
धर्मलक्ष्मी श्रेष्ठ ‘सोसाइटी अफ इमर्जेन्सी नर्सेस अफ नेपाल’ की अध्यक्ष हुनुहुन्छ । उहाँ त्रिभुवन विश्वविद्यालय (त्रिबि) शिक्षण अस्पतालमा विशिष्ट नर्सिङ प्रशासक हुनुहुन्छ । उहाँ अस्पतालमा ३९ वर्षदेखि कार्यरत हुनुहुन्छ । धर्मलक्ष्मीले बि.सं.२०४० सालदेखि नर्सिङ सेवा शुरु गर्नुभएको थियो । त्रिबि शिक्षण अस्पतालको सुरुवातीदेखि काम गर्दै आउनुभएकी श्रेष्ठले अस्पतालको नर्सिङ डाइरेक्टर भएरसमेत काम गरिसक्नुभएको छ । ६२ वर्षकी श्रेष्ठ इमर्जेन्सी र नर्सिङ एजुकेसन तालिम प्रदान गर्नमा सक्रिय हुनुहुन्छ । श्रेष्ठले बि.सं २०३७ सालमा तत्कालीन सातदोवाटोस्थित सान्तावन नर्सिङ क्याम्पस (मिसन) बाट पिसिएल नर्सिङ गर्नुभएको थियो । उहाँले पाल्पास्थित तानसेन मिसन हस्पिटलमा एक वर्ष काम गर्नुभएको थियो । जनस्वास्थ्य सरोकारका लागि पुरुषोत्तम घिमिरेले इमर्जेन्सी नर्सेस तालिमबारे धर्मलक्ष्मीसँग गरेको कुराकानीको केही अंश ।
नर्सिङ पेशाको धर्म के हो ?
नर्सिङ पेशामा छिरेपछि सिकिस्त अवस्थाका बिरामीसँग एडजस्ट गर्न सक्ने आत्मवल लिनुपर्छ । मरेको मान्छेलाई पूर्णरुपमा केयर गरेर पठाउनुपर्छ । त्यसैले नर्सले सोसल्ली, स्प्रेच्युअल्ली, मेन्टल्ली र साइकोलोजिकल्लीमा ट्याक्टफूल भएर काम गर्नुपर्छ । धनि गरिब जो भएपनि उपचारमा आएका बिरामीलाई भेदभाव गर्न हुँदैन ।
मानवताको नाताले उपचार गर्न आएका व्यक्तिलाई भरपर्दो केयर गर्नुपर्छ भन्ने कुरा मनमा लिएर काम गर्नुपर्छ । बिरामीको पीडा आफ्नै परिवारका सदस्यको पीडाजस्तै बोध गरेर केयर दिनुपर्छ । सिकिस्त बिरामी आएपछि म बूढी भएँ भनेर चुप लागेर बस्ने कुरा आउँदैन ।
हामी चौबीसै घण्टा अलर्ट भएर बस्नुपर्छ । ८ घण्टाको ड्युटीपछि पनि विभागमा सिकिस्त बिरामीको चाप बढेर ड्युटीमा रहेका नर्सलाई बिरामी व्यवस्थापन गर्न गाह्रो भएमा हामी आराम गरेर घर बस्न सक्दैनौं । अस्पताल आएर समस्या समाधानको व्यवस्था मिलाउनुपर्छ । कोभिड महामारीको समयमा आफैं कोभिड संक्रमित भएर पनि हप्ता दिनपछि ड्युटीमा आएँ । त्यो बेला विभागका ४५ जना नर्समध्ये करिब ३३ जनालाई कोभिड पोजेटिभ देखिएको थियो । यस्तो अवस्थामा घरमा आराम गरिरहेको बेला पनि वार्डको अवस्थाबारे इन्क्वाइरी गरेको थिएँ ।
इमर्जेन्सी मेडिसिन तालिम कसरी बिस्तार गर्दै हुनुहुन्छ ?
हामीले नर्सलाई मात्र नभई डाक्टरहरुलाई पनि इमर्जेन्सी मेडिसिनको तालिम प्रदान गरेका छौं । शिक्षण अस्पतालमा नर्सिङ फिल्डबाट इन्सर्भिस ट्रेनिङ गरिरहेका छौं । बाहिरका हस्पिटलहरुमा प्राथमिकताका आधारमा छनौट गरेर तालिम प्रदान गरिरहेका छौं ।
हामीले २ व्याचलाई ३ महिनाको इमर्जेन्सी नर्सेस तालिम दिइसकेका छौं । पहिलो व्याचमा हस्पिटलभित्र तालिम दियौं । दोस्रो व्याचदेखि निजी अस्पतालहरुकासमेत गरेर २६ जनालाई तालिम दिइसकेका छौं । यसका लागि हामीले आफैंले पाठ्यक्रम विकसित गरेका छौं । निजी अस्पतालहरुमा इमर्जेन्सी नर्सेस तालिमको माग बढ्दै गएको छ ।
इमर्जेन्सी नर्सेस तालिमको माग कहाँ कहाँबाट आएको छ ?
