
जनस्वास्थ्य सरोकार । विगत एक महिनामा रेबिज रोग लागेर काठमाण्डूको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका पाँच जनाको ज्यान गएको छ ।
सङ्क्रमित कुकुर तथा जनावरले मानिसलाई टोक्दा लाग्ने रेबिज रोगलाई खोपका माध्यमबाट रोकथाम गर्न सकिने चिकित्सकहरू बताउँछन्।
रेबिज भाइरसले केन्द्रीय स्नायु प्रणालीमा सङ्क्रमण गर्छ। त्यसैले मानिसमा एकपटक सङ्क्रमण भइसकेपछि रेबिजका बिरामीलाई बचाउन नसकिने उनीहरूको भनाइ छ।
नेपालमा वार्षिक करिब १०० जनासम्मले रेबिजका कारण ज्यान गुमाउने गरेको सरकारी विवरण छ। तर सबै रेबिजका घटना जानकारीमा नआएको पनि हुनसक्ने बताइन्छ।
रेबिज कसरी लाग्छ ?
रेबिज सङ्क्रमण भएका जनावरले मानिसलाई टोकेमा त्यस्ता जनावरको र्यालबाट रोग सर्न सक्ने चिकित्सकहरू बताउँछन्।
रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि फैलिनका लागि केही दिनदेखि महिनौँसम्म पनि लाग्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा मनीषा रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो–'रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि त्यसको विकास भएर सङ्क्रमण हुने समय अरू रोगको तुलनामा अलि लामो छ। नौ दिनदेखि ९० दिनसम्म लाग्छ भनिन्छ। त्यसलाई हामी इन्क्यूबेशन पीरीअड (सङ्क्रमणकाल) भन्छौँ।- उहाँ थप्नुहुन्छ-'कुकुरले टोक्दैमा तुरुन्तै रेबिज हुन्छ भन्ने हुँदैन, विश्वमा कुकुरको टोकाइको एक वर्षपछि रेबिज भएर मृत्यु भएका घटना पनि छन्।'
नेपालमा ९९ प्रतिशत रेबिजका घटना परपालुवा जनावर कुकुरको टोकाइका कारण हुने गरेको उहाँले बताउनुभयो । अन्य घटना स्याल र फ्याउरोजस्ता जनावरको टोकाइका कारण भएको पाइएको छ।
विश्वको अवस्था
ग्लोबल अलायन्स फर रेबिज कन्ट्रोलका अनुसार प्रतिवर्ष विश्वमा ५९,००० मानिसको रेबिजका कारण ज्यान जाने गरेको छ। त्यीमध्ये ४० प्रतिशत बालबालिका हुने गर्छन्।
उक्त संस्थाका अनुसार विशेषगरी अफ्रिका र एशियाका स्वास्थ्य तथा भेटरिनरी सेवा नपुगेका ग्रामीण क्षेत्रमा धेरैलाई रेबिज लाग्ने गरेको छ। रेबिजका कारण लाखौँ कुकुर र अन्य जनावरको मृत्यु हुने गर्छ। रेबिजको डरले कैयौँ जनावरहरूलाई मारिने गरेको विवरण पनि पाइन्छ।
धेरैजसो विकसित देशहरूले घरपालुवा कुकुरमा रेबिज उन्मूलन नै गरिसकेका छन्। तर नेपालजस्ता विकासोन्मुख देशहरूमा अझै पनि कुकुरमा रेबिज उन्मूलन नहुँदा त्यसबाट मानवमा सर्ने र मृत्यु हुने क्रम जारी रहेको जानकारहरू बताउँछन्।
रेबिजबाट बच्न के गर्ने
रेबिजबाट बच्नका लागि कुकुर वा अन्य कुनै पनि घरपालुवा तथा जङ्गली जनावरले टोकेमा लगत्तै उक्त रोगविरुद्धको खोप लगाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।
