
जनस्वास्थ्य सरोकार, सल्यान । कुनै बेला गुणस्तरीय सेवा प्रदान गर्ने भनेर चर्चा कमाएको सल्यान अस्पताल आफैँ बिरामी परेर थला परेको छ । अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नभएपछि बिरामी उपचार नहुने भन्दै अन्यत्र सिफारिस गर्न थालिएको छ ।
जिल्ला अस्पतालमा आठ चिकित्सकको दरबन्दीमा भए पनि एक जनामात्रै कार्यरत भएपछि अस्पतालमा आउने बिरामीलाई उपचार नगरी सिफारिस गर्न थालिएको हो । उपचार नहुने भएपछि बिरामी अस्पतालबाटै फर्कन बाध्य भएका छन् । प्रसूति हुने समयभन्दा एक हप्ता ढिलो भएपछि बागचौर नगरपालिका–१२ का सुशीला कुमारी वलीलाई अस्पतालले अन्यत्र जान सल्लाह दिएको छ ।
सुत्केरी हुँदा शल्यक्रियासम्म गर्नुपर्ने अवस्था आउने र अस्पतालमा शल्यक्रिया सेवा प्रवाह गर्न नसकिने भएकाले उनलाई समयमै आफ्नो व्यवस्था गर्न भनिएको अस्पतालले जनाएको छ । अस्पतालबाटै फर्काइदिएपछि वली समस्यामा परेकी छन् । ‘घरबाट आउँदा सल्यान अस्पतालमा उपचार खर्च लाग्दैन भनेर थोरै पैसा लिएर आयौँ, अब यहाँ नहुने भएपछि कहाँ जाने फेरि समय पनि नाघेको छ’, सुशीलाले भनिन् ।
अस्पतालमा कार्यरत एक चिकित्सकको सरुवा भएको, दुई अध्ययन बिदाका लागि गएको तथा एक जना तालिममा गएपछि अस्पतालका सबै सेवा प्राभावित भएको अस्पतालले जनाएको छ । चिकित्सक नै नभएपछि अस्पतालले बिरामी भर्ना लिनसमेत छाडेको छ भने आकस्मिक कक्ष तथा वार्डमा बिरामी भर्ना नगरिएको स्वास्थ्य कार्यालय सल्यानका निमित्त प्रमुख श्लोचना महर्जनले जानकारी दिनुभयो ।
अस्पतालको अवस्थाका बारेमा कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयमा जानकारी गराइ सकिएको भए पनि कुनै प्रतिक्रिया नआएको महर्जनले जानकारी दिनुभयो । ‘जनशक्तिकै कारण अहिले अस्पतालमा बिरामी भर्ना लिन सक्ने अवस्था छैन, एक जना चिकित्सकले कति ठाउँमा भ्याउनुहुन्छ, गएकाहरूको पनि आउने टुङ्गो नभएपछि झन् समस्या भएको छ’, महर्जनले बताउनु भयो ।
केही समय अगाडिसम्म अस्पतालमा शल्यक्रियासमेत हुँदै आएको तर अस्पतालमा चिकित्सक नै नभएपछि अस्पतालमा सेवा प्रभावित भएको छ । यसैबीच अस्पतालमा प्रसूति हुन आएकी १९ वर्षीय महिला र शिशुको समेत अस्पतालमा मृत्यु भएको छ । बेहोस भएर आएकी महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानका निमित्त प्रमुख महर्जनले जानकारी दिनुभयो ।
अस्पतालमा बिरामीको ओपिडी तथा वार्डमा एउटै चिकित्सकले धान्न नसक्ने भएकाले नयाँ भर्ना लिन नसकेको सल्यान अस्पताल सल्यानका डा.अभिषेक सिंहले बताउनु भयो ।
‘एउटा चिकित्सकले सबै ठाउँमा हेर्न सक्ने सम्भावना छैन, शल्यक्रिया गर्न कम्तीमा चार जना चिकित्सक चाहिन्छ, म एक्लैले के गर्नु त्यही भएर तत्काल यहाँ भर्ना गरेर उपचार गर्न सम्भव छैन, त्यसैले बिरामीलाई अन्यत्र सिफारिस गर्दै आएका छौं, डा सिंह बताउनु हुन्छ । जनशक्तिको अभावकै कारण एकैदिन अस्पतालमा प्रसूति सेवा लिन आएका ५२ महिलालाई एकै दिन अन्यत्र सिफारिस गरेको छ ।
अस्पतालमा आएका बिरामी चिकित्सक नभएपछि अस्पताल परिसरमा घुमिरहेका थिए । स्वास्थ्य परीक्षणका लागि आएका सेवाग्राही चिकित्सक नभएपछि फर्किन बाध्य भएका छन् । अस्पतालमा बिरामी सिफारिस गर्न थालेपछि कर्मचारी पनि फुर्सदिला भएर घाम तापेर बसेको भेटिए ।
बिरामी नै नआएपछि अस्पताल परिसरसमेत सुनसान देखिन थालेको छ । अस्पतालमा हालसम्म दरबन्दी अनुसारका चिकित्सक नभएका कारण सेवा प्राभिवत भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सिपी ओलीले जानकारी दिनुभयो ।
‘अस्पताल राम्रो र गुणस्तरीय बनाउनका लागि प्रयास गरिरहेका छौँ, तर सबै कुरा हाम्रो हातमा छैन’, अध्यक्ष ओलीे बताउनु हुन्छ । राम्रो गर्न खोजेर पनि आफ्नो हातमा सबै नभएपछि केही गर्न नसकिएको उहाँको भनाइ छ ।
‘हामीले अस्पतालमा अस्पतालको स्रोतबाट भर्ना गरिएका कर्मचारीहरूका सन्दर्भमा बाहेक अरु केही अधिकार छैन, अनि हामीले के गर्न सक्छौँ’, अध्यक्ष ओलीले भन्नु भयो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सल्यानले कार्यालय अनुगमनका क्रममा सबैभन्दा बढी सल्यान अस्पतालमा कार्यरत कर्मचारी अनुपस्थित भएको भेटिएको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार अस्पतालमा ३६ कर्मचारी अनुपस्थित भएको भेटिएको र उनीहरूलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । रासस
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