काम पाउने आशा बोकेर नर्सहरुले इमर्जेन्सी तालिम लिने गरेका छन् । ह्याम्स हस्पिटलले माग गरेकाले पहिलोपटक निजी अस्पतालमा चैतको ६ गतेदेखि तीन महिनाको इमर्जेन्सी नर्सेस तालिम शुरु गर्दैछौं । यसमा ३० जना नर्सले भाग लिँदै छन् । आनन्दवन हस्पिटलमा पनि माग आइरहेको छ । चितवन मेडिकल कलेज र बिराट मेडिकल कलेजबाट पनि माग आएको छ ।

इमर्जेन्सी नर्सेस तालिम लिन कति शुल्क तिर्नुपर्छ ?
अहिले हामीले तीन महिनाको तालिममा ४० हजार रुपियाँ लिने गरेका छौं । त्यसमा लजिङ, फूडिङ र स्टेशनरीका सम्पूर्ण सामान उपलब्ध गराइन्छ ।
तालिममा के कस्ता ज्ञान उपलब्ध गराइन्छ ?
तीन महिनाको इमर्जेन्सी नर्सेस तालिममा सैद्धान्तिक र व्यवहारिक रुपमा सिपिआर दिने तरिका, इमर्जेन्सी विभागमा आइपुगेका बिरामीको प्राथमिकता छुट्याउने, इमर्जेन्सी डिजास्टर आएमा व्यवस्थापन कसरी गर्ने ? जस्ता ज्ञान सिकाइन्छ ।
घटनामा तत्काल एक्सपोज गराउँदा बिरामीको उपचारमा धेरै सकारात्मक प्रभाव पर्ने देखिएकाले दुई हप्ता फिल्डमा एक्पोज गराउँछौं ।
इमर्जेन्सी नर्सेस तालिम कहिलेदेखि शुरु भएको हो ?
इमर्जेन्सी नर्सेस तालिम सन् २०१९ देखि त्रि.बि.शिक्षण अस्पतालबाट शुरु भएको हो । शुरुमा १२ जना सिनियर नर्सलाई ट्रेनरको रुपमा छनौट गरेका थियौं । त्यसपछि त्रिबि शिक्षण अस्पताल आसपासका निजी अस्पतालहरुले पनि थाहा पाउँदै गए । त्यहाँ काम गर्ने नर्सहरुबाट पनि तालिमको माग बढ्न थाल्यो ।
इमर्जेन्सी नर्सेस तालिमको महत्व कसरी महसुस गर्नुभयो ?
घटनास्थलमा नै आधारभूत केयर दिन सकेमा कतिपय बिरामी अस्पतालमा आउन नपर्ने र आउनेहरुको पनि उपचार गर्दा प्रतिफल राम्रो देखिने गरेको पाइएको छ ।
यहाँले अनुभव गरेको कुनै अविश्मरणीय घटना छ ?
म एउटा घटना सुनाउँछु । यो घटना नुवाकोटको हो । त्रिशुली अस्पतालमा एकजना आमा सुत्केरी भइन् । उनलाई अत्यधिक ब्लिडिङ भयो । त्रिशुली अस्पतालमा यो समस्या व्यवस्थापन हुन नसकेपछि उनलाई महाराजगञ्ज शिक्षण अस्पतालमा रिफर गरियो । उनलाई सानो भन्दा सानो क्यानुला लगाइएको थियो । यहाँसम्म आईग्दा त्यो क्यानुला ब्लक भएकाले सुत्केरीको अवस्था सिकिस्त थियो । निकै कठिनाइका साथ उपचार गरियो ।

यो घटनाबाट तपाईंलाई महसुस भएको कुरा बताइदिनुस् न ?
स्लाइन पानी चढाउँदा ठूलो क्यानुला लगाइएमा त्यसबाट रगत पनि ट्रान्सफ्युजन गर्न सकिन्छ र दुई साइटबाट स्लाइन दिन सकिन्छ ।
यदि त्यो सुत्केरीलाई ठूलो क्यानुला लगाएको थियो भने उनी सिकिस्त हुने थिइनन् । यसरी नेपालमा पोष्टनेटल मोर्टालिटी दर बढेको पनि सुत्केरी हुँदा अत्यधिक ब्लिडिङ हुने कारणले हो । यो बेलामा समस्या व्यवस्थापन गर्न सकेमा आमा र बच्चा दुवै जीवित रहन मद्धत पुग्छ ।
त्यसैले गाउँतहदेखि नै नर्सहरुलाई आधारभूत र तत्काल बिरामी व्यवस्थापन गर्न सक्ने सिपको जरुरत पर्छ ।
तालिमलाई बिक्रेन्द्रीकरण गर्ने कुरामा कतिको सचेत हुनुहुन्छ ?
काठमाडौं बाहिरबाट आउने सहभागीहरुलाई तीन महिना एक्सपोज हुन गाह्रो हुने रहेछ । त्यसैले इमजेन्सी नर्सेस तालिम काठमाडौंमा मात्र सिमित नगरी गाउँस्तरमा केन्द्रित गर्ने अवधारणा ल्याइएको छ ।
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३