त्यसो गर्दा इन्क्यूबेशन कालमै भाइरस नष्ट हुने र रेबिज लाग्ने सम्भावना न्यून हुन्छ। पशुमा वा मानिसमा एक पटक रेबिज सङ्क्रमण भइसकेपछि चाहिँ त्यसको उपचार सम्भव नभएको निर्देशक रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो–'विश्वमा हालसम्म अभिलेख गरिएका कुनै पनि केसमा सङ्क्रमण भइसकेपछि बचाउन सकिएको देखिँदैन ।'

रेबिज भाइरस मस्तिष्कमा र तन्तुहरूमा फैलिन्छ। रेबिज भाइरसले सङ्क्रमण गरेपछि ज्वरो र अत्यधिक थुक आउने अनि घाँटी काँप्ने हुन्छ। त्यसबाहेक मानिसहरूको व्यहारमा पनि परिवर्तन आउँछ। त्यसपछि पानी देख्दा डर लाग्ने र पक्षाघात हु्न्छ।
उहाँ कुकुरले टोकेमा सकेसम्म चाँडो सफा पानीले घाउ धुनुपर्ने सुझाव दिनुुहुन्छ । रेबिजबाट बच्नका लागि कुनै पनि जनावरले टोकेपछि एन्टिरेबिज भ्याक्सीन दिनुपर्ने उहाँको भनाइ छ ।
पहिले १४ मात्रासम्म लगाउनु पर्ने उक्त खोप त्यसपछि पाँच मात्राको बनाइएको र अहिले भने तीन मात्रा मात्र लगाउँदा हुने रावलले जानकारी दिनुभयो ।
त्यस्तो खोप सकेसम्म टोकेको दिन, तेस्रो दिन र सातौँ दिन लगाउनुपर्छ,- उहाँ भन्नुहुन्छ ।
'घाउमा लगाइने उक्त खोपको भने एक मात्रा मात्र दिँदा पुग्छ। यो उपेक्षित रोग हो तर नियन्त्रणका लागि पशुको स्वास्थ्यमा पनि केन्द्रित हुनुपर्छ'-उहाँ भन्नुहुन्छ ।
आजको दिनमा पनि रेबिज लागेर मृत्यु हुनु भनेको मानव सभ्यताका लागि दुःखद कुरा हो।
काठमाण्डूमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र देशका अन्य तोकिएका सरकारी अस्पतालहरूमा रेबिजविरुद्ध खोप लगाइने गरेको उहाँले जानकारी दिनुभयो ।
रेबिज खोप नेपालमै उत्पादन
मानिसमा लगाउने रेबिजविरुद्धको खोप पहिले नेपालमै उत्पादन हुने गरेकोमा नयाँ प्रविधिको खोप आएपछि सन् २००६ देखि त्यसको उत्पादन बन्द भएको छ। तर कुकुरमा लगाइने रेबिजको खोप अहिले पनि उत्पादन भइरहेको छ।
राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका प्रमुख डा. माधव दाहालका अनुसार हाल नेपालमा सरकारी स्तरबाट वार्षिक १,६०,००० मात्रा त्यस्तो खोप उत्पादन भइरहेको छ।
'हामीले देशका पाँच भण्डारमा आकस्मिक अवस्थाका लागि उक्त खोप पनि भण्डार गरेका राखेका छौँ'–दाहालले भन्नुभयो ।
तर अहिले यसलाई निस्शुल्क अभियान चलाएर लगाइएको छैन, घरपालुवा कुकुर हुनेले हामीले बजारमा उपलब्ध गराएको खोप किनेर लगाउनुपर्ने हुन्छ।
तर विभिन्न गैरसरकारी संस्थाहरूले स्थानीय सरकारसँग मिलेर सामुदायिक कुकुरहरूलाई रेबिजविरुद्ध खोप अभियान चलाउने गरेको उहाँको भनाई छ । बीबीसीबाट साभार
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
