नेभिगेशन

१९१ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

प्रतिकात्मक फोटो

जनस्वास्थ्य सरोकार, त्रिशूली। सामुदायिक आँखा केन्द्र नुवाकोटले नुवाकोट र रसुवाका १९१ मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरेर आँखाको ज्योति फर्काएको छ ।

नुवाकोटको विभिन्न स्थानमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा पहिचान भएका तथा यसअघि नै पहिचान भएर कोरोनाको जोखिमका कारण उपचार पर्खाइमा रहेका समेत गरेर दुई जिल्लाका १९१ बिरामीको मोतियाबिन्दु हटाई दृष्टि फर्काइएको हो ।

केन्द्रका प्रमुख ताराबहादुर वाइवाका अनुसार नुवाकोटको उर्लेनी, लच्याङ, बुङताङ, तारुका, बेलकोट र रानीपौवामा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा मोतियाबिन्दुका बिरामीलाई केन्द्रको शल्यक्रिया कक्ष विदुरमा सोमबार र मङ्गलवार दुई दिन निःशुल्क शल्यक्रिया सेवा दिइएको थियो ।

तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका नेत्ररोग विशेषज्ञसहित छ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेर ती बिरामीको आँखामा पुनः दृष्टि फर्काउन सफल भएको हो । जनस्तरमा स्वास्थ्यप्रतिको सजगता वृद्धि हुँदै गए पनि आँखाको हेरचाहमा भने चेतनास्तर बढाउन आवश्यक देखिएको नेत्ररोग विशेषज्ञ डा. मनिता अमात्यले बताउनुभयो । शिविरमा जाँच गर्न आएकामध्ये १० प्रतिशतमा रोगको सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

'सङ्क्रमण पहिचान भएका व्यक्तिमा जन्मजातदेखिको मोतियाबिन्दु पाइएको छ भने रोग बढेर अन्तिम अवस्थामा पुगेका बिरामीसमेत भेटिएका छन्'-उहाँले भन्नुभयो-'सरुवा रोगबाट सुरक्षित रहन हात धुन र मास्क लगाउनुपर्छ भन्ने चेतना पाइए पनि आँखाको सरसफाइसम्बन्धी ज्ञान भने निकै कम पाइयो ।'

विभिन्न छ स्थानमा गरिएको शिविर तथा जाँच गराउन आएका बिरामीमध्ये १० प्रतिशतमा मोतियाबिन्दु पहिचान भएकाले यस आर्थिक वर्षमा थप २५ स्थानमा शिविर चलाउने तयारी गरिएको केन्द्रका प्रमुख वाइवाले जानकारी दिनुभयो । उहाँका अनुसार निःशुल्क शिविर सञ्चालन गरेर मोतियाबिन्दुका बिरामी खोज्न आवश्यक कार्य योजना, बजेटको तर्जुमा, विशेषज्ञ चिकित्सकलगायतको प्रबन्ध मिलाएर दुई जिल्लामा एक हजार मोतियाबिन्दु भएका बिरामीको आँखाको ज्योति फर्काउने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट