुपर्छ ।”
उहाँका अनुसार केही निजी अस्पतालका स्वास्थ्यकर्मीले लिङग पहिचानलाई पैसा कमाउने धन्दा बनाएका छन् । नाम चलेका अल्ट्रासाउन्ड ९भिडीयो एक्सरे० गर्नेले बढी पैसा लिएर लिङ्ग पहिचान गरिदिन्छन् । “निजी स्वास्थ्य संस्थामा बढी गर्भपतन हुने गरेका छन्”, उहाँले भन्नुभयो–“लिङ्गका आधारमा गर्भपतन गरिँदा सर्लाहीमा २० वर्षमुनिका जनसङ्ख्यामा पुरुषको दर बढ्दै गएको छ ।” लिङ्ग पहिचान गरी भू्रण हत्या गर्नु गैरकानुनी हो भन्दै उनले कोही भारत गएर गर्भपतन गरेर फर्किने गरेको बताइन् । छोराछोरी बराबरी व्यवहारमा नभएसम्म यस्तो गैरकानुनी धन्दा चलिरहने उहाँको भनाइ छ ।
पहिलोपटक छोरी भएमा छोराको चाहनामा लिङ्ग पहिचान गर्ने चलन बढेको हो । पितृसत्तात्मक सोंचले यस्तो भएको र वर्षमा ४/५ पटकसम्म तथा शिक्षित, धनाढ्य परिवारबाट पनि उल्लेख्य मात्रामा गर्भपतन गराउने गरेको पाइएको सर्लाही बहरथवा–१६ निवासी कैलास कुट क्याम्पस काठमाडौंका उपप्रध्यापक सविन खनालले बताउनुभयो । “मधेसी समुदायमा सकेसम्म छोराको नै जन्म होस् भन्ने चाहना पनि हुन्छ । त्यसकारण पनि छोरी भए भ्रूण हत्या हुने गरेको देखिन्छ”, उहाँले भन्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा १२ हप्तासम्मको गर्भपतन गराएकाको मात्रै तथ्याङ्क हुन्छ । तर त्योभन्दा बढी समयको पनि गर्भपतन हुने गरेको छ । नौ हप्तासम्मको गर्भ औषधि र १२ हप्ताको औजारबाट फालिन्छ । जथाभावी गरिने गर्भपतनले प्रजनन स्वास्थ्यमा पार्ने गम्भीर असरबारे चेतना जगाउनु आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ । छोरी जन्मनै नपाउने अवस्थाको सिर्जना हुँदै गएको छ । यसले भविष्यमा सामाजिक, आर्थिक र लैङ्गिक बिचलन आउन सक्ने उनीहरुको भनाइ छ । रासस
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
