
जनस्वास्थ्य सरोकार, चितवन । चितवन मेडिकल कलेजले नेपालकै सबैभन्दा ठुलो सघन उपचार कक्ष (आइसियू) सञ्चालनमा ल्याएको छ । कलेजले हाल १ सय ९७ शैय्याको लेवल थ्री आइसियू सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक हरिश चन्द्र न्यौपानेसँग गरिएको कुराकानी ।
क्रिटिकल केयरलाई किन प्राथमिकतामा राख्नुभयो ?
चितवन मुलुकको सेन्टरमा छ । मेडिकल हब जस्तो छ । यहाँ धेरै बिरामीहरु रिफर भएर आउँछन् । अधिकांश बिरामीको अवस्था क्रिटिकल (जटिल) हुन्छ । धेरैजसोलाई आइसियू चाहिन्छ ।
चितवनमा झण्डै १५/२० ओटा नर्सिङ होम छन् । त्यहाँका बिरामी पनि सिफारिस भएर यहि अस्पतालमा आउँछन् । आइसियूको माग बढी छ । रिफरल बिरामीलाई स्तरीय सेवा दिने उद्देश्यले नै आइसियू स्थापना गरेका हौँ ।
अर्को कुरा, हामीसँग जनशक्ति पनि प्रशस्त छन् । हामी सबै डाक्टरहरु मिलेर सञ्चालन गरेको मेडिकल कलेज भएकाले अरु भन्दा केही फरक गर्ने उदेश्यले क्रिटिकल केयरलाई प्राथमिकता दिएका छौं ।
जनशक्ति उत्पादनमा के भइरहेको छ ?
नेपालमा पहिलोपटक नेसनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स) ले क्रिटिकल केयर मेडिसिन पढाई सुरु गर्यो । डा. शीतल अधिकारी पहिलो व्याच हो । उहाँ क्रिटिकल केयरमा डिएम गर्ने पहिलो नेपाली डाक्टर हुनुहुन्छ । अध्ययन सकिएपछि डा. शीतल चितवन मेडिकल कलेजमा सेवा गर्न आउनुभयो । हामीले न्याम्ससँग सहकार्य गरेर क्रिटिकल केयर सेट अप गर्यौँ । न्याम्सले पढाइ सुरु गरेपनि अनेक अवरोध खेप्नुपर्यो ।
शुरुका दिनमा नयाँ कलेज भएकाले देशको नियम र कानुनले गाह्रो बनायो । विस्तारै हामीलाई जनशक्ति पनि पुगेन । एकैचोटी डिएम सुरु गर्ने कुरा पनि थिएन । त्यसैले हामीले नेपाल मेडिकल काउन्सिलसँग स्वीकृती लिएर मलेसियन युनिभर्सिटीसँग टाइअप गरी क्रिटिकल केयर मेडिसिनको तीन वर्षे फेलोसिप कोर्ष चलायौँ । अहिले तीनचार वर्ष भइसक्यो । हामीले नेपालका लागि दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याइरहेका छौँ ।
उपचारमा कतिको सहुलियत छ ?
मेडिकल कलेज भएकाले मात्र हामीले केहि सस्तोमा उपचार सेवा दिन सकेका छौं । ठूला मेडिकल कलेजले सस्तोमा गर्नुसक्नुको कारण बिरामीको भोल्युमले नै हो ।
अस्पतालमा भएको १९७ बेडमा हरेक दिन ९० प्रतिशत भन्दा बढी बिरामीको अक्युपेन्सी दर रहेको छ । आइसियूमा भर्ना भएका बिरामीलाई प्रतिदिन पाँच हजार शुल्क लिँदै आएका छौँ । हामीले कोभिडको बेला २६० बेड सम्म आइसियू चलाएका थियौँ । सरकारले तोकेको शुल्क १५ हजार भन्दा बढी लिएनौँ ।
वास्तवमा यसरी चलाउन धेरै गाह्रो छ । लगानीको कुरा गर्दा एउटा आइसियू बेड स्थापना गर्न झण्डै एक करोड जति खर्च हुन्छ ।आइसियू बेड, भेन्टिलेटर, आइसियूको मेनपावरको खर्च धेरै हुन्छ । दुइसय बेडको आइसियू स्थापनाका लागि झण्डै दुइसय करोड खर्च भइसकेको छ । सबैले गर्न सक्दैन । त्यसका लागि डेडिकेसन चाहिन्छ ।

सरकारको भूमिका के हुनसक्छ ?
आइसियू सेटअप एकदमै महंगो सेटअप हो । त्यति सजिलो छैन । त्यसैले सबैभन्दा पहिलो कुरा सरकारले आइसियूको वर्गिकरण गरिदिनुपर्छ । आइसियू सेटअपका लागि सरकारले सहयोग गर्नुपर्छ बिरामीहरु क्रिटिकल केयर सम्म आइपुग्दा सबै पैसा सकिसकेका हुन्छन् ।
सरकारले आइसियूको सामान किन्दा कर छुट गरिदिनुपर्छ । बैँकको ऋणमा पनि सहुलियत दिनुपर्छ । तब मात्र आइसियूलाई लेबल अप गर्न सकिन्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

