
जनस्वास्थ्य सरोकार, तुलसीपुर । स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्यचौकीका बिरामीले पानी खान पनि पाउँदैनन् । तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीस्थित स्वास्थ्यचौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन ।
०३१ सालदेखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्यचौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज ज्ञानबहादुर डाँगीले बताउनुभयो । ‘सबैभन्दा समस्या हाम्रो स्वास्थ्यचौकीमा खानेपानीकै छ, यहाँ पानीको व्यवस्था नभएकाले बिरामीले घरबाटै पानी बोकेर ल्याउनुपर्ने अवस्था छ’–‘यहाँ कार्यरत कर्मचारीले पनि घरबाटै पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ ।’ बिरामीलाई पनि कहिलेकाहीँ औषधि खुवाउन कर्मचारीले नै पानी ल्याएर खुवाउनुपर्ने अवस्था छ ।
धारा जडानका लागि पटकपटक सम्बन्धित निकायमा आग्रह गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन । कार्यालयमा स्यालो ट्युबेल जडान गर्न सकिने भएकाले यसका लागि पनि भने छलफल अघि बढाइएको इञ्चार्ज डाँगीले बताउनुभयो । उक्त स्वास्थ्य चौकीमा एक अनमी, दुई अहेब, एक जनस्वास्थ्य निरीक्षक, एक ल्याब असिस्टेन्ट कार्यरत छन् ।
त्यहाँ ल्याब, बर्थिङ सेन्टरलगायत सेवा पनि सञ्चालनमा रहे पनि मापदण्डअनुसारको भवन नहुँदा पनि समस्या भएको इञ्चार्ज डाँगीको भनाइ थियो । ‘हामीसँग १० कठ्ठा जग्गा छ, त्यहाँ राम्रो मापदण्ड भएको भवन निर्माण गर्न सकिन्थ्यो’, उहाँले भन्नुभयो– ‘अहिलेसम्म पुरानै भवनमा छौँ, मापदण्ड अनुसारका भवन नहुँदा समस्या भएको छ ।’ एउटा कोभिड भवन पनि आवश्यक रहेको इञ्चार्ज डाँगीको भनाइ थियो ।
स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा मासिक सरदर ६ जनाले सेवा लिने गरेका छन् भने ल्याब सेवामा मासिक सरदर २० २२ जनाले सेवा लिने गरेका छन् । ल्याबका लागि चाहिने आवश्यक सामग्रीसमेत उपमहानगरपालिकाले उपलब्ध नगराएकाले कर्मचारीले नै ल्याउनुपर्ने अवस्था छ ।
उक्त स्वास्थ्यचौकीबारे गुनासो बढेपछि बल्ल लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी खत्री (वली) ले चासो देखाएकी छन् । उहाँले स्वास्थ्यचौकीको अनुगमनपछि त्यसलाई सुधार गर्न पहल थाल्ने बताउनुभयो । ‘त्यहाँ पानीको पनि समस्या देखियो, सामग्री पनि खरिद गर्नुपर्ने अवस्था देखियो, भवनको पनि त्यतिकै समस्या रहेछ’, उनले भनिन्, ‘यो समस्या समाधान गर्न म पहल गर्छु ।’
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
