
जनस्वास्थ्य सरोकार, पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चरणबद्ध रुपमा फैलिँदै गएको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेका कार्यहरु महत्वपूर्ण र प्रशंसनीय रहेको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना र विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा पोखरामा हिजो आयोजित ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिमः सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले विभिन्न भेरियन्टका रुपमा देखापरेको कोभिड–१९ ले विज्ञान र प्रविधिलाई समेत चुनौती दिँदै गइरहेको जनाउँदै नेपाल जस्तो मुलुकमा खोपको सहजता र अन्य व्यवस्थापनका कार्यले कोरोना रोकथाम र नियन्त्रणका लागि केही सहज भएको बताउनुभयो ।
उहाँले अझै पनि महामारी पूर्ण रुपमा निर्मूल नभइसकेकाले स्वास्थ्य सतर्कतासहित मापदण्ड पालना गरेर मात्र गतिविधिहरु गर्नुपर्ने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले पछिल्लो राजनीतिक घटनाक्रमले नागरिकलाई निराश बनाएको जनाउँदै देशको समृद्धि, सुशासन र विकासका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
महामारी रोकथामका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने भएकाले स्वास्थ्यजस्तो संवेदनशील विषयमा जनप्रतिनिधि चनाखो भएर गृहकार्य गर्ने र रणनीतिक योजनाहरु बनाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। सङ्गीता कौशल मिश्राले २०७६ पुस २८ मा नेपालमा पहिलो पल्ट कोभिड–१९ सङ्क्रमित देखा परेको र तत्कालीन समयमा कोभिड परीक्षण रोकथामका कार्य गर्न निकै जटिल र चुनौती रहे तापनि मन्त्रालयले समुदायलाई सुसूचित गराएर महामारी नियन्त्रणका लागि काम गरेको बताउनुभयो । उहाँले पिसिआर ल्याब नहुँदा तत्कालीन समयमा हङकङमा परीक्षणका लागि पठाउनु परेको स्मरण गर्दै अहिले नेपालमा १०२ पिसिआर ल्याबहरु रहेको जानकारी दिनुभयो ।
डा मिश्राका अनुसार सरकारले २०७७ साल माघ १४ मा खोप कार्यक्रम सञ्चालन गरेकामा हालसम्म तीन करोड ६० लाख ९९ हजार १६९ ले पहिलो र दोस्रो डोज खोप लगाएका छन् । त्यस्तै आठ लाख ४२ हजार ५९० जना बुस्टर डोज खोप लगाएका छन् । उहाँले कूल जनसङ्ख्या ७३ प्रतिशतले पहिलो र ५८ प्रतिशतले दोस्रो डोज लगाएको जानकारी दिनुभयो ।
त्यसैगरी हालसम्म ६४ लाख एक हजार १६ जनामा पिसिआर परीक्षण गरिएको छ भने ११ लाख १३ हजार ५४४ सङ्क्रमित सङ्ख्या रहेको थियो । कोभिड–१९ का कारण ११ हजार ९१३ जनाले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ४३५ रहेको छ । उहाँले हाल कोभिड सङ्क्रमण सङ्ख्या ओरालो लाग्दै गएको जनाउँदै समुदायस्तरबाटै जनचेतना जगाउन सके आगामी दिनमा महामारीबाट जोगिन सकिने बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले कोभिडले हरेक मानिसको जीवनशैली परिवर्तनका लागि धेरै कुरा सिकाएको बताउनुभयो । महामारीलाई नकारात्मक रुपमामात्र लिएर निराश हुनुभन्दा महामारीपश्चात् परिवारको महत्वसँगै पारिवारिक पुनःमिलनमा समेत भूमिका खेलेको कुरालाई पनि स्मरण गर्नुपर्ने बताउनुभयो ।
योग ध्यानको महत्वलाई उजागार गर्दै चिकित्सा क्षेत्रमा समेत कोभिड–१९ ले क्रान्ति ल्याएको उहाँको भनाइ छ । महामारीको अवस्थाले शारीरिक, मानसिक साथै आर्थिक अवस्थाको सामना गर्नुपर्ने स्थितिले मानसिक स्वास्थ्यमा समेत असर पारेको र यसतर्फ झन् सचेत हुनुपर्ने आवश्यकता उहाँले आँैल्याउनुभयो ।
कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका रणनीतिक साझेदारी र नेतृत्व सञ्चारका वरिष्ठ परामर्शदाता डा सुनुर वर्मा, आपत्कालीन कार्यक्रमका प्रमुख डा आलिसानगोकोटानो, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना केन्द्रका निर्देशक सुनिलराज शर्मा, मेडिकल अफिसर खोप कार्यक्रमका डा विनोद बुरा र मन्त्रालयका बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख श्री सागर दाहाल लगायतले कोभिड–१९ को समयमा प्रदेशसभाको भूमिका, सामुदायिक संयन्त्रको स्थापना, जनस्वास्थ्यका मापदण्ड, संसद्को भूमिका, मन्त्रालयको रणनीतिक योजनाहरुमा छुट्टाछुट्टै प्रस्तुति राख्नुभएको थियो ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादव, मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी लगायतले कोभिड–१९ को विषयमा आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रममा सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशका सचिव लगायतको उपस्थिति रहेको र लगत्तै यो कार्यक्रम सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गरिने सञ्चार संयोजक छिरिङ गुरुङले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

