
जनस्वास्थ्य सरोकार, त्रिशूली। नुवाकोट जिल्ला आइतबारदेखि कोरोना सक्रमणमुक्त भएको छ । यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति आइतबार सङ्क्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोना मुक्त भएको हो ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत अमृत महर्जनले जिल्लामा यसअघि सङ्क्रमित भएका सबै निको भएको र नयाँ सङ्क्रमित थप नभएको बताउनुभयो ।
कोरोनाको तेस्रो लहर जिल्लामा गत पुस २५ मा भित्रिएको थियो । भाइरस देखा परेको दुई महिनापछि नियन्त्रणमा आएको हो । जिल्लामा विसं २०७७ जेठ ११ मा ओखरपौवाका एक व्यक्तिमा भाइरसको सङ्क्रमण देखा परेको थियो । पहिलो लहर विसं २०७७ फागुन २३ गतेदेखि सक्रमणमुक्त बनेको थियो ।
यसपछि विसं २०७७ चैत २४ मा दोस्रो लहर सुरु भएर गत पुस १४ सम्म कायम रहेको थियो । यसको दश दिनपछि पुनः पुस २५ गते कोरोनाको तेस्रो लहर भित्रिएको जिल्लामा पहिचान भएको थियो । आइतबारदेखि कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख ९वरिष्ठ जनस्वास्थ्य प्रशासक० महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो ।
उहाँको अनुसार कोरोनाको पहिलो लहरमा एक, दोस्रो लहरमा ५१ जनाको निधन भएको थियो भने तेस्रो लहरमा मृत्युदर शून्य रह्यो । हालसम्म जिल्लामा कोरोनाको कारण निधन हुनेको सङ्ख्या ५२ जना कायम छ ।
कोरोनाको पहिलो लहरमा एक हजार १४५ सङ्क्रमित पहिचान भएकोमा दोस्रो लहरमा सात हजार २४५ र तेस्रो लहरमा ९७३ थप भएका थिए । हालसम्म सङ्क्रमित हुने कूल सङ्ख्या जिल्लामा नौ हजार ३६३ पुगेपछि सङ्क्रमणमुक्त जिल्ला बनेको हो ।
कोरोनाबाट बच्न जिल्लावासीलाई अन्य जिल्लामा आउजाउ गर्दा सावधानी अपनाउन, बाहिरी जिल्लाबाट आउने व्यक्तिको स्वास्थ्यमा निगरानी गर्न, यसबाट बच्न सरकारले निःशुल्क उपलब्ध गराएको रोगविरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले आग्रह गर्नुभयो ।
“रसुवा जिल्ला पनि यसअघि नै कोरोना सङ्क्रमणमुक्त जिल्ला भइसकेकाले अब नुवाकोट र रसुवा दुवै जिल्लाले सावधान अपनाइ रोगको भाइरस भित्रन नदिन सजग हुनुपर्छ ।” उहाँले भन्नुभयो, “सङ्क्रमणमुक्त भएको समयमा रोगबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्न र रोगसँग मिल्दोजुल्दो लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराई सतर्कता अपनाएमा सङ्क्रमणलाई परास्त गर्न सकिन्छ ।”
कोरोनालगायतका अन्य सरुवा रोगबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्डको पालनाअन्तर्गत घरबाट बाहिर सार्वजनिक स्थलमा आउजाउ गर्दा अनिवार्यरुपमा मास्क लगाउन, भौतिक दूरी कायम राख्न, साबुन पानीले राम्रोसँग हातधुन तथा स्यानिटाइजरको प्रयोग गर्न स्वास्थ्य कार्यालयले स्मरण गराएको छ ।
जिल्लामा कोरोना रोक्न त्रिशूली अस्पतालमा पीसीआर प्रयोगशाला, अक्सिजन उद्योग, भेन्टिलेटर, आइसियु र एचडियुसहित आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको थियो । जिल्लाको त्रिशूली अस्पताल, खरानीटार अस्पताल र स्थानीयतहले करिब ५०० आइसोलेसन शय्यासमेत सञ्चालनमा ल्याएका थिए । त्यो अहिले पनि कायम नै राखिएको छ ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
